s

झापाबाट बेपत्ता दुई किशोरीको भारतबाट उद्दार

यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको डीएसपी थापाले बताए ।

बेपत्ता बनेका किशोरी दिदीबहिनी हुन् । मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशीलरुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको उनले बताए। “बेपत्ता बनेका दिदी बहिनीले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो”, थापाले भने, “लखनउमा छन् भन्ने भएपछि हामीले तत्काल भारतीय प्रहरीलाई जानकारी गरायौँ, जसका कारण उनीहरु मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको सम्पर्कमा पुगेका हौँ ।” भारतको पूर्णियामा फेला परेका किशोरीलाई सोमबार नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

Published on: 5 August 2019 | Onlinekhabar

Back to list

;