s

जिउँदोलाई मृत घोषणा गरिएपछि...

सीता शर्मा

मोरङ जिल्लाका सुवास तामाङ जीवितै हुनुहुन्छ तर उहाँको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्रै होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उहाँको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उहाँको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उहाँकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसम्म हारगुहार गरिरहनुभएको छ । 

साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जना उक्त दुर्घटना भएको भोलिपल्ट मृत्यु भएको घोषणा गर्यो तर मृत्यु हुने सुवास नभएर बागलुङका तेजेन्द्र भण्डारी हुनुहुन्थ्यो । अस्पतालमा उपचाररत सुवासलाई कम्पनीले मृत्यु भएको प्रमाणित गरेको कागजातसहित बागलुङका तेजेन्द्रको लास हालेर स्वदेश पठाइयो र सुवासको परिवार तथा आफन्तजनले लास बुझेर आफ्नो धार्मिक संस्कारअनुसार दाहसंस्कार पनि गरे । दाहसंस्कार भएको चार महिनापछि उपचारपछि स्वदेश फर्किनुभयो । 
 
यता उपचाररत छोरा आउने आसमा बसेकी बागलुङका तेजेन्द्र भण्डारीकी आमाले भने कि सास कि लास चाहियो भन्दै मन्त्रीसम्म आएर हारगुहार गर्नुभयो तर उहाँको छोराको लास सुवास भनेर तामाङ संस्कारअनुसार झन्डै चार वर्षपहिले नै दाहसंस्कार भइसकेको थियो । 
 
‘छोरा मरी सक्यो भन्छन् अहिलेसम्म लास नै पाएकी छैन के आधारमा मरेको भनेर पत्याउने तेजेन्द्रकी आमाले मङ्गलबार मन्त्रालयमा श्रममन्त्री गोकर्ण विष्टलगायत मन्त्रालयका सचिव, सहसचिवलगायतलाई भेट गरी यस्तो प्रश्न गर्नुभयो । त्यसो भनिररहँदा तेजेन्द्रकी आमा मात्रै होइन, भेटमा सहभागी मन्त्रीसहित सबैका आँखा रसाएको देखिन्थ्यो । तेजेन्द्रकी वृद्ध आमाले सबैले पाउँदै आएको आर्थिक सहयोग आफूले पनि पाउनुपर्नेतर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँसँगै आउनुभएका सुवास र उहाँकी श्रीमती सन्तोषी तामाङले आर्थिक राहत उपलब्ध गराउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो । 
 
उहाँहरूसँगको भेटमा श्रममन्त्री गोकर्णराज विष्टले सरकार वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउनेतर्फ लागेकाले नयाँ प्रक्रिया अपनाएर भए पनि दुवै परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यमान कानुनमा उहाँहरूको समस्या समाधान गर्न गाह्रो पर्छ तर यसको नयाँ ढङ्गले निकास खोज्नुपर्छ, म त्यसका लागि एकदमै सकारात्मक छु, जसरी हुन्छ उहाँहरूलाई राहतको व्यवस्था गर्छु । ’ मन्त्री विष्टले सुवास र तेजेन्द्रको घटना प्रतिनिधिमूलक भए पनि यस्ता पीडित परिवार धेरै भएकाले यसको समाधानको बाटो खोजिने बताउनुभयो । कसरी घटना उल्टोपाल्टो भयो ? 
 
मोरङका सुवास र बागलुङका तेजेन्द्र भण्डारी साउदी अरबमा काम गर्नुहुन्थ्यो । सुवास साउदीको हुन्डाई कम्पनीमा काम गर्नुहुथ्यो भने तेजेन्द्र ट्याक्सी चलाउनुहुन्थ्यो । महिनाभरीको कमाई पठाउन बैङ्क जाने क्रममा दुई जनाको भेट भयो । घरमा पैसा पठाउन बैङ्क गएर फर्किंदा तेजेन्द्रले चलाएको ट्याक्सीमा सुवाससहित हुन्डाई कम्पनीका चार जना नेपाली युवा दुर्घटनामा पर्नुभयो । चालक तेजेन्द्र पनि त्यस दुर्घटनामा पर्नुभयो । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुन्डाई कम्पनीका काम गर्ने चारको मृत्यु भएको घोषणा गर्यो ।
 
अस्पतालले चालक तेजेन्द्रको भने उपचार भइरहेका खबर दियो । सुवासको परिवार शोकमा डुबेको बेला बागलुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेका छोराको होस खुलोस भनेर भगवान् पुकार्दै हुनुहुन्थ्यो । उल्टोपाल्टो पहिले नै भइसकेको थियो । साउदीमा उपचार गरिरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो तर पट्टीभित्र अनुहार तेजेन्द्र नभएर बाकसमा लास ल्याएर काजक्रिया गरिसकेका सुवासको थियो । मर्यो भनेर किरिया गरिएको मानिस जीवित भेटियो । उपचारपछि छोरा निको भएको खबर सुन्न आतुर तेजेन्द्रकी आमाले छोरालाई अरू कसैले दागबत्ती दिएको खबर सुन्नुपर्यो । सो भेटका क्रममा यी दुई घटनामा केन्द्रित भएर तयार गरिएको ‘मरिसकेको मान्छे’ नामक वृत्तचित्र सार्वजानिक गरियो । करिब चालिस मिनेटको वृत्तचित्र श्रममन्त्री, श्रम सचिव, श्रम मन्त्रालयका सहसचिव, पदाधिकारीसहित सञ्चारकर्मीको पनि सहभागिता थियो ।
 
Published on: 3 April 2019 | Gorkhapatra

Back to list

;