s

जापानबाट फर्केर च्याउ खेतीमा कमला

तम्घास, भदौ २७ गते । गुल्मीमा च्याउ खेती गर्नेमा रेