s

जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जनाकाे अवस्था अज्ञात

भारत लगायत तेस्रो मुलुकमा जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जना किशोरी तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ।

जोखिमपूर्ण काम गर्न पुगेका ६ सय ६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनी परिवारबाट निवेदन परेकोमा २ सय ७८ जना मात्रै फेला परेका छन्।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले आइतबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै निवेदन परेका मध्ये अझै ३ सय ८४ जनाको अवस्था पत्ता लाग्न नसकेको बताए।

‘अज्ञात अवस्थामा रहेका ती किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन हामीले धेरै संयन्त्रलाई प्रयोग गर्‍यौँ, केहीको अवस्था पत्ता लगायौ, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन,’ उनले भने।

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय स्तरका संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले सुनाए। सम्बन्धित देशका सरकारी संयन्त्रमार्फत उद्धार कार्यलाई अगाडी बढाउन सकेको खण्डमा अज्ञात अवस्थामा रहेका किशोरी तथा बालबालिकालाई उद्धार गर्न सकिने सम्भावना रहेको बताए।

वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला। कोइरालाका अनुसार जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ। विभिन्न जिल्लाबाट मानव दलालमार्फत जोखिमपूर्ण काममा जान लागेका ती किशोरी तथा बालबालिकालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको हो। माइती नेपाल नेपालगन्जले सन् २०२३ को जनवरीदेखी डिसेम्बरसम्म सो संख्यामा उद्धार गरिएको जनाएको छ।

यस्तै श्रम र यौन शोषणमा परेका १२ जनालाई उद्धार गरेर नेपाल फर्काइएको प्रमुख कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार उनीहरुलाई भारतका विभिन्न स्थानबाट उद्धार गरेर नेपाल फर्काइएको हो।

यस्तै ५ सय २० जनालाई मानव बेचबिखन र सुरक्षित बसाई–सराईबारे जानकारी दिएर पारिवारिक पुनर्मिलन गराइएको छ।

यस्तै ४ सय ७९ जनालाई नेपाल–भारत सीमा क्षेत्रबाट परामर्श दिएर घर फिर्ता गराइएको प्रमुख कोइरालाले प्रष्ट्याए। उनका अनुसार माइती नेपालले एक वर्षमा २ जना विरुद्ध मानव बेचबिखन सम्बन्धी घटनामा मुद्दा दर्ता गरेको छ, भने ४ जना किशोरीलाई सिपमूलक तालिम प्रदान गरेको छ।

त्यसैगरी एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरिएको र ३ वटा जबरजस्ती करणीका घटनामा माइती नेपालले पीडितको पक्षमा वकालत गरेको प्रतिवेदनमा उल्लेख छ।

माइती नेपालले विगत दुई दशकभन्दा बढी समय देखी मानव बेचबिखन तथा ओसार पसार विरुद्ध काम गर्दै आएको छ।

Published on: 2 January 2024 | Nagarik

Link

Back to list

;