s

जोसँग छ आफ्नै मृत्युको प्रमाणपत्र

रञ्जन भण्डारी

औरही नगरपालिका–६ वैरियाका ५५ वर्षीय रामसेवक यादवसँग आफ्नै मृत्युको प्रमाणपत्र छ । आफूलाई जीवित रहेको प्रमाणपत्र दिन उनले माग गरेका छन् । यादव कामका लागि भारत गएका वेला ३० वर्षअघि १० असोज ०४५ मा स्थानीय पञ्जिकाधिकारीमार्फत उनको मृत्युदर्ता भएको थियो । आफ्नी कान्छीआमाले सम्पत्तिका लागि मृत्यु दर्ता गरिदिएको उनले बताए । कान्छीआमाले सम्पत्ति पनि बेचिसकेको उनको भनाइ छ । 

उनी रामवृक्ष यादवकी जेठी श्रीमतीतिरका छोरा हुन् । उनकी आमाका दाजुभाइ नभएकाले मावलतिरकी हजुरआमाले यादवलाई हुर्काएकी थिइन् । हजुरआमाले सम्पत्ति उनकै नाउँमा गरिदिएकी थिइन् । पछि यादव कामका लागि पञ्जाव गए । ‘म त्यहाँ काम गरेर २६ वर्ष बसेँ, त्यसपछि फर्किँदा मलाई मरेको बनाएर सम्पत्ति सबै बेचिएको रहेछ,’ उनले भने । मावलीबाट आएको सम्पत्ति मात्र नभएर बाबुबाट पाउने अंश पनि बेचिदिएको उनले गुनासो गरे ।
 
भारत जानुअघि उनले विवाह गरेका थिए । तर, उनकी श्रीमतीले दोस्रो बिहे गरेकी थिइन् । आफू एक वर्षअघि मात्र भारतबाट फर्किएको उनले बताए ।उनका बाबु र आमाको मृत्यु भइसकेको छ । गाउँ जाँदा कान्छीआमाले भने भेट नदिने गरेको र दुवै भाइहरू पनि नबोल्ने उनले बताए । मुद्दा हाल्नका लागि आफूसँग पैसासमेत नभएको यादवको भनाइ छ । उनी दैनिक ज्यालादारी गर्छन् । औरही नगरपालिका– ७ भोइलस्थित रामजानकी कुटीमा सुत्ने गरेको उनले बताए ।
 
Published on: 6 August 2018 | Naya Patrika

Back to list

;