s

झरी र लाठी चार्जबीच १८ हजार आवेदन

एक हातमा चप्पल र अर्को हातमा फारम बोकेका वामिटक्सार गुल्मीका सुमनसिंह मल्ल  बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा असिनपसिन थिए। निलो पाइन्ट घुँडासम्म सारेका उनको त्यसमाथिको शरीर पनि हिलाम्ये थियो।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा फारम भर्न मंगलबार रातिनै त्यहाँ पुगेका उनले झरि र हिलोको कुनै पर्वाह गरेनन्। तर, बुधबार बिहानैदेखि भीड बढ्न थालेपछि मल्ल लामको कुन छेउमा पुगे पत्तै पाएनन्। फारम संकलन गर्न केन्द्र खुलेपछि भीड अनियन्त्रित हुँदै गयो। प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज नै गर्नुपर्ने बाध्यता भयो। त्यही लाठीचार्जले मल्लसँगै हजारभन्दा बढी आवेदकलाई तितरबितर पार्योा, दर्जनभन्दा बढी घाइते भए। कत्तिको बाइक पल्टिएर कुच्चियो, कत्तिका जुत्ताचप्पल हराए। कोही …मोबाइल हरायो' भन्दै खोज्दै थिए। 

इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसैको लागि बुधबारदेखि फारम बुझ्न थालिएको हो। कोरिया जान इच्छुक युवायुवती मंगलबार राति नै विभिन्न केन्द्रमा पुगी झरिमा रुझ्दै लाम बसेका थिए। केही केन्द्रमा भीड अनियन्त्रित भयो। ल्याबोरेटरी स्कुल कीर्तिपुर, एक्मी इन्जिनियरिङ कलेज सीतापाइला र च्यासल फुटबल मैदानमा भीड बढी थियो। 

दुम्किबास, गोल्डेनचोक नवलपरासीका सन्जित थापा पनि फारम बुझाउन मंगलबार गाडी चढेर काठमाडौं आए। साँझ काठमाडौं आएका उनी होटल नै नपुगी सीधै च्यासलमा लाम बस्न पुगे। उनी पनि लछारपछारमा परे। …मोबाइल पानीमा डुबेर बिग्रियो, पुलिसको लात पनि खाइयो,' उनले दुखेसो पोखे। 

कोरियाली भाषाको परीक्षा असोज १० र ११ गते हुँदैछ। पाँचौं भाषा परीक्षाका लागि साउन २८ देखि ३१ गतेसम्म आवेदन दिन सकिने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ। शाखा प्रमुख डिल्ली बाँस्तोलाले चार दिनसम्म फारम बुझाउन सकिने व्यवस्था भए पनि पहिलो दिन मै बाक्लो भीड लागेको बताए। …बुधबारै १८ हजारभन्दा बढी आवेदन परेको छ,' उनले भने । 

नेपाल र दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीअनुसार इपिएसअन्तर्गत त्यहाँ जाने नेपाली कामदार छनोट गर्न भाषा परीक्षा लिन लागिएको हो। परीक्षा एक दिनमा दुई सिफ्टमा हुने छ। परीक्षा दिन २४ अमेरिकी डलर बुझाउनुपर्छ। परीक्षा फारम काठमाडौंबाहिर पनि बुझ्ने व्यवस्था छ। धरानको सभागृह, बुटवलको प्रदर्शनी मण्डप, पोखराको विन्ध्यवासिनी उच्च मावि र डडेलधुराको कर्मचारी मिलन केन्द्रमा फारम बुझाउन सकिने शाखाले जनाएको छ।

यसपटक शाखाले अनुमानित उत्तीर्ण संख्या पछि निर्धारण गर्ने जनाएको छ। यसअघि यस्तो संख्या पहिला नै जानकारी दिने गर्थ्यो। परीक्षा दुई सय पूर्णांकको हुने छ। उत्तीर्णांक ५० तोकिएको छ। सय–सय पूर्णांकको सुनाइ र पढाइमा २५/२५ प्रश्न सोधिने छ। परीक्षा समय ७० मिनेट हुनेछ। भाषा परीक्षाको नतिजा २९ असोजमा प्रकाशित गर्ने शाखाले जनाएको छ। पास भएको दुई वर्षसम्म कोरिया जान पाइन्छ। 

इच्छुकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिन सक्ने छन्। परीक्षाअघि जुन क्षेत्र उल्लेख गरिएको हुन्छ उत्तीर्ण भएपछि सोही क्षेत्रमा मात्र रोजगारी आवेदन फाराम भर्नुपर्ने शाखाले जनाएको छ। एक व्यक्तिले दुवै क्षेत्रमा आवेदन दिन पाउँदैनन्। भाषा परीक्षामा उच्च अंक ल्याउने परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुनुपर्ने छ। सीप परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई प्राथमिकताका साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई सिफारिस गरिने शाखाले जनाएको छ। 

८० हजार रुपैयाँ लागतमा मासिक एक लाख कमाइ हुने भएपछि दक्षिण कोरिया नेपाली कामदारको रोजाइमा परेको छ। उसले पहिलोपटक सन् २००८ मा इपिएसमार्फत नेपाली कामदार लगेको थियो। कोरियामा २००८, २०१०, २०११ र २०१३ को इपिएस परीक्षा पास गरेर गएका २२ हजारभन्दा बढी नेपाली काम गरिरहेका छन्। यसरी गएकाले चार वर्ष १० महिना काम गर्न पाउँछन्। 

इपिएसमार्फत नेपाली कामदारलाई कोरिया पठाउन दुई देशबीच भएको सम्झौताको म्याद गत जुुनमा सकिएकोले अगस्टमा नवीकरणको तयारी छ। हरेक दुई–दुई वर्षमा सम्झौता नवीकरण हँुदै आएको छ। पहिलोपटक नेपाल र कोरिया सरकारबीच सन २००७ जुलाई ७ मा सम्झौता भएर २००८ देखि नेपाली कामदार कोरिया जान थालेका थिए। अबको नवीकरण चौथो हुने छ।

Published on: 14 August 2014 | Nagarik 

Back to list

;