s

जारी भयो 'केयरगिभर'मा नेपाली इजरायल पठाउने निर्देशिका, यस्तो छ छनोट प्रक्रिया

इजरायलमा 'केयरगिभर' कामका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी भएको छ। नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको हो।

 

invotech

निर्देशिका जारी भएसँगै नेपाली श्रमिकहरू केयरगिभर कामका लागि इजरायल जान पाउने बाटो खुलेको छ।

 

'इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८' मा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबोहोरे श्रमिक आफैंले बेहोर्नुपर्ने छ।

 

'नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनि सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम र रोजगारदाताले नबेहोर्ने अवस्थामा सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ,' निर्देशिकामा भनिएको छ।

 

school

यस्ता छन् केयरगिभर कामका लागि योग्यताः

 

उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।

उचाइ कम्तीमा १ दशमलव ५ मिटर (४ दशमलव ९ फिट) र तौल ४५ केजी।

शैक्षिक योग्यता कम्तीमा दस कक्षा उत्तिर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त तालिम लिएको।

अंग्रेजी भाषामा दक्ष।

शारीरिक तथा मानसिक रूपमा स्वस्थ।

असल चरित्र भएको।

छनोट प्रक्रिया यस्तो छः

 

माथि उल्लेखित योग्यता पूरा गरेका नेपाली नागरिकले इजरायलमा केयरगिभर काममा जान आवेदन दिन सक्नेछन्। योग्यता पूरा भएका आवेदकहरूले अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजातसहित उपस्थित हुन वैदेशिक रोजगार विभागले सम्बन्धित व्यक्तिहरूलाई मिति, समय र स्थान तोकी उपस्थितिका लागि सूचना जारी गर्नेछ। सोही सूचनामा तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ।

 

त्यसपछि आवेदनकको उचाइ र तौल परीक्षण गरी सोको विवरण सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विभागले प्रविष्ट गरिदिनेछ। उचाइ र तौला परीक्षण मापदण्ड पूरा भएकाहरूले अंग्रेजी भाषा परीक्षणमा सहभागी हुन पाउँछन्। उचाइ र तौल नै नपुग्नेहरूको नाम सूचीबाट हट्नेछ।

 

ncell in

अंग्रेजी भाषा परीक्षण तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।

 

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसार भन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्ने मन्त्रालयले जनाएको छ।

 

सो नामावली विभागले इजरायलको पिआइबिएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ। र पिआइबिएले छानेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ।

 

इजरायलस्थित रोजगारदाताले सम्झौताको ३ प्रतिमा हस्ताक्षर गरी रोजगारीका लागि छनोट भएका व्यक्तिको हस्ताक्षरका लागि विभागमा पठाउने व्यवस्था छ। रोजगार सम्झौताको प्रति प्राप्त भएपछि विभागले छनोट भएका सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई बाँकी एक प्रति अभिलेखका लागि वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछ।

यसरी सम्झौतामा हस्ताक्षर गरिसकेका व्यक्तिहरू रोजगारीका लागि इजरायल जान पाउँछन्।

कस्ता व्यक्ति जान पाउँदैनन्?

- विगतमा इजरायल गई काम गरेका। 

- आमा, बुबा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका। 

  • लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा लागेका।

Published on: 4 May 2021 | Setopati

Link

Back to list

;