s

जोखिम बस्ती स्थानान्तरण गर्न सुरक्षाटोली

प्रकाश अधिकारी
भूकम्पपीडितको सामाजिक सांस्कृतिक प्रभाव कायम रहने गरी जिल्ला दैवीप्रकोप उद्धार समितिले पहिरोको जोखिममा परेका परिवारलाई स्थानान्तरण गर्ने तयारी गरेको छ । समितिको कार्ययोजनाअनुरूप बस्ती स्थानान्तरण कार्यान्वयनका लागि सोमबारदेखि सुरक्षा टोली परिचालन भएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले ४२ गाविसका २ हजार ४ सय ८९ घरपरिवार स्थानान्तरण गर्न गृह मन्त्रालयलाई पठाएको प्रस्तावमध्ये पहिलो चरणमा प्रत्येक निर्वाचन क्षेत्रका ४/४ गरी १२ गाविसमा पहिरोबाट जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न सुरक्षा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा दुई वटाका दरले परिचालन हुने टोलीमा १५ देखि २० जना सैनिक, सशस्त्र र प्रहरीको सम्मिलित टोली छन् । जोखिमयुक्त ४२ गाविसमध्ये क्षेत्र १ को चाउथे, तलाखु, कुमरी, महाकाली क्षेत्र २ को उर्लेनी, लच्याङ, शिखरबेसी, ध्याङफेदी र क्षेत्र ३ को किम्ताङ, साल्मे, मनकामना र फिकुरीका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने छ ।

सुरक्षाकर्मीको टोलीले पहिरोबाट जोखिमयुक्त बस्तीका परिवारलाई सोही गाविसको सुरक्षित स्थान खोजी शिविर निर्माण गरी तीन महिनाका लागि स्थानान्तरण गरिने छ । ‘जोखिममा परेका बस्तीलाई सोही गाविसमा राख्दा उनीहरूको स्वास्थ्य, शिक्षा, खानेपानी र विद्यालय सुविधामा सहज हुने भएकाले सामाजिक र सांस्कृतिक प्रभाव कायम हुन्छ,’ प्रजिअ ढकालले भने ।

बस्ती स्थानान्तरण गराउन खटिने सुरक्षाकर्मीहरूले स्थानीय रूपमा प्राप्त हुने निर्माण सामग्रीको प्रयोगमा शिविर निर्माण गर्ने छन् । सुरक्षाटोलीले निर्माण गर्ने शिविरमा सामग्री ढुवानी, यातायात, खानेपानी, शौचालय निर्माणमा बजेटको अभाव देखिएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले गाउँस्तरीय दैवी प्रकोप उद्धार समितिको निर्णयमा विवाद नुहने गरी बस्ती स्थानान्तरण गरिने बताए । उनले स्थानान्तरणका लागि गाउँमा रहेका सार्वजनिक निकायको स्वामित्वमा रहेको सुरक्षित स्थलहरू वन, चरण क्षेत्र जुनसुकै स्थानमा सारिने बताए । बस्ती स्थानान्तरणका लागि खटिने सुरक्षाकर्मीलाई गाविस सचिवले सहयोग पुर्या्उने छन् ।

बस्तीसँगै दुईपीपलको कालिका माविसमेत ३ वटा विद्यालय पनि स्थानान्तरण गर्न सिफारिस गरिएको छ । समितिले ५० भन्दा बढी घर एकै स्थानमा रहेका १४ गाउँसमेत क्षेत्र १ मा सात सय ७७, क्षेत्र २ मा एक हजार एक सय ६७ र क्षेत्र ३ मा पाँच सय ४५ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने जनाएको छ ।

पुनर्निर्माण सुरु भएन

भूकम्पले ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण दुई महिना बितिसक्दा सुरु हुन सकेको छैन । सर्वसाधारणका भत्केका घरहरू पन्छाउने काम अझै सकिएको छैन । बस्ने घर भत्केपछि वर्षा धान्न अस्थायी टहरा निर्माण गरेका भूकम्पपीडितहरू हिउँद सुरु भएलगत्तै पुनर्निर्माणमा लाग्ने बताउँदै आएका छन् । ‘जमिन धाँजा र चिरा परेकाले वर्षाको समयमा जमिन कस्तो हालतमा रहन्छ भन्ने अनुमान गर्न नसिकने हुँदा जोखिममा पुनर्निर्माण गर्न सक्ने अवस्था हुन्न,’ कविलासका महेन्द्र मिश्रले बताए ।


Published on: 7 July 2015 | Kantipur
 

Back to list

;