s

जापानमा नेपाली श्रमिक लैजान प्राविधिक वार्ता चाँडै

नेपालका सीपयुक्त दक्ष युवाका लागि जापानमा रोजगारीको अवसर प्राप्त भएको छ । जापान सरकारले नेपालीलगायतका श्रमिकलाई अनुमति दिने निर्णय गरेको हो । 
 
केहीअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानका समकक्षीको भेटका क्रममा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेअनुरूप नै जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । 
 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जापान सरकारले मङ्गलबार गरेको निर्णय अनुसार नेपालसहित विभिन्न नौवटा देशबाट पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिए पनि नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको जानकारी दिनुभयो । उहाँले चाँडै (आउँदो जनावरीभित्र) जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली श्रमिकलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अगाडि बढ्ने र सोही समयमा सङ्ख्याको समेत टुङ्गो लाग्ने जानकारी दिनुभयो । 
 
सचिव दाहालले जापानले नेपाली श्रमिकलाई पनि लिने निर्णय गरेसँगै नेपाली श्रमिकलाई बढीभन्दा बढी अवसर दिने गृहकार्यमा जुटेको बताउनुभयो । 
 
जापान मन्त्रिपरिषद्को मङ्गलबार बैठकले विदेशी श्रमिक सम्बन्धी १२६ बुँदे देशका श्रमिक लैजाने निर्णय गर्दै नेपाली आप्रवासी श्रमिकको सहजीकरणको निम्ति नेपाली भाषा जानेको व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने जनाइएको छ । 
 
जापान कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इण्डोनेसिया लगायतका नौ देशका दक्ष नागरिकलाई अवसर दिने बताइएको छ । 
 
जापान सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विदेशी श्रमिकले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । जसअन्तर्गत नर्सिङ, केयरगिभर, होटल, निर्माण, कृषिलगायतका क्षेत्रमा विदेशी श्रमिक माग भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । 
 
जापानले आउँदो चैततिर नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षण लिने योजना अगाडि सारेको छ । जापानको नयाँ नीति अनुसार १८ वर्षभन्दा माथिका श्रमिक रोजगारीका लागि योग्य हुने छन् । अहिले नेपाली श्रमिकले जापानमा प्रशिक्षकका हैसियतमा मात्र काम गर्दैआएकोमा अब श्रमिक भएर गई काम गर्न पाउने छन् । नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भइसकेकोले पनि अब श्रमिक लिँदा भने छुट्टै सम्झौता गरेर नेपाली लैजाने सचिव दाहालको भनाइ छ । उहाँले कस्तो मोडेलमा जापानले श्रमिक लिदैछ भन्ने विषयमा टुङ्गो नलागेकाले अहिले नै यहीँ मोडेल भन्न नसकिने बताउनुभयो ।
 
Published: 27 December 2018 | Gorkhapatra

Back to list

;