s

जोखिम मोलेर भारततिरै

मोहन बुढाऐर

धनगढी — डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे ।

भारतको उत्तराखण्ड राज्य सरकारले प्रवेश गर्ने नेपालीसँग कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भारतकै उत्तरप्रदेश सरकारले भने आफ्नो परिचय खुल्ने कागजातका भरमा जान दिएको छ । सुदूरपश्चिमको गौरीफन्टा भारतको उत्तरप्रदेशसँग जोडिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षण रिपोर्ट देखाउनु नपर्ने नभएकाले कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाटबाट भारत पस्ने नेपाली पनि यतिबेला गौरीफन्टा पुग्न थालेका हुन् । जसका कारण गौरीफन्टा नाकामा भीड लाग्ने गरेको छ । अहिले दैनिक दुई हजारभन्दा बढी नेपाली यो नाका भएर भारत गइरहेका छन् । उत्तराखण्ड सरकारले परीक्षण रिपोर्ट अनिवार्य भनेपछि नेपालीले रोजगार गन्तव्यमा पुग्न सास्ती र भाडा बढी तिर्नुपरिरहेको उनीहरूले बताए ।

कोरोना कालअघि जोगबुढाका धामी घरनजिकै बग्ने महाकाली नदी तरेर भारत जान्थे । भारततर्फ बस्ने सुरक्षाकर्मीले महाकाली तरेर हुने प्रवेशलाई कडाइका साथ रोकेको छ । ‘डडेलधुराबाट कञ्चनपुर हुँदै धनगढी आउँदा तीन दिनको समय र भाडा पनि बढी लाग्यो,’ उनले भने । झुलाघाट नाकामा परीक्षण रिपोर्टबिना प्रवेश गर्न नदिएपछि बैतडीको पुर्चौडीका दिलबहादुर बमले पनि गौरीफन्टामै पुगे । ‘हाम्रो गाउँघरमा पनि कोरोनाको महामारी छ,’ उनले भने, ‘परीक्षण कसैको छैन, बिरामी पर्छन्, निको हुन्छन्, म पनि निको भएर पुनः काम गर्न भनेर भारत जान्छु भनेको झुलाघाटमा रिपोर्ट नभएर जान दिएन, यताबाट जान दिन्छ भनेको सुनेर आएको हुँ ।’ उनले रोजगारस्थलमा पनि परीक्षण रिपोर्ट र खोप लगाएको रिपोर्ट माग्न थालेकाले रोजगारी नपाइने चिन्ता बढेको बताए ।

‘अहिले उत्तराखण्ड सरकारले कोरोना परीक्षणको रिपोर्ट मात्र मागेको छ,’ उनले भने, ‘भारतका अन्य राज्य सरकारले पनि यसैगरी परीक्षण रिपोर्ट मागेपछि रोजगारीका लागि कहाँ जाने ?’ उनका अनुसार भारतमा काम गर्न जाने नेपालीको न कोरोना परीक्षण भएको छ, न खोप लगाएका छन् । बमले भोलिका दिन खोप लगाएकाले मात्रै रोजगारी पाउने स्थिति आए भएको काम पनि गुम्ने डर रहेको बताए । ‘उत्तराखण्ड सरकारले कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भोलि परीक्षण रिपोर्टसँगै खोप लगाएको हुनुपर्ने भन्यो भने हामी नेपालीको रोजगारस्थल पुग्ने बाटो नै गुम्ने डर छ,’ उनले भने ।

नेपालमा बूढापाकालाई पहिले खोप दिनु राम्रो भए पनि युवा जनशक्तिलाई पनि प्राथमिकता दिन आवश्यक भएको उनीसँगै रहेका सुरतबहादुर बमले बताए । ‘घरपरिवारको जीवन धान्न हामी नै भारत वा तेस्रो मुलुक काम गर्न जानुपर्छ,’ उनले भने, ‘सरकारले न रोजगारी दियो, न भ्याक्सिन दिन सकेको छ ।’ अब खोप लगाएकालाई मात्रै रोजगारी दिने भनेपछि अझ बढी बेरोजगारीको समस्या खेप्नुपर्ने उनको भनाइ छ । सरकारले भारतसहित तेस्रो मुलुक जाने जनशक्तिलाई पनि प्राथमिकतामा राखेर खोप लगाउन उनले सुझाए । सरकारले खोपको व्यवस्था नगर्दा आफूहरू तनावमा परेको अछाम रिठापाताका लक्ष्मण साउदले गुनासो गरे । उनी बालबच्चासहित भारतको गुजरात सहर जान लागेका हुन् ।

Published on: 6 July 2021 | Kantipur

Link

Back to list

;