s

झूटो नागरिकता दिने पक्राउ

नक्कली दाजु बनेर विदेशी युवतीलाई नागरिकता दिलाउने सिन्धुकोट ९ का एक व्यक्तिलाई शनिबार बिहान पक्राउ परेका छन् । नागरिकता दिलाउन सहयोग पुर्‍याउने गिरोहको खोजीका क्रममा प्रहरीले वाङ दोर्जे लामालाई स्थानीय भोटेचौरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भदौ २० गते वाङदोर्जेले दाजु बनेर जिल्ला प्रशासनमा सनाखत गरी गैरनेपाली २९ वषर्ीय पेमा लामालाई नागरिकता दिलाएका थिए । नक्कली दाजु लामा निकट स्रोतका अनुसार नागरिकता दिलाउन सहयोग पुर्‍याउने समूहबीच आर्थिक लेनदेन नमिलेकाले गाविस सचिवले नै जिल्ला प्रशासनमा फोन गरेर नागरिकता गलत मान्छेले पाएको सूचना दिएका थिए । स्रोतका अनुसार नागरिकता बनाएपछि सचिव नवराज सेन ट्याक्सी र लेखनदास मोटरसाइकलमा राजधानी गएका थिए । उक्त दिन वाङदार्जे भने चौतारा बसेका थिए । गाविस सचिव सेन, लेखनदास, स्थानीयवासी र प्रहरीको मिलेमतोमा विदेशीलाई नागरिकता दिएको अनुमानमा अनुसन्धान सुरु गरिएको हो । नागरिकता लिनेबित्तिकै राहदानीका लागि समेत सोही दिन सिफारिस भइसकेको अवस्थामा विदेशीले नागरिता पाएको रहस्य खुलेको थियो । नागरिकता लिने विदेशी भुटानी वा तिब्बती नागरिक भएको प्रहरीको अनुमान छ ।

गाविस सचिव सेनले सोही गाविसका ज्याकु लामा बाबु र फूलसानी लामा आमा बनाएर जन्म दर्ता र नागरिकताको सिफारिस गरेका थिए । इलाका प्रहरी मेलम्चीका निरीक्षका लोकहरि खनालका अनुसार घटनामा संलग्नमाथि अनुसन्धान गर्ने क्रममा नक्कली दाजु वाङदोर्जे राजधानी जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Published on: 29 October 2012 | Kantipur

Back to list

;