s

जेठदेखि एमआरपीमा मात्रै श्रम स्वीकृति

विदेश जाँदै हुनहुन्छ? हस्तलिखित राहदानीको म्याद २०७२ मंसिर वा त्योभन्दा पछिसम्म छ भनेर ढुक्क नहुनुहोस् नि! वैदेशिक रोजगारीको हकमा २०७१ सालदेखि नै तपाईंको हस्तलिखित राहदानी अयोग्य हुँदैछ। वैदेशिक रोजगार विभागले २०७१ जेठ १ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ।

विभागले मंगलबार आगामी जेठदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने निर्णय गरेको हो। २०७२ मंसिर ७ देखि हस्तलिखित राहदानी काम नलाग्ने भन्दै विभागले यस्तो निर्णय गरेको हो।विभिन्न देशका नेपाली राजदूतावासबाट हस्तलिखित राहदानीको कारण समस्या झेल्नु परेको गुनासो आएपछि यो निर्णय गरेको विभाग महानिर्देशक कृष्णहरि पुस्करले जानकारी दिए। चाँडोभन्दा चाँडो एमआरपी बनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। 
महानिर्देशक पुस्करले भने, '२०१५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय रुपमै हस्तलिखित राहदानीमा प्रतिबन्ध लाग्दैछ। विदेशस्थित नेपाली दूतावासहरुले पनि हस्तलिखित राहदानीका कारण समस्या बढेको गुनासो गरेपछि बुधबार सूचना निकालेर जेठ १ गतेदेखि हस्तलिखितमा श्रम स्वीकृति नदिने जानकारी गराएका छौं।' 
नयाँ प्रक्रियामा अनिवार्य जानैपर्ने र अहिले नै व्यवस्था मिलाउँदै गए पछि सजिलो हुने हुँदा बेलैमा एमआरपी बनाउन उनले सुझाए। 
उनका अनुसार विदेश गइसकेपछि एमआरपी बनाउन कम्तीमा ५/६ महिना लाग्छ। कामदार उता गएपछि समस्या झन् बढ्छ भनेर अहिले नै यस्तो निर्णय गरेको महानिर्देशक पुस्करले बताए। विदेशमा एमआरपी बनाउन समय र खर्च दुवै बढी लाग्ने हुँदा जेठ १ देखि लागू हुने गरी एमआरपीमा मात्र श्रम स्वीकृति दिने निर्णय लिइएको उनले बताए।
कतिपय विदेशी नागरिकले नेपाली पासपोर्ट प्रयोग गरेर अर्को देश गइरहेकाले एमआरपीमा मात्र श्रम स्वीकृति दिँदा यो अभ्यास पनि नियन्त्रण हुने बताए। 'विदेशका रोजगारदाता र नेपाली म्यानपावर कम्पनीले नक्कली कागजात पेस गरेर श्रम स्वीकृति लिइरहेको बेला एमआरपीले त्यो पनि घटाउन मद्दत गर्छ। त्यसैले कामदारको हकमा अलि छिट्टै लागू गर्न खोजेका हौं,' पुस्करले भने।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बाटाजुले नयाँ व्यवस्थाले कामदार र व्यवसायी दुवैलाई फाइदा हुने बताए। तर, अलि चाँडै कार्यान्वयन गर्न खोजिएको उनको गुनासो छ। '२०१५ नोभेम्भरसम्म म्याद भएकोले आगामी जनवरीदेखि कडाइ गर्दा पनि हुन्थ्यो। कम्तीमा ६ महिनाको समय दिएको भए व्यवसायीसँग रहेका हस्तलिखित राहदानीमा काम गर्न सजिलो हुन्थ्यो,' उनले भने। 
भिसा लगाएर जान ३ महिनाभन्दा बढी लाग्ने र विभागले समय पनि ३ महिनाकै दिएकाले केही समस्या आउने उनले बताए। 
अहिले पनि दैनिक ४ सय ५० को हाराहारीमा हस्तलिखित राहदानी आउने गरेको व्यवसायी बताउँछन्। व्यवसायीले हस्तलिखित राहदानी बोकेर आउने कामदारलाई नयाँ बनाउँदा फाइदा हुने सम्झाएर पठाउने गरेको बाटाजुले बताए।
विदेशस्थित नेपाली दूतावासले पनि एमआरपी नभएका नागरिकलाई छिटोभन्दा छिटो बनाउन आग्रह गरिरहेका छन्। राहदानीमा २०१५ पछिसम्मको म्याद भए पनि त्यो प्रयोग गर्न नसकिने भन्दै अनिवार्य एमआरपी बनाउन आग्रह गरिएको हो।

 Published on: 20 February 2014 | Nagarik

Back to list

;