s

जापानिज भाषा परीक्षा तयारी अन्तिम चरणमा

तुलसी सुवेदी

कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षामा सामेल हुने विद्यार्थीले अनलाइनबाट फारम भर्नु पर्नेछ। भाषा सञ्चालन गर्दै आएको जापान फाउन्डेसनको कार्यालय नभएकाले नेपालस्थित जापानी राजदूतावासबाट टोकन लिनुपर्छ। टोकन पश्चातमात्रै अनलाइनबाट फारम भर्न पाइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा परीक्षाका लागि जापान फाउन्डेसनले छिट्टै सूचना प्रकाशित गर्नेछ। वेवसाइटमा सूचना प्रकाशित भएपछि टोकन लिने र अनलाइनबाट फारम भर्न पाइन्छ। नर्सिङ केयरका लागि एन फो तहको परीक्षा उत्तीर्ण गर्नुपर्छ। सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने व्यवस्था छ।

जापनिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ। भाषामा सामेल हुन २५ सय, सीपमा एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ। छनोटमा परेका कामदारको भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ।

उपसचिव ढकालका अनुसार कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ। कम्प्युटरबाटै परीक्षा सञ्चालन हुने भएकाले परीक्षार्थीले तुरुन्तै आफ्नो नतिजा थाहा पाउन सक्छन्। उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने छन्। नर्सिङ केयरका लागि जापानले ६० हजार कामदार लैजाने तयारी गरेको छ। नेपालबाट कामदारको कोटा यकिन नभए पनि रोजगारदाताको मागका आधारमा कामदार जापान जान पाउनेछन्। भाषामा निपुण भएका र नर्सिङ क्षेत्रमा रुचि भएका व्यक्ति अरु कुनै योग्यता र तालिमको प्रमाणपत्र बिना नै जापान जान पाउनेछन्।

जापानले विभिन्न १४ क्षेत्रमा नौ मुलुकबाट कामदार लैजाने तयारी गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा विदेशी कामदार लैजान लागेको हो।

जापनिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ। जापानी भाषा र सीप परीक्षामा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान युनिट गठन गरिएको छ। युनिटले जापान रोजगारसँग सम्बन्धित आवश्यक गर्नेगरी युनिट गठन भएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए। जापानमा नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा तुलनात्मक रूपमा बढी अवसर पाइन्छ।

Published on: 2 September 2019 | Annapurna Post

Back to list

;