s

जापानी जेलबाट रिहा भएका मैनालीको अन्तिम फैसला तोकियो

बलात्कारपछि जापानी महिलाको हत्या गरेको अभियोगमा १५ वर्ष बन्दी जीवन बिताई चार महिनाअघि नेपाल फर्केका गोविन्दप्रसाद मैनालीको मुद्दाको टोकियो उच्च न्यायालयले कात्तिक २२ मा अन्तिम फैसला सुनाउने भएको छ।

इलाम नगरपालिका-४ का गोविन्द निर्दोष रहेको भन्दै सरकारी वकिलले उनीमाथि लागेका सबै मुद्दा फिर्ता लिन निवेदन दिएपछि न्यायालयले फैसलाको मिति तोकेको हो।

'भाइ (गोविन्द) माथि लागेका सबै मुद्दा सरकारी वकिलले फिर्ता लिएका छन्,' गोविन्दका दाजु इन्द्रप्रसादले भने, 'मुद्दा फिर्ता लिएसँगै गोविन्द निर्दोष देखिएका छन्। न्यायालयले औपचारिक घोषणा गर्न मात्र बाँकी छ।'

महिलाको हत्या भएको स्थानमा भेटिएका प्रमाणको नयाँ डिएनए परीक्षण गर्दा गोविन्दसँग नमिलेपछि सरकारी वकिलले सोमबार सबै मुद्दा फिर्ता लिने निवेदन अदालतमा दर्ता गराएका थिए। मुद्दा फिर्ताको निवेदन दर्ता भएलगत्तै अदालतले अन्तिम फैसलाको मिति तोकेको थियो। गोविन्दमाथि लगाइएका सबै मुद्दा फिर्ता लिएपछि सरकारी वकिलले एक विज्ञप्ति जारी गर्दै अनाहकमा उनलाई दुःख पुगेकोमा क्षमा मागेका थिए। अन्तिम फैसला आएपछि अनाहकमा १५ वर्ष जेल जीवन बिताउनुपरेकोमा क्षतिपूर्तिबारे आवाज उठाइने इन्द्रप्रसादले जनाए। 'अन्तिम फैसला आएपछि क्षतिपूर्तिबारे के गर्ने भन्ने छलफल हुन्छ। क्षतिपूर्तिबारे जापानको कानुनले गरेको व्यवस्थाअनुसार अध्ययन गरेर निचोडमा पुग्छौं,' उनले भने।

सन् १९९७ को मार्चमा ३९ वर्षीय यासुको वाटानाबीको लुटपाट र बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले टोकियो जिल्ला अदालतमा गोविन्दविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरीले सुरुमा उनलाई 'ओभर स्टे' गरेको र त्यसपछि हत्या आरोप लगाएको थियो। लुटपाट, बलात्कार र हत्याको आरोप लागेका गोविन्दलाई जिल्ला अदालतले सन् २००० अप्रिल १४ मा निर्दोष भएको फैसला सुनाएको थियो।

निर्दोष ठहर गरेपछि नेपाल फर्कने क्रममा गोविन्दलाई तीनै महिलाको हत्या आरोपमा अध्यागमन कार्यालयबाट प्रहरीले पुनःपक्राउ गरेको थियो। त्यसपछि सरकारी वकिलले टोकियो उच्च न्यायालयमा गोविन्दविरुद्ध मुद्दा दायर गरेका थिए। उच्च न्यायालयले सन् २००० डिसेम्बर २२ मा जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरी आजीवन काराबास सजाय सुनाएको थियो।

घटनास्थलमा भेटिएका प्रमाणको डिएनए जाँच नगरी फैसला गरिएको भन्दै गोविन्दका वकिलले पटक-पटक डिएनए परीक्षण गर्न अनुरोध गरेपछि गत वर्ष न्यायालयले पुनरावलोकन आवेदन बुझेको थियो।

४२ वटा प्रमाणको डिएनए परिक्षणपछि सरकारी वकिलले आफ्नो धारणा बुझाएपछि न्यायालयले गत जेठ अन्तिम साता मुद्दा पुनरावलोकन गर्ने निर्णय सुनाउँदै उनलाई जेलमुक्त गर्न आदेश दिएको थियो। अदालतको सुनुवाईलगत्तै सरकारी वकिलले उक्त निर्णय बदर गर्न दिएको रिट निवेदन पनि टोकियो उच्च न्यायालयले खारेज गरिदिएको थियो।

रिहा भएको केही दिनपछि जापानले उनलाई नेपाल डिपोर्ट (फिर्ता) गरेको थियो। गोविन्दको मुद्दा पुनरावलोकन गर्ने फैसलाविरुद्ध परेको रिट टोकियो उच्च न्यायालयले गत साउनमा खारेज गरेको थियो। त्यसपछि सरकारी वकिलले सोमबार मुद्दा फिर्ता लिएका थिए। न्यायालयले कात्तिक २२ मा स्थानीय समयअनुसार बिहान साढे १० बजे अन्तिम फैसला सुनाउने जनाएको छ।

दोस्रो विश्वयुद्धपछि जापानमा आजीवन काराबास सुनाएकामध्ये पुनरावलोकन भएको गोविन्दको आठौं मुद्दा हो। यसअघि पुनरावलोकन भएका सबै मुद्दामा पीडित पक्षले जितेका छन्। जापनमा सजाय सुनाइ सकेपछि मुद्दा पुनरावलोकन हुने गोविन्द पहिलो विदेशी हुन्।

घटनाको पुनः अनुसन्धान हुने

गोविन्दप्रसाद मैनालीमाथि लागेका सबै मुद्दा फिर्ता लिने सरकारी वकिलको निर्णयसँगै जापानी महिला यासुको वाटानाबी हत्याको पुनः अनुसन्धान गरिने भएको छ। घटनास्थलमा भेटिएका ४२ वटा प्रमाणको नयाँ डिएनए परीक्षण गर्दा दोषी भनिएका गोविन्द निर्दोष देखिएपछि टोकियो महानगरीय प्रहरी विभागले पुनःअनुसन्धान गर्ने भएको हो।

जापानी समाचार संस्था क्योदोका अनुसार डिएनए परीक्षण नतिजा गोविन्दसँग नमिली दोस्रो एकै व्यक्तिसँग मिलेपछि प्रहरी घटनाको पुनः अनुसन्धान गर्न जुटेको हो। प्रमाणको नयाँ डिएनए परीक्षण नतिजाका आधारमा पुनः अनुसन्धान थालिने जनाएको छ। मृतक महिलाको हातको औलाका नङमा भेटिएका महत्वपूर्ण प्रमाणको डिएनए परीक्षणबाट आएको नयाँ नतिजाले अनुसन्धान गर्न सघाउने क्योदोले उल्लेख गरेको छ। सन् २०१० मा संशोधन गरिएको 'क्रिमिनल ल' का अनुसार घटना पुनः अनुसन्धान गर्न सकिनेछ।

Published on: 30 October 2012 | Nagarik

Back to list

;