s

जोर्डन महिला कामदारका लागि खुला

नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् । नेपाल र जोर्डनबीच श्रमसम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् ।  
 
सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ । अब जोर्डन जाने घरेलु कामदारले मासिक तीन सय  अमेरिकी डलर पाउने छन् भने गार्मेन्टमा जानेका लागि २५० डलर तोकिएको छ ।   
 
जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदार निःशुल्क भिसा र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ ।  
 
सरकारले यसअघि घरेलु कामदारका रूपमा विदेश जान महिलालाई रोक लगाएको थियो । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो । जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रूपमा नेपाली महिला जान पाउने छैनन् ।  
 
वैदेशिक रोजगार विभागका अनुसार जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् । तीमध्ये धेरैजसो गार्मेन्ट क्षेत्रमा कार्यरत छन् । गएको कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 
 
Published on: 14 November 2017 | Gorkhapatra

Back to list

;