s

जो घर फिरेका छैनन्

होम कार्की

 'त्यो गधा गएको हो कि यता आएको हो ?' 

'खै यता आएको जस्तो देखिन्छ ?' आफ्ना सहकर्मी सुडानी गधा चढेर साथीलाई भेट्न गइरहेको बेला आफूतिरै गधा यतै फर्केजस्तो लागेपछि घोराही दाङका ५८ वषर्ीय वीरबहादुर मगरले फोनमा भन्दै थिए, 'रो रो इन्त रो, अर्थात् जाऊ, जाऊ, उतै जाऊ ।' 

त्यतिखेरसम्म साँझ झम्मक्क परिसकेको थियो । मरुभूमिमा चिसो हावा चलिरहेको थियो । सडकबाट झन्डै पाँच किलोमिटरभित्र मरुभूमिमा भेटिएका मगर भर्खरै बाख्रालाई दानापानी दिएर बसेका रहेछन् । निकै खोजी गरेपछि भेटिएका वीरबहादुरको बस्ने कोठाको केही दूरीमा भेडीगोठ थियो । उनीसँगै १९ वषर्ीय सिन्धुलीमा श्याम माझी थिए । 

यता आएको कति भयो त ? 'अहिले बसेको ठाउँमा एक वर्ष भयो । कतारमा काम गर्न थालेको त २७ वर्ष पूरा भयो होला,' उनले भने, 'घरै नगएको मात्रै साढे १३ वर्ष भइसक्यो ।' ओहो, यति लामोसम्म घर जानुभएको छैन ? 'गइनँ बाबु । दुःखले त हो नि बस्ने हो । अझै पनि ऋण छ,' उनले भने, 'बल्ल बल्ल ऋण सक्दै छु । फेरि छोराहरूले ऋण थपिदिन्छन् । अब ऋण सकिँदै छ ।' 

उमेरले ६० वर्ष पुग्न लागे पनि वीरबहादुर निकै जोसिला छन् । उनी साढे १३ वर्षदेखि भागेर कहिले मजरा त कहिले भेडीगोठाला बस्दै आइरहेका छन् । १४ वर्ष कतारको एउटा प्रतिष्ठित कम्पनीमा काम गरेका वीरबहादुर बिदामा गएर फर्केपछि कम्पनीले मेडिकल टेस्ट गराएको थियो । त्यतिखेर फेल भएपछि घर जाने तरखरमा थिए । 'भर्खरै आएकाले घर बनाएको ऋणै थियो । खेतीपाती थिएन । बच्चाहरूलाई पढाउँदै ठीक भइरहेको अवस्थामा घर फिर्ने अवस्थामा एकजना चिनारु रोल्पाली साथीलाई गुनासो पोखेको थिएँ', उनले भने, 'भागरे मजरातिर गएर काम गर्न सल्लाह दिए । त्यसपछि भागें ।' 

उनलाई त्यतिखेरसम्म 'मजरा' र 'भाग्ने' प्रवृत्तिबारे थाहा थिएन । मजरामा बगैंचामा पानी हाल्ने मात्रै भनिएको थियो । 'फूलबारीमा केको पानी हाल्नु नि । कोदालोले झ्याम कि झ्याम खान्नुपर्ने । हैसियाँले घाँस काट्नपर्ने रहेछ ।  आम्मा हो दिमाग खराब भयो,' भन्दै गए । 

कम्पनीमा एसीभित्र क्लिनरको काम गर्दै आएको मगरको त्यो दुईवर्षे काल निकै कठिन बनिदियो । 'जसोतसो दुई वर्ष कटाएँ,' त्यसपछि ऋणसिड खल्लीबल्ली भनेर जाने निधो गरेँ ।' जाने बेला फेरि पहिलेकै रोल्पालीले सल्लाह दिए, 'दाइ भेडाबाख्राको काम गर्नुहुन्छ त ? मजराभन्दा अलि सजिलो हुन्छ ।' 'ल गर्छु त,' राजी भएर अगाडि बढे । 'बाख्रामा ६ महिनासम्म निकै गार्‍हो भयो । धेरै रुनुपर्‍यो,' उनले भने, 'बिस्तारै बानी पर्दै गएपछि त घर जानै मन लाग्न छाड्यो ।' 

मरुभूमिभित्र छिरेदेखि उनी बाहिर निस्केका छैनन् । रोल्पाबाट दाङ बसाइ सराइका वीरबहादुर कतार छिर्दा रोल्पमा माओवादी जन्मिएको थिएनन् । निकै पछि मात्रै माओवादी द्वन्द्वमा आफ्ना आफन्तहरू गुमेका थाहा पाए । 'बेला बेला बूढीले माओवादीले यस्तो गर्‍यो उस्तो गर्‍यो भन्थिन्,' उनले भने, 'त्योबाहेक केही जानकारी भएन । केही वर्षमै परिवारलाई दाङमा ल्याएपछि सबै तनाव हट्यो ।'  

