s

जो मुलुक नछाड्दै ठगिन्छन्

गोपाल साउद

बुढ्यौलीले छोइसकेका बाबुआमा, हुर्कंदै गरेका लालाबाला, श्रीमती, घरपरिवार, आफन्त, सेरोफेरो सबै बिर्सेर रोजगारीका लागि पराइ मुलुक पस्नु सायदै कसैको रहर होला । स्वदेशमा रोजगारीको अवसर नपाउँदा बिदेसिनु लाखौँ युवाको नियति भइसकेको छ । गएको वर्ष मात्रै ६ लाख ५९ हजार १ सय ४० जना युवाले देश छाडे ।

विदेशी भूमि, प्रतिकूल हावापानी, नबुझिने भाषा–संस्कृतिको अप्ठ्यारो त छँदै छ । मासिक १५–२० हजारको नोकरीका लागि सात समुद्रपारि पुग्ने गरिब युवाहरू पाइलैपिच्छे ठग र दलालको फन्दामा पनि उत्तिकै परिरहेकै हुन्छन् ।
 
अप्ठ्यारोमा पर्दा उद्धार र राहतमा राज्य संयन्त्र सक्रियता पनि भरपर्दो छैन । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान तम्सिएका प्रायः सबै श्रमिक देशको सीमा कट्न नपाउँदै ठगिइसकेका हुन्छन् । तर, ठगिएका कतिपय त आफू ठगिएको चाल पनि पाउँदैनन् । ठगिएको थाहा पाएपछि पनि धेरैले क्षतिपूर्तिका लागि उजुरी गर्दैनन् । ठगीमा पर्नेमध्ये थोरै मात्रै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुग्छन् ।
 
त्यसमा पनि आवश्यक प्रमाण नै नपुगेको भन्दै फर्काइने उत्तिकै हुन्छन् । यस्ताको तथ्यांक नै छैन । त्यसो त उजुरी गर्नेले पनि क्षतिपूर्ति नपाएको आँकडा उराठलाग्दो छ । विभागमा गएको आर्थिक वर्षमा २ हजार ३ सय ८३ उजुरी मात्रै दर्ता भए । तर, विभागमा कस्ता उजुरी कति आए भन्नका लागि उजुरीको वर्गीकरण गर्ने परिपाटीसम्म छैन ।
 
पिपुल्स फोरम नामक एउटा संस्था छ । जसले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्ने कामदारलाई आवश्यक निःशुल्क कानुनी सहायता उपलब्ध गराउँछ । फोरमले भने आफूमार्फत दर्ता भएका उजुरीको तथ्यांक व्यवस्थित रूपमा राख्ने गरेको छ । असारयताका नौ महिनामा मात्रै फोरममार्फत विभागमा १ हजार २ सय ६० उजुरी दर्ता भइसकेका छन् । जसमध्ये ६ सय ३८ उजुरी भने प्रेमप्रसाद र हरिप्रसादजस्तै विदेश नजाँदै ठगिएका कामदारका छन् । विदेशमा गएपछि उजुरी गर्नेहरूको संख्या ६ सय २२ छ । त्यसमा क्रमशः साउदी, मलेसिया, युएई र कुवेतबाट बढी उजुरी आएका छन् ।
 
यस वर्ष मात्र होइन, वैदेशिक रोजगारमा जाने क्रमममा स्वदेशभित्रै ठगिने कामदारहरूको संख्या यसअघिका वर्षमा पनि कम थिएन । पिपुल्स फोरमका अनुसार ०७१/७२ मा दर्ता भएका १ हजार ८८ मध्ये ५ सय ९८, ०७२/७३ मा १ हजार १ सय १९ मध्ये ४ सय ९ र ०७३/७४ मा १ हजार १ सय १८ मध्ये ४ सय ४७ ठगी विदेश सीमा नकट्दै भएका थिए ।
 
