s

जोखिममा सरसफाइ मजदुर

किशोर बुढाथोकी

विराटनगर — कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला विराटनगर महानगरपालिकाभित्र सरसफाई गर्ने मजदुर भने फोहोर व्यवस्थापनमा असुरक्षित तरिकाले खटिने गरेको पाइएको छ।

संक्रमण रोक्न अपनाउनु पर्ने सुरक्षाको न्यूनतम मापदण्ड बिनै फोहोर संकलन र व्यवस्थापनमा प्रत्येक दिन बिहान ६ बजेबाट खटाउने गरिएका कारण मजदुर जोखिममा परेका हुन्।

महानगरपालिकाले सम्झौता गरेर १९ वटै वडामा फोहोरमैला व्यवस्थापन र सरसफाईको जिम्मा वेष्ट म्यानेजमेन्ट गु्रप नेपाल प्रालीलाई दिएको छ। म्यानेजमेन्टले दुई सय २० श्रमिक सरसफाईमा परिचालन गर्दै आएको छ। श्रमिकले फोहोर संकलन गर्दै व्यक्तिका घर–घर तथा सडक, पेटी र सार्वजनिक स्थल सरसफाई गर्छन्। तर बजारलाई सफा र सुन्दर बनाउने तिनै श्रमिक भने आफैं असुरक्षित छन्। व्यक्तिका घर–घरमा पुगेर फोहोर उठाउने उनीहरुलाई सर्जिकल ग्लोब्स र साधारण मास्कबाहेक केही दिइएको छैन।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), चश्मा, स्यानीटाइजर, सर्जिकल मास्क उनीहरुले पाउन सकेका छैनन्। सर्जिकल मास्क उपलब्ध हुन नसक्दा साधारण मास्क लगाएरै फोहोरसँग खेल्नु पर्ने अवस्था रहेको १५ वर्षदेखि सफाई मजदुरको काम गर्दै आएका श्याम राउतले बताए। ‘प्राप्त भएका सामग्रीका साथमा हामी सकेसम्म कोरोना संक्रमणबाट बच्ने हिसाबले काम गरिरहेका छौं’, उनले भने, ‘सुरक्षा सावधानी अपनाउन नसकिएकाले त्यस्ता सामग्री तत्काल उपलब्ध गराउन माग गरिरहेका छौं।’

सहरलाई सफा र स्वच्छ राख्न फोहोर उठाउँदै घर–घर पुगे पनि त्रासमा काम गरिरहनु परेको र असुरक्षित बनेको उनको गुनासो छ। ३६ वर्षीय राउत प्रत्येक दिन महानगरका विभिन्न वडामा फोहोर संकलनका लागि पुग्ने गरेका छन्। घरका वरपर तथा सार्वजनिक स्थलमा थोपरेर राखिएका एवं यत्रतत्र फालिएका फोहोर संकलन गर्दै उठाएर ट्याक्टरमा राख्ने र तोकिएको स्थानमा पुर्‍याएर व्यवस्थापन गर्ने उनको जिम्मेवारी हो। उनीजस्तै दैनिक सरसफाईमा खटिने ४४ वर्षीय सुरेश पासवान पनि सुरक्षाको न्यूनतम सामग्री उपलब्ध नभएको बताउँछन्।

‘जे जस्तो छ, त्यसैबाट सुरक्षित रहने प्रयास गरिरहेका छौं’, उनले भने, ‘दुई जोडी सर्जिकल ग्लोब्स, परिचयपत्र र साधारण मास्क बाहेक हामीले केही पाएनौं।’ फोहोर उठाएर सहर सफा बनाउँदै हिँड्ने पासवान आफ्नै सुरक्षाको विषयलाई लिएर धेरै चिन्ता हुने गरेको सुनाउँछन्। श्रमिकहरु सुरक्षाका लागि आवश्यक सामग्री पाउन नसक्दा जोखिम मोलेर काम गरिरहन परेको गुनासो गर्छन्।

