s

जो भूकम्पमा ध्वस्त गोरखा ठड्याउन आएका थिए…

नरहरि सापकोटा

 

गोरखा- २०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखामा ध्वस्त भएको विद्यालय, सरकारी भबन, स्तरीय सडक, ब्यक्तीको घर पुननिर्माण गर्न अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ। बैशाख ३ गतेबाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन्। चिउरा र एक बोत्तलमा पानी बोकेर सयौँ मजदुर गोरखा बाहिरिने क्रम केही दिन यता चलिरहेको छ। 

 ‘काम त बन्द भयो, अहिले हिँडेर जानुपर्ने बाध्यता आईलाग्यो’ मजदुर नेत्रराम चौधरीले भने ‘गाडीमा जान्छौँ भन्दा पास दिईएन, हामी सबै हिँडेर जादैँछौँ।’ थोरै चिउरा, केहीको झोलामा चाउचाउ, बोत्तलमा पानी। पिठ्यूँमा बोरा र झोला बोकेर धेरैको संख्यामा युवादेखि अधबैसे उमेरका पुरुषहरु चप्पल लगाएर कालोपत्रे सडकमा हिँडिरहेको दृष्य जो कसैको मन रुवाउने खालको थियो।

बिहिवार गोरखाको सिरानचोक गाउँपालिकामा विद्यालय भबन निर्माणको काम गर्न आएका जानकी गाउँपालिका ७ कैलाकीका ६१  जना मजदुर पैदल घर हिँडेका छन्। उनीहरु झण्डै चार सय किलोमिटर पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। दिनभरी ज्यालादारी गरेर दुईचार पैसा जोहो गर्न आएका मजदुरहरु काम बन्द भएपछि अध्यारो र मलिन अनुहार लिएर घर हिँडेका छन्। भएको खानेकुरा पेट भरिने गरी खाँदा दुई/तीन दिन लाई पुग्ने छैन तर उनीहरुले सात दिनको लागि जोहो गर्नुपर्ने छ। 

‘काम त बन्द भयो, अहिले हिँडेर जानुपर्ने बाध्यता आईलाग्यो’ मजदुर नेत्रराम चौधरीले भने ‘गाडीमा जान्छौँ भन्दा पास दिईएन, हामी सबै हिँडेर जादैँछौँ।’ थोरै चिउरा, केहीको झोलामा चाउचाउ, बोत्तलमा पानी। पिठ्यूँमा बोरा र झोला बोकेर धेरैको संख्यामा युवादेखि अधबैसे उमेरका पुरुषहरु चप्पल लगाएर कालोपत्रे सडकमा हिँडिरहेको दृष्य जो कसैको मन रुवाउने खालको थियो। 

भूकम्पको केन्द्रबिन्दु बारपाकमा खानेपानी र सिंचाईको कुलो निर्माणको काम गर्दै आएका शिब चौधरी बिहिवार बर्दीया हिँडेका छन्। मंगलवार बारपाकबाट निस्किएका उनी बिहिवार गोरखाको नाका पार गरेर तनहुँ पुगेका छन्। ‘हामी ११ जनाको समूह छ, सबै हिँडेर घर जान लगेका हौँ, गाडी कहिले खुल्छ थाहा भएन।’ सडकमा फाट्ट फुट्ट भेटिएका ठूला ट्रकले प्रहरीको डर हुने भन्दै चढाउन मान्दैनन्। गाडी चढेर मजदुरी गर्न आएका उनीहरुलाई छोटो बाटो थाहा हुँदैन। ‘तै पनि कसैले दया गर्छ कि भनेर सडकको बाटो हिँडेका हौँ’ चौधरीले भने ‘सडक भएर हिँडिएन भने बाटो पनि थाहा छैन।’ 

एक दुई होईन, धेरै जनाको ठुलो समुह गोरखाको दुर्गम गाउँमा पुन निर्माणको काममा खटिएका छन्। पुन निर्माणमा सघाउन र घरखर्च जोहो गर्न बाँके, बर्दीया, बारा, कैलाली, कञ्चनपुर लगायत बिभिन्न ठाउँबाट मजदुरहरु यहाँ आएका छन्। आकस्मिक लकडाउनको प्रभावले तीन सातादेखि उनीहरु काम बिहिन भएका छन्। ‘काम पनि बन्द भयो, घर परिवारको याद आयो, गाउँमा अरु हिँडेर पनि पुगेछन तिमी किन नआएको भन्दै सोध्न थाले, धेरै चिन्ता गरिरहने भएपछि हिँडेरै भएपनि जान लागेका हौँ’ गोरखादेखि बारा हिँडेका ओमप्रकाश शाहाले भने। ‘हामीलाई परेको पीडा ठूला मान्छेले भोग्नुपरेको भए थाहा हुन्थ्यो’ हिड्दा हिड्दै परेको खुट्टाको ठेला देखाउँदै उनले भने ‘नभोग्नेलाई सयौँ किलोमिटर हिड्नुपर्ने दुःख के थाहा ?’ सरकारले घर जाने ब्यवस्था नगरिदिएको, पहिल्यै लकडाउन हुने समय यकिन नगर्दा दुःख पाएको भन्दै मजदुरहरुले गुनासो पोखेका छन्। 

जिल्ला प्रशासन कार्यालय गोरखाले लकडाउनको पहिलो हप्ता पासको ब्यवस्था गरेर मजदुरहरुलाई घर पठाएको थियो। तर अहिले भने बन्द छ। बाटोमा पैदल हिँडेका मजदुरहरुलाई खाने बस्ने ब्यवस्था गरिदिने गोरखाका स्थानीय तहले बताएपनि उनीहरु घर जाने भन्दै बस्न मानेका छैनन्। ‘यहाँ नै बस्नु खाने बस्ने ब्यवस्था हुन्छ भन्दा पनि मान्नु भएन’ गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ‘हिँडेर घर जानेहरुको जटिल समस्या र पीडा सम्वोधन गर्न सरकारको ध्यान पुग्नुपर्छ,हामीले मात्रै चाहेर गन्तब्य सम्म पुर्‍याउन सकिएन।’

Published on: 17 April 2020 | Nagarik

 

Link

Back to list

;