उनका तीन छोराहरू छन् । जेठो छोरा साउदीतिर छन् । माइला दाङमै 'अपिस' खोलेर बसेका छन् । कान्छा मलेसिया हानिएका छन् । यी छोराहरुमाथि गरेको लगानीका कारण उनको ऋण सकिएको छैन । तर, वीरबहादुरकी श्रीमतीले भने कुरा अर्के बुझेकी छन् । 'बूढीले सधैं त्यहाँ स्वास्नी लिएर बसेको छ । नत्र स्वास्नी नभइदिएको भए यतिको कसरी बस्छ ? भन्छे,' उनले भने, 'यता केटीको अनुहार नदेखेको कति भयो ? पत्याउँदै पत्याउँदिन । खाली कराएको कराइ गर्छे । अनि भनिदिन्छु, तँ भन्दा राम्री छे । आउँदा लिएर आउँछु ।' कान्छा छोराले मलेसियाबाट फोन गरेर 'बा तिम्रो अनुहारै कस्तो छ थाहा छैन,' भन्छन् । कान्छो छोरो जन्मिने बेला उनी साउदी थिए । बढ्ने हुर्किने बेला कतार भासिए । 

न उनीसँग श्रीमती छोराबुहारीको सम्झनाको लागि फोटो छ । न उनको फोटो परिवारसँग छ । 'श्रीमती बूढी भइहोली । छोराहरू हुर्के । नातिनातिनी बढ्दै छन्,' उनले भने, 'मलाई यत्ति थाहा छ ।' 

यति लामो समयसम्म बस्दा के हुँदोरहेछ त ? सजिलो जवाफ दिए, 'केही पनि हुँदैन । घरतिरको सबै साथीभाइ बिर्सिन्छ । भुलिन्छ । घरको काम व्यवहार भुलिन्छ । सबै तनाव टेन्सन भुलिन्छ । घरमा गएर कामै गर्न मन लाग्दैन ।' उनलाई अब घरतिरको भन्दा यताको भेडाबाख्राको 'टेन्सन' लाग्दोरहेछ । भन्छन्, 'अब त भेडासँग हिँड्न मात्रै रहर लाग्छ,' ३६ वर्षे जोवनमा कतार छिरेका उनी कतारमा आउने नेपालीका पहिला पुस्ता हुन् । 'निर्मल गुरुङको म्यानपावरबाट आएको हुँ । त्यतिखेर कतारको भिसा खुलेको छैन भन्थे । त्यसपछि साउदीमा तीन वर्ष बसेर यता आएँ,' उनले भने, 'पहिला उसैलाई एक लाख २० हजार तिरें । पछि ८० हजार तिरें ।'   

अहिले उनी महिनाको एक हजार रियाल तलब थाप्छन् । खाना र मोबाइलको पैसा कपिलले नै दिनेगर्छ । बेला बेला भेडाबाख्राका बड्कुलो बेच्ने हुँदा त्यसले केही बचत बढ्छ । अनि त उनको स्वर बलियो छ, 'छोराहरूले मैले पठाएको जस्तो ग्वाम्मै पठाउँदैनन् । ४० हजार/५० हजार रुपैयाँ पठाउँछन् । मैले एक लाख कहिले दुई लाखसम्म पठाउँछु । अहिले पनि सात महिनाको सात हजार रियाल जोगाएर राखेको छु ।' 

त्यतिखेरसम्म वीरबहादुरको पालभित्र लान्टिनको उज्यालो बढ्दै गइरहेको थियो । बाहिर चकमन्न अँध्यारो भइसकेको थियो । रातको समयमा मरुभूमिबाट बाहिर  निस्कँदा हराइने हुँदा फर्किने योजना बनाएँ । उनले अलि परसम्म आएर मुख्य बाटो समाउने साहयक बाटो देखाइदिए, 'यसलाई नछोडी जानुुस् । बाहिर नस्किनुहुन्छ ।' त्यही दिशा समात्दा मरुभूमि निकस्न सफल भइयो । भोलिपल्ट बिहान फोन गर्दा उनी भेडालाई चराउन गोठबाट तीन किलोमिटर टाढाको पावर हाउससम्म पुगेका रहेछन् । आफूभन्दा निकै पर पुगिसकेको भेडाबाख्रालाई फर्काउन उनी चिच्चाउँदै थिए, 'हे हम्रा -अगाडिको राते भोडा), हे सर्ट -काले भेडा), हे अभिभ -सेते भेडा)...।' 

Published on: 30 March 2013 | Kantipur

Back to list

;