s

जरिवाना तिर्न नसक्दा साउदी जेलमा

शिव उप्रेती 

८० लाख रुपैयाँ जरिवाना तिर्न नसक्दा गोरखाका एक युवा पाँच महिनादेखि साउदी अरबको जेलमा छन्। भीमसेन गाउँपालिका-७ बोर्लाङ, सातबीसेका कुमार राना साउदी अरबको अफिफ जेलमा रहेको उनका साथी विनोद श्रेष्ठले जानकारी दिएका हुन्। मगरले चलाएको गाडीले साउदी नागरिक खलिद बिन फाहद बिन सदरलाई घाइते बनाएको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। साउदी अदालतले २ लाख ९४ हजार साउदी रियल (करिब ८० लाख नेपाली रुपैयाँ) तिर्नुपर्ने फैसला गरेपछि उनी साउदी काराबासमा परेका हुन्।

आर्थिक अवस्था कमजोर भएर पैसा कमाउन साउदी गएको आफूले ८० लाख रुपैयाँ तिर्न नसक्ने भन्दै रानामगरले आफूलाई नेपाल फर्काउन सबैसँग अपिल गरेका छन्। घटनालगत्तै सामान्य चोटपटक लागेको भन्दै प्रहरीले चार दिनपछि रिहा गरेको थियो। घाइते साउदी नागरिक बिन सदरले साउदी अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि अदालतले त्यस्तो फैसला गरेको थियो।
 
सवारीचालक अनुमतिपत्र र सवारी साधनको कागजपत्र नभएकाले साउदी अदालतले उनलाई दोषी ठहर्‍याई घाइतेको क्षतिपूर्तिबापत सोे फैसला गरेको बताइएको छ। ४० वर्षीय रानामगर ६ वर्षदेखि रोजगारीका लागि साउदीमा छन्। उनी द गोर्खाज् म्यानपावर कम्पनीबाट साउदी पुगेका थिए। रानामगर अफिफस्थित खालिद सुल्तान अल हाजित कम्पनीमा काम गर्दै आएका थिए। जेलबाट उनले सबैको साथ सहयोगका लागि याचना गरेका छन्।
 
साउदीस्थित नेपाली दूतावास र काम गरेको कम्पनी कसैले पनि सहयोग नगरेको उनको गुनासो छ। सार्वजनिक गरिएको भिडियोमा उनले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पनि उद्धार गरिदिन अनुरोध गरेका छन्। ‘पैसा कमाएर आफ्नो परिवारका लागि केही गरौंला भनेर सात समुद्रपारि आएको थिएँ तर जेलमा फस्नुपर्‍यो’, उनले भिडियोमा भनेका छन्, ‘मेरो क्षतिपूर्ति रकम घटाइदिन पहल गरिदिनुस् अथवा रिहाइ गरी नेपाल फर्काइदिनुस्।’
 
थुनामा परेपछि आफन्तसँग समेत उनले संवाद गर्न पाएका छैनन्। ‘पहिले सानो जेलमा हुँदा त बोल्न पाइन्थ्यो’, उनकी बहिनी बिनीता भुजेल भन्छिन्, ‘अहिले ठूलो जेलमा परेपछि बोल्न पनि पाइएको छैन।’ घरमा भएभरको जायजेथा बेच्दा पनि ८० लाख रुपैयाँ नपुग्ने भन्दै आफन्त चिन्तित भएका छन्। ‘बाउबाजेको जायजेथा बेच्दा पनि ८० लाख पुग्दैन, कहाँबाट ल्याउनु ? ’, बिनीता भन्छिन्, ‘जसोतसो बालबच्चा पनि पाल्नै पर्‍यो। हामी त अहिले बिलखबन्धनमा परेका छौं।’ रानामगरका बाबु-आमा, श्रीमतीसहित २ छोरी, एक छोरा गोरखाको बोर्लाङमा बस्दै आएका छन्।
 
Published on: 3 March 2018 | Annapurna Post

Back to list

;