‘व्यक्तिका घरबाट निस्किएका र सार्वजनिक स्थलमा फालिएका फोहोर उठाउँदै हिँड्नु पर्छ’, उनले भने, ‘आवश्यक सुरक्षा सामग्री नहुँदा हामी धेरै जोखिममा छौं।’ कोही कसैलाई संक्रमण भएको रहेछ भने त्यही घरबाट संकलन गर्नु पर्ने फोहोरका माध्यमबाट आफूहरुमा पनि सर्ने सम्भावना रहेको गुनासो उनको छ। सरसफाईका क्रममा सामाजिक दूरी पनि कायम हुन नसक्ने पासवानको भनाइ छ।

‘त्यसै पनि सरसफाई मजदुरले फाहोरमा जोडिएर काम गर्नुपर्छ। घर–घर र सार्वजनिक स्थलमा पुग्नु पर्छ’, विराटनगरका सूर्य तामाङले भने, ‘तर सुरक्षाका लागि आवश्यक सामग्री दिइएको छैन। जसका कारण उनीहरु मात्रै हैन, परिवारका सदस्य र उनीहरुसँग दैनिक रुपमा भेटघाट गर्नेहरु पनि असुरक्षित बनिरहेका छन्।’ तामाङले यदि कोही श्रमिक संक्रमित भएमा उनीहरुका परिवारका सदस्यदेखि लिएर उनीहरुसँग सम्पर्कमा रहने सबै जना संक्रमित हुने जोखिम बढेर गएको बताए। श्रमिकले आफैं सुरक्षा सावधानी अपनाउन नसक्ने तथा नजान्ने हुँदा सम्बन्धित पक्षले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

सरसफाई श्रमिकलाई ग्लोब्स र स्यानीटाइरज दिइएको बताउँदै म्यानेजमेन्टका प्रमुख देवी आचार्य उनीहरुको सुरक्षाका सवालमा महानगरपालिकाको पनि ध्यान जानु पर्ने बताउँछन्। ‘दिएका सामान पनि कतिले लगाउँछन्। कतिपयले प्रयोग नै गर्दैनन्’, उनले भने, ‘तर पनि सुरक्षित भएर काम गर्न सुझाव दिने गरेका छौं। जुनसुकै बेला फोहोरमा जोडिनु पर्ने श्रमिकलाई सुरक्षाका लागि आवश्यक सबै सामग्री जुटाउन पहल भइरहेको छ।’

महानगरको फोहरमैला व्यवस्थापन शाखा प्रमुख हीरा यादवले सरसफाई श्रमिकलाई कोरोना संक्रमण हुनबाट बचाउन सुरुमा महानगरले मास्क वितरण गरिसकेको र त्यसबाहेक आवश्यक सामग्री उपलब्ध गराउने काम म्यानेजमेन्टकै भएको बताए। ‘पाँच वर्षका लागि महानगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा म्यानेजमेन्टले पाएको छ’, उनले भने, ‘त्यही भएर काम लगाउने मजदुरको सुरक्षाको जिम्मा पनि उसकै हुन्छ।’ महानगरको फोहोर व्यवस्थापनको जिम्मा २०७३ सालदेखि म्यानेजमेन्टले लिएको छ।

विराटनगर महानगरपालिकाभित्र औसतमा दैनिक एक सय ५० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ।

कोरोना संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरेयता ५० प्रतिशत घटेको म्यानेजमेन्टले जनाएको छ। कोरोना त्रासकै कारण फोहोर उत्पादन घटेको सरसफाई मजदुरको बुझाइ छ। उनीहरुका अनुसार संक्रमणको डरका कारण कतिपय घरबाट फोहोर लिन नआउनु भन्दै आफैं व्यवस्थापन गर्छौं भनेर भन्ने गरेका छन्।

Published on: 22 April 2020 | Annapurna Post

Link

Back to list

;