घटना १ 
 
परासीको सुनवल घर भएका प्रेमप्रसाद खनाल चारजना गाउँकै साथीहरूसँग वैदेशिक रोजगारीका लागि दुबई जान तम्सिए । उनीहरू दुबई जाने टोलीमै रहेका वैजनाथ कुँवरको चिनजानका आधारमा आफूलाई म्यानपावर एजेन्ट बताउने रुपन्देही रुद्रपुरका डम्बर गुरुङको सम्पर्कमा पुगे । दुबई जान भिसा, टिकटलगायत सम्पूर्ण आवश्यक तयारीका लागि भन्दै डम्बरले गत ४ मंसिर ०७४ यता विभिन्न किस्तामा पाँचैजनाबाट १ लाख २५ हजार रुपैयाँसम्म बुझे ।
 
२ फागुन ०७४ को टिकट रहेको भन्दै उनीहरूलाई काठमाडौं बोलाइयो । त्यसमा प्रेमको भने टिकट आइनसकेको जानकारी गराइएको थियो । तैपनि, सँगैका साथीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्न भन्दै उनी पनि २८ माघमै काठमाडौं आए । उनीहरू बसपार्कस्थित सगरमाथा होटेलमा बसे । भेट्न होटेलमै पुगेका डम्बरले टिकट ल्याउँछु भन्दै थप रकमसमेत उठाएर हिँडे । दुबईको भिसा लागेको भनिएका चारैजनालाई भिसा र टिकटको फोटो मोबाइलमै पठाइएको थियो ।
 
टिकटमा फ्लाइटको समय २ फागुनको साँझ ६ बजेर ४५ को थियो । प्रेम साथीहरूसँगै डम्बरको फोन आउने प्रतीक्षामा थिए । तर, दिउँसोसम्म सम्पर्कमा नआएपछि सम्पर्कका लागि प्रयास गर्न थाले । पटक–पटकको प्रयासपछि फोन त लाग्यो । तर, टिकट दुई दिनपछि सरेको खबर आयो । उनीहरूले ४ फागुनसम्म आउँदा आफूहरूलाई दिइएको भिसा र टिकट दुवै नक्कली भएको चाल पाइसकेका थिए ।
 
अनेक प्रयासपछि सम्पर्कमा आएका डम्बरसँग पैसा बुझाएको कागज बनाएर प्रेम साथीहरूसँगै घर फर्किए । कागज गर्दा उनीहरूलाई २० दिनमा सबै रकम फिर्ता गर्ने लेखिएको थियो । तर, भनेको समयमा पैसा पाएनन् । ‘२७ फागुनमा सबैलाई बुझाएको रकमबराबरको छुट्टाछुट्टै चेक दिइयो,’ प्रेमले भने, ‘चेक बन्द भइसकेको खाताको रहेछ र त्यो पनि अर्काकै नामको रहेछ ।’
 
तैपनि, उनीहरू चेकमा लेखिएको ४ वैशाख ०७५ सम्म नै पर्खिन तयार भए । त्यतिन्जेल डम्बर फरार भइसकेका थिए । प्रेमलगायत उनका साथीहरूबाट ५ लाख ४५ हजार रुपैयाँ लगेर डम्बर सम्पर्कविहीन भएपछि उनीहरू उजुरी गर्न वैदेशिक रोजगार विभाग पुगे । विभागले मानव बेचबिखन तथा ठगीको विषय भएकाले प्रहरीकहाँ पठायो । त्यसअनुसार ८ जेठमा महानगरीय प्रहरी परिसर काठमाडौंले डम्बरविरुद्ध मानव बेचबिखन तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । तर, उनी अझैसम्म फरार छन् ।
 
घटना २
 
विराटनगर हाटखोलाका हरिप्रसाद पुरी गाउँमै थिए । घर बनाउँदा लागेको ऋण तिर्न विदेश जाने सोचाइमा रहेका उनी साथी भरत गिरीको सालो नाता पर्ने मोरङ रंगेलीका मातृका गिरीको सम्पर्कमा पुगे । उनी आफूलाई म्यानपावरको एजेन्ट बताउँथे ।
 
