s

जापानी नागरिकसरह सेवा-सुविधा हुने गरी जापानमा रोजगारी खुल्यो

गाेपाल साउद

कस्ता कामदार जापान जान पाउँछन् ? 

नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । योसँगै नेपाल जापानसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर गर्ने दोस्रो मुलुक बनेको छ । जापानले ५ चैतमा पहिलो मुलुकका रूपमा फिलिपिन्ससँग एमओसीमा हस्ताक्षर गरेको थियो ।

 
१ अप्रिलदेखि कार्यान्वयनमा आउने समझदारीपत्रअनुसार निश्चित सीपयुक्त नेपाली कामदार कोरियाको इपिएस प्रणालीजस्तै सरकारी स्तरबाटै रोजगारीका लागि जापान जान पाउनेछन् । म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारमाथि चरम ठगी हुन थालेपछि सरकारले जापानसमक्ष सरकारी संयन्त्रबाटै पठाउने अडान राखेको थियो । 
 
समझदारीपत्र कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधिहरू रहने संयुक्त समितिको व्यवस्था गरिएको छ । सो समितिले निश्चित सीपयुक्त नेपाली कामदारको भर्ना, रोजगारी र स्वदेश फिर्तीलगायतमा अपनाउने विधि तथा प्रक्रियाको टुंगो लगाउनेछ । जापानले आउँदो पाँच वर्ष नेपालसहित विभिन्न ९ वटा मुलुकबाट १४ औद्योगिक क्षेत्रमा करिब ४ लाख विदेशी कामदार भित्र्याउने नीति तय गरेको छ । कुन क्षेत्रमा कति संख्यामा नेपाली कामदार लैजाने भन्ने विषय निश्चित हुन बाँकी छ । 
 
जापान रोजगारीका लागि सरकारको छुट्टै संयन्त्र
 
जापान जाने कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्नेछ । समझदारीपत्रअनुसार जापानी पक्षले नै भाषा तथा सीप परीक्षण गर्ने संयन्त्रको टुंगो लगाउनेछ । उक्त कार्यमा सहजीकरणका लागि नेपालको तर्फबाट वैदेशिक रोजगार विभागअन्तर्गत छुट्टै एकाइ स्थापना गरिनेछ । भाषा तथा सीप परीक्षण वर्षमा बढीमा ६ पटकसम्म सञ्चालन गर्न सकिने बताइएको छ ।
 
दक्षीण एसियामा नेपाली कामदार मात्रै लैजाने
 
जापानले दक्षिण एसियामा नेपालबाट मात्रै विदेशी कामदार लैजाने नीति बनाएको छ । जापानले नेपालसहित भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया र मंगोलिया गरी नौ मुलुकबाट कामदार लैजाने घोषणा गरेको छ । सुरुमा दक्षिण एसियाबाट कुनै पनि मुलुक नपरेको र एउटा मुलुक छनोट गर्दा नेपाल छानिएको राजदूत साइगोको भनाइ छ । ‘दुई देशबीचको मैत्री सम्बन्ध र नेपालीहरूको इमानदारिता र  जापानी समाजमा सजिलै घुलमिल हुन सक्ने स्वभावका कारणले पनि हामीले नेपाली कामदार रोजेका हौँ,’ उनले भने । 
 
कस्ता कामदार जापान जान पाउँछन् ? 
 
जापानले दुई किसिमको निश्चित सीपयुक्त कामदारलाई लैजाने नीति बनाएको छ । जसअनुसार पहिलो वर्गमा सीप तथा सम्बन्धित कार्यक्षेत्रको अनुभवप्राप्त श्रमिकहरू रहनेछन् । यस्ता श्रमिकहरूले बढीमा ५ वर्ष जापानमा काम गर्न सक्नेछन् । विशिष्ट तथा उच्च तहको सीपयुक्त कामदारलाई दोस्रो वर्गमा राखिएको छ । यसअनुसार डाक्टर, इन्जिनियरजस्ता उच्च सीपयुक्त श्रमिकहरू पाँच वर्षभन्दा बढी समय जापानमा काम गर्न पाउनेछन् । उनीहरूले आफ्ना परिवारका सदस्यसमेत लैजान सक्ने व्यवस्था गरिएको छ । 
 
सेवासुविधा जापानीसरह
 
समझदारीअनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिकसरहको सेवासुविधा एवं सर्तमा काम गर्न पाउनेछन् । उनीहरूलाई जापानी नागरिकसरह समान व्यवहारको सुनिश्चितता गरिनेछ । यसअनुसार नेपाली श्रमिकले जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्नेसरह वा सोभन्दा बढी पारिश्रमिक पाउनेछन् । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापनसम्बन्धी अभिमुखीकरण, भाषा सहायता, बसाइ, कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो र काम परिवर्तनसम्बन्धी परामर्श तथा सहयोग उपलब्ध गराइनेछ । 
 
रोजगारदाता परिवर्तनको सुविधा
 
वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकले आफू गएको क्षेत्रमै रोजगारदाता परिवर्तन गर्न पाउनेछन् । त्यसका लागि अनुमति लिनुपर्ने र त्यसका लागि जापान सरकारले सञ्चालन गर्ने सार्वजनिक रोजगार सेवा केन्द्र (हेलो वर्क)ले सहयोग तथा समन्वय गर्नेछ । 
 
लागत कति हुन्छ ?
 
रोजगारीका लागि जापान जाने कामदारको लागत भने तय हुन बाँकी छ । निमित्त सचिव घिमिरेले संयुक्त समितिले नै लागत तथा सेवा शुल्कको विषय टुंग्याउने बताए । ‘दुई मुलुकबीचको समझदारीविना कामदारबाट कुनै पनि शुल्क नलिने गरी समझदारी भएको छ,’ उनले भने ।
 
यस्ता छन्, रोजगारीका १४ क्षेत्र
 
-नर्सिङ केयर तथा केयर गिभर
-बिल्डिङ सरसफाइ व्यवस्थापन
-मसिनरी पार्टस् तथा उपकरण उद्योग
-औद्योगिक उपकरण उद्योग
-इलेक्ट्रिक, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि
-निर्माण उद्योग
-पानीजहाज निर्माण तथा पानीजहाजसम्बन्धी मेसिनरी उद्योग
-सवारीसाधन मर्मत–सम्भार
-हवाई उद्योग
-होटेल तथा रेस्टुरेन्ट उद्योग
-कृषि
-माछा मार्ने तथा मत्स्यपालन उद्योग
-खाद्य तथा पेय उत्पादन
-खाद्य सेवा उद्योग तथा साधारण रेस्टुरेन्ट
 
जापान जाने कामदार ठगीमा पर्दैनन् 
गोकर्ण विष्ट
श्रम, रोजगार  तथा सामाजिक सुरक्षामन्त्री
 
वैदेशिक रोजगारीमा जाने नेपाली कामदार सुरक्षित, मर्यादित र पारदर्शी रूपमा जान सकून् भन्नेमा हामी निरन्तर प्रयत्नशील छौँ । ठगीमा नपर्ने गरी सुरक्षित रूपमा सरकारीस्तरमै कामदार जापान पठाउने सुनिश्चित भएको छ । जापान नेपाली युवाका लागि आकर्षक र रुचिपूर्ण गन्तव्य मुलुक हो । नौ देशमा दक्षिण एसियाबाट एक मात्र मुलुकका रूपमा नेपाललाई छनोट गरेकामा जापानलाई धन्यवाद दिन चाहन्छु ।
 
Published on: 26 March 2019 । Naya Patrika

Back to list

;