s

झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित ११० जनाले दिए उजुरी

झापा : झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित भएका १३ महिलासहित ११० जनाले उजुरी दिएका छन्। चालु आर्थिक वर्षको चैत २० गतेसम्म परेको उजुरीमध्ये ८७ वटा मुद्दा अझै प्रक्रियामा रहेको छ । २१ वटा मुद्दा समाधान गरी ४५ लाख ९० हजार रकम असुलउपर गर्न सफल भएको जनाइएको छ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्लास्तरमा सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठीमा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार मेनवापरबाट ठगिएका, पासपोर्ट खोसिएका, विदेशमा पुगेर मेडिकल फेल भएका, फरक कामको प्रकृतिका काम लगाइएका व्यक्तिहरूले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएको बताए। अघिल्लो आर्थिक वर्ष २०७९/०८०मा १२९ मुद्दा दर्ता भई ४० वटा मुद्दा मात्र फर्छ्यौट भएको थियो।

चालु आ.वको अहिलेसम्म केन्द्रले वैदेशिक रोजगारीमा जान लागेका ३ हजार २८९ महिला र ६ हजार १८४ पुरुष गरी ९ हजार ४८३ जनालाई सूचना परामर्श सेवा प्रदान गरिएको उनले बताए।

रिटर्नी स्वयंसेवकमार्फत घर दैलो कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीबाट फर्किएका ५ सय ५, फलोअप ८ सय ७७, समूहमा सूचना प्रदान ६७ र घरमा भेटेर सूचना प्रदान १० हजार ५०८ जनासँग परामर्श गरिएको उनको भनाई छ। सामीले वित्तीय साक्षरता, मनोपरामर्श कक्षा सञ्चालन, आर्थिक सहायता र उद्धारको पनि काम गर्दै आइरहेको उनले बताए।

सामी कार्यक्रम जिल्लाको चार पालिकाहरू भद्रपुर, मेचीनगर, गौरीगञ्ज र दमकमा सञ्चालन भइरहेको रोजगार संयोजक टीकाराम पाण्डेले जानकारी दिए। वैदेशिक रोजगारीबाट फर्किएकालाई मनोसामाजिक परामर्श अन्तरगत भद्रपुरमा २७, मेचीनगरमा २४, गौरीगञ्जमा २४ र दमकमा ९ वटा मुद्दा परेको उनको भनाई छ।

Published on: 3 April 2024 | Annapurna Post

Link

Back to list

;