s

जोगीको ‘ब्लडमनी’ बुझाइयो

दुबईको उच्च अदालतले मृत्युदण्ड सुनाएका फेदाप गाउँपालिका २ ओयाक्जुङका खड्गबहादुर जोगीलाई बचाउन परिवारका तर्फबाट जिल्लावासीले ब्लडमनी बुझाएका छन् । पीडितले मागेको ब्लडमनी बुझाउन देश/विदेशबाट संकलन गरिएको ६१ लाख ९४ हजार रुपैयाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत यूएई सरकारलाई पठाएका हुन् ।

तेह्रथुमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद भवानी खापुङसहितको टोलीले ज्ञवालीलाई रकम हस्तान्तरण गरेका हुन् । पीडितले मागेको ब्लडमनी बुझाउन नसक्दा जोगीलाई दुबईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । जोगीको जेलमा बस्नुपर्ने समयसीमा आगामी चैत ३१ गते पूरा हुँदैछ ।

त्यस समयमा पनि ब्लडमनी जुट्न नसके मृत्युदण्ड दिइने त्यहाँको अदालतले फैसला गरेको थियो । ५ वर्षदेखि दुबईको केन्द्रीय जेलमा बन्दी जीवन बिताइरहेका जोगीलाई पीडितले मागेको ब्लडमनी बुझाउन नसक्दा त्यहाँको उच्च अदालतले फैसलाबमोजिम जेलमा मृत्युदण्ड कुरेर बस्नबाध्य थिए ।

०७० सालमा यूएई गएकाखड्गबहादुर फिलिपिनो नागरिकको हत्या आरोपमा ५ वर्षदेखि जेलमा छन् । परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुर सँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि खड्गबहादुरले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्‍याउँदा साथीको मृत्यु भइसकेको थियो । फिलिपिनो साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको परिवारको भनाइ छ ।

खड्गबहादुरलाई अदालतले साथीको हत्या गरेको आरोपमा मृत्युदण्डको फैसला सुनाएर जेलमा राखेको थियो । श्रीमान् ५ वर्षदेखि कतिबेला मारिनुपर्ने हो भन्ने त्रासमा रहेको अवस्थामा सबैको सहयोगबाट ब्लडमनी जुटेपछि अब घर फर्किएर आउने आशा पलाएको श्रीमती डम्बरकुमारीले बताइन् । उनी दुबईको अलगर्फ डिप्लोमेन्ट नामक कम्पनीमा फोरम्यानका रूपमा कार्यरत थिए । पासपोर्ट नम्बर ३८३७६९२ भएका जोगी दुबईको अबुधाबीस्थित ११०२८१७२ नम्बरको अल वाथबा जेलको हिरासतमा छन् ।

Published on: 7 March 2019 । Kantipur

Back to list

;