विदेश जाँदा ठगीमा पर्न सक्ने डर उनलाई पहिल्यै थियो । ठगीमा नपर्ने गरी आश्वस्त भए मात्रै प्रक्रिया अगाडि बढाउने निधोमा उनीलगायत उनका साथीहरू पुगे । उनीहरूलाई विश्वासमा लिन मातृका गिरीले प्रिसेस इन्टरनेसनल नामक म्यानपावरका सञ्चालक विनोद कार्कीलाई गाउँमै बोलाए । आफ्ना सबै आशंका ‘दूर’ गरेपछि हरिप्रसाद, भरत र सत्यनारायण चौधरी ‘आजाद भिसा’मा कतार जान तयार भए र आ–आफ्नो पासपोर्ट जिम्मा लगाए ।
 
इटहरीमा रहेको कान्तिपुर मेडिकलमा स्वास्थ्य परीक्षण गराएर तीनैजना कतार जान काठमाडौं आए । हप्ता–दस दिनमै कतार उडाउने म्यानपावरको आश्वासनमा परेर उनीहरू एक वर्षअघि काठमाडौं आइपुगेका थिए । तर, उनीहरू भोलि–भोलि भन्दै डेढ महिनासम्म काठमाडौंमै अडिए । एयरपोर्टनजिकैको सिन्धुली गेस्ट हाउसमा बसेका उनीहरूको ९६ हजार रुपैयाँको बिल निस्कियो, घरबाटै पैसा मगाएर तिरे । र, केही सीप नलाग्ने देखेपछि दसैँअघि घर फर्किए ।
 
पुसको अन्तिमतिर कतार उडाउने भन्दै उनीहरूलाई फेरि काठमाडौं बोलाइयो । दोहो-याएरै मेडिकल गराए । अभिमुखीकरण तालिम पनि लिए । हप्ता दिनभित्रै उडाउने भनेर बोलाइका उनीहरूलाई पर्खाइएको तीन महिना भइसकेको थियो । ‘काठमाडौं बस्दाको होटेलको सबै खर्च म्यानपावरले नै तिर्ने भनेको थियो,’ हरिले भने ।
 
नयाँ बसपार्कमा रहेको तुलसी सागर गेस्ट हाउसमा उनीहरूलाई राखिएको थियो । होटेल बस्दा दोस्रो–तेस्रो दिन म्यानपावरको नयाँ तारेख थाप्ने काम मात्रै हुन्थ्यो । तीन महिनामा होटेलमा बस्दा र खाँदाको बिल १ लाख ४४ हजार उठिसकेको थियो ।
 
‘पर्खिंदा–पर्खिंदा हत्तुहैरान भइसकेपछि गएको १० वैशाखमा वैदेशिक रोजगार विभागमा उजुरी हालेर फर्कियौँ,’ हरिप्रसादले भने । त्यस विषयमा छलफलका लागि विभागले उनलाई केही दिनअगाडि काठमाडौं बोलाएको थियो । होटेलको खर्च र कतार जान भनी बुझाएको सम्पूर्ण रकम म्यानपावरले पीडित कामदारलाई फिर्ता दिने गरी विभागको मध्यस्थतामा मेलमिलाप गराएको छ ।
 
तीनैजनाबाट म्यानपावरले ३ लाख ३५ हजार रुपैयाँ लगेको थियो । उक्त रकम र होटेलको खर्च १ लाख ४० हजार म्यानपावरले तिर्ने भए पनि उनीहरूले गाउँमै ऋण लिएको रकमको चर्को ब्याज भने आफैँ तिर्नुपर्ने भएको छ । ‘एक वर्षदेखि सयकडा ३ का दरले १ लाख ८० हजार रुपैयाँको ब्याज तिर्दै आएको छु,’ हरिप्रसादले भने, ‘सावाँ त जेनतेन म्यानपावरले दिएको पैसाले तिरुँला । ब्याज भने ऋणमाथि ऋण भयो ।’ सत्यनारायणले त झन् सयकडा ५ का दरले गाउँमै ऋण लिएका थिए ।
 
Published on: 2 June 2018 | Naya Patrika

Back to list

;