s

झन्डै एक वर्षमा कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

रोजगारीमा जानेका संख्या बढेसँगै जोखिम समेत बढेको छ।जोखिम बढे पनि बैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छैन। भने अनुसारको काम नपाएको, मृत्युको संख्या र अङ्गभङ्गको संख्या समेत बढ्दै गएको छ।चालु आर्थिक वर्षको ११ महिनामा मात्र बैदेशिक रोजगारीमा गएका कपिलवस्तुका ४३ जनाको मृत्यु भएको छ।

८ जना अङ्गभङ्गमा परेका छन्। विगत ३ वर्षमा भने कपिलवस्तुका १ सय २६ जनाको मृत्यु र ३८ जना अङ्गभङ्गमा परेका छन्। ३ वर्षमा नेपालका ३ हजार ८ सय ४६ मृत्यु र ७१२ जना अङ्गभङ्गमा परेका छन्। कपिलवस्तुको तौलिहवामा सुरक्षित आप्रवासन (सामी)ले राखेको पत्रकार अन्तरक्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सामीका लुम्बिनी प्रदेश संयोजक जिया उल हकले बताए।

हालसम्म कपिलवस्तुबाट १ लाख ४ हजार ३६३ जना बैदेशिक रोजगारीमा गएका छन्। यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मात्र हो। नेपालबाट भने गत वर्ष ७ लाख ७१ हजार ३ सय २७ जना विभिन्न मूलकमा बैदेशिक रोजगारीका लागि गएका थिए। गैर कानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्याङ्क भने फरक पर्न सक्ने उनले बताएका छन्। कपिलवस्तुबाट आर्थिक वर्ष ०७९/०८० मा १५ हजार १०१ जना बैदेशिक रोजगारीका लागी गएको सामीका परियोजनाका जिल्ला संयोजक सुभाष रेग्मीले बताए।

यस्तै चालु आर्थिक वर्षको जेठ महिना भित्र १२ हजार ८८ जनाले श्रम स्वीकृत लिएका छन्। जसमा महिला ४ सय ३२ जना छन्। कपिलवस्तुमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका ३ सय ३४ वटा उजुरी परेका छन्। यस्तै चालु आर्थिक वर्षमा १ सय ५३ वटा ठगी सम्बन्धी उजुरी परेका छन्। पीडितलाई १ करोड ९८ लाख ५१ हजार ५ सय क्षतिपूर्ति दिलाइएको छ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले स्वदेशमा रोजगारीको अभाव र आर्थिक स्थितिका कारण बैदेशिक रोजगारीमा अहिले युवाहरूको आकर्षण बढेको छ। एजेन्टको भरमा परेर विदेशमा जाँदा समस्या र जोखिम समेत उत्तिकै बढेको उनले बताए। बैदेशिक रोजगारीमा जानु आकर्षण र बाध्यता भए पनि सुरक्षित रूपले जानु पर्ने उनले बताए।

१७ वर्षमा ७७ लाख बढी बैदेशिक रोजगारीमा

देशभरबाट विदेश जानेको संख्या बढ्दै गएको छ। रोजगारीका लागि जाने मध्ये खाडीमा जानेको संख्या ९३ प्रतिशत बढी छ। २०६३/०६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार ७ सय ८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जना रोजगारीका लागी विदेश गएका थिए। यो संख्या गएको १७ वर्षयताको उच्च संख्या हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ लाख ९ हजार ६ सय ९९ जना वैदेशिक रोजगारीमा गएका छन्।

यस्तै लुम्बिनी प्रदेशबाट हाल सम्म १० लाख ६१ हजार ५६० जना बैदेशिक रोजगारीका लागि गएका छन्। अहिलेसम्म विदेश जानेहरू कुल ९३ प्रतिशत जनसंख्या मलेसिया तथा खाडी मुलुकमा गएका छन्। बाँकी ७ प्रतिशत नागरिक जापान, बहराइन, कोरिया, क्रोएसिया लगायतका देशमा छन् । राष्ट्रको खर्च धान्न, वैदेशिक मुद्रा सञ्चितिमा रेमिट्यान्स प्रमुख स्रोत हो। विदेशबाट पठाएको अधिकांश रकम दैनिक उपभोग्य सामान खरिद गर्नमै गएको तथ्याङ्कले देखाएको छ।

विदेशबाट भित्रिएको पैसाको ७२ दशमलव ४० प्रतिशत रकम दैनिक घर खर्चमै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै ऋण तिर्न १५ दशमलव ८ प्रतिशत रकम खर्चिने गरेका छन्। अध्ययनका लागि ४ दशमलव ६ प्रतिशत, घरजग्गामा १ दशमलव ९ प्रतिशत रकम खर्च भएको छ। बचत प्रतिशत जम्मा १ दशमलव ९ रहेको छ । देशका ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन् भने लुम्बिनी प्रदेशका ८९ दशमलव ६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दछन् । नेपालमा आएको पैसाको अधिकांश रकम घर खर्चमै सकिएको पाइएको छ।

Published on: 24 June 2024 | Nagarik

Link

Back to list

;