s

जेठ १९ र २० गते जनकपुरमा 'श्रमाधान रोजगार मेला' हुँदै

जनकपुरमा श्रमाधान रोजगार मेला जेठ १९ र २० गते गरी दुई दिन हुने भएको छ।

मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछन्।

सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको यो मेलाको सहआयोजक नेपाल उद्योग परिसंघ हो।

मधेस प्रदेशमा हुने मेलाको जानकारी दिन बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

त्यस्तै, मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

'मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ,' उनले भने।

मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले उल्लेख गरे।

सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे।

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए।

यो मेलामा सहभागिताका लागि ३५ स्टल राख्ने बताए। ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी गराए।
मेला भव्य र सफल बनाउन लागि सबै सरोकारवालाहरूलाई आग्रह गरे।

नेपाल उद्योग परिसंघका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उद्देश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए।

'हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ। त्यो भिडभाडलाई कसरी कम गर्ने। आज नेपालको उद्योग, कलकारखाना, कृषि क्षेत्र पनि अवसर बढ्दै गएको छ। हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौं। हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौं। तर समस्या भनेको आवश्यक ज्ञान सीपको अभाव छ,' उनले भने।

श्रमबजारको आवश्यकता अनुसार दक्ष जनशक्ति नभएको औंल्याउँदै यो मेलाले आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मेला आज (बिहीबार) गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले उद्घाटन गरेसँगै सुरू भइसकेको छ।

यो मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ। यो मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्नेछ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ। साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल राखिनेछ।

मेला कोशी प्रदेशको विराटनगरमा बिहीबारदेखि सुरू भएर र १८ गतेसम्म चल्नेछ।

मधेश प्रदेशको जनकपुमा १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ।

लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

Published on: 31 May 2024 | Setopati

Link

Back to list

;