s

जापानी राजदूतले श्रममन्त्रीलाई भने– युवालाई देशभित्रै रोजगारी दिँदा आर्थिक विकासमा टेवा पुग्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता युताकाबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो।

छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए।

जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए।

त्यसैले विगतमा नेपाल र जापानबीच श्रमिक लैजाने सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइ रहेको मन्त्री अर्यालले बताए।

त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोगसमेत गरी जापानी दूतावाससँगको समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली श्रमिकहरू जापान पठाउने चाहेको उनले बताए।

मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरू उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता भएको पनि उल्लेख गरे।

यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपालीबीच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए।

स्वदेशमा नै रोजगारीका अवसरहरू उपलब्ध गराउने र त्यस्ता अवसर पर्याप्त उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकुल मौसम, एवम् काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरू रोजगारीको लागि जाउन् भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए।

त्यस्तै, भेटमा जापानी राजदूत किकुताले नेपाल जापान श्रम सम्बन्धका विविध विषयमा यसरी खुला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिए। उक्त विषयमा थप सहजीकरण गर्न जापानी दूतावास तयार रहेको पनि बताए।

दीर्घकालमा नेपाली युवालाई नेपालमा नै रोजगारीका अवसर उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए।

वैदेशिक रोजगारका अवसरहरू अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको पनि बताए।

जापान सरकारले जापानबाट फर्किएका नेपालीहरूले नेपालभित्र नै रोजगारी एवम् उद्यमशीलता प्रवर्द्धन गर्न विशेष कार्यक्रम पनि सञ्चालन गरेको बताए।

Published on: 30 May 2024 | Setopati

Link

Back to list

;