s

जिम्मेवारी नलिन व्यक्तिगत स्वीकृतिमा विदेश

वैदेशिक रोजगार व्यवसायीले आफू जिम्मेवारीबाट मुक्त हुन व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशीक रोजगारमा पठाउने प्रवृत्ति बढेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारहरू बढी जोखिममा पर्ने गर्छन् । संस्थागतरूपमा पठाउने कामदारको सम्पूर्ण जिम्मेवारी म्यानपावर कम्पनीले लिनुपर्ने भएकाले व्यक्तिगत स्वीकृति लिएर कामदारलाई विदेश पठाउने प्रवृत्ति बढेको हो । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार एजेन्सीको नाममा 'झोलेहरू' ले यस्तो काम गर्ने गरेका छन् ।
 
वैदेशिक रोजगार विभागका अनुसार साउनमा मात्रै २२ हजार ६ सय ६२ जना व्यक्तिगत स्वीकृतिमा वैदेशिक रोजगारमा गएका छन् । तिनमा महिला मात्रै एक हजार पाँच सय ६३ जना छन् । यही अवधिमा एक हजार पाँच सय म्यानपावर कम्पनीमार्फत् जाने कामदारको संख्या २२ हजार ६४ जना मात्र छ । यसरी संस्थागतभन्दा व्यक्तिगत रूपमा जाने कामदार ६ सयले बढी छन् ।
 
व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले 'झोले' हरूबाट कामदार पठाउने क्रम तीव्ररूपमा बढेको बताए ।  'विभागले झोलेहरूलाई रोक्न सकेन', उनले भने, 'विदेशमा कोही नभएकालाई समेत उसले व्यक्तिगत श्रम स्वीकृति दिइरहेको छ ।' व्यक्तिगतभन्दा संस्थागतरूपमा जाने कामदार बढी सुरक्षित हुन्छन् । संस्थागतरूपमा जानेले सम्झौता अनुसार काम, तलब र सेवा सुविधा नपाए म्यानपावर विरुद्ध उजुरी गर्न सकिन्छ । त्यसविरुद्ध विभागले छानविन गरी कामदारलाई न्याय दिन सक्छ ।
 
अझ म्यानपावरमार्फत् गएका कामदारको करार अवधि सकिएर स्वदेश नफर्केसम्मको जिम्मेवारी उसैले लिनुपर्छ । विभागले यसरी विदेश जाने कामदार जोखिममा पर्ने जानकारी हुँदाहुँदै यसलाई रोक्ने पहल गरेको छैन । विभागकै कर्मचारीहरूको मिलोमतोमा यो काम हुँदै आएको छ । वैदेशिक रोजगार ऐन अनुसार विदेशमा काम गर्नुपर्ने कामको प्रकृति, रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र र रोजगारका सर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र भएमा व्यक्तिगत स्वीकृति दिन सकिने व्यवस्था छ । म्यानपावर कम्पनीले यिनै कागजात पेस गरी व्यक्रिगत स्वीकृति लिने गरेका छन् । 
 
श्रम सचिव रामहरि अर्यालले यस्तो कार्य कडाइका साथ नियन्त्रण गर्न विभागलाई निर्देशन दिइसकेको बताए । 'एकै व्यक्तिबाट २२ लाखसम्म ठगिएका मुद्दा आएका छन्', उनले भने, 'व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गर्न विभागलाई निर्देशन दिएको छु ।' 
 
विभागले संस्थागतबाट ठगिएका कामदारलाई छिटो र सहज रूपमा न्याय दिन सकिए भने व्यक्तिगतरूपमा ठगी भएकालाई न्याय दिन सकिएको छैन । विभागका अनुसार गत वर्ष १ हजार २ सय ४ वटा ठगीका मुद्दा परेकोमा व्यक्तिगततर्फ सात सय ३१ र संस्थागततर्फ ४ सय ८३ वटा रहेका छन् ।
 
अध्यक्ष बटाजुले व्यक्तिगत श्रमस्वीकृति नरोकिए यसबाट झन् वैदेशिक रोजगारको क्षेत्रमा विकृति बढ्ने बताए । विभागले कामदार उपस्थिति नभई श्रम स्वीकृति दिने गरेको छ । 'संस्थागत श्रम स्वीकृतिमा कामदार उपस्थीति हुनुपर्दैन', विभागकै एक अधिकारी भन्छन्, 'यहाँ दलाल वा एजेन्सीका प्रतिनिधि आएर व्यक्तिगत श्रम स्वीकृति लिएर जान्छन् ।'
 
विभागका महानिर्देशक नरेन्द्रराज शर्माले व्यक्तिगत श्रम स्वीकृतिबारे छलफल भइरहेको बताए । 'एजेन्सीले आफ्नो जिम्मेवारीबाट पन्छिन व्यक्तिगत श्रम स्वीकृतिबाट कामदार पठाइरहेकोबारे हामी चनाखो भएका छौं', शर्माले भने, 'व्यक्तिगत श्रम स्वीकृतिमै पठाउने वा नपठाउनेबारे हामी छलफल गरिरहेका छौं ।' 
 
Published on: 14 September 2011 | Kantipur

Back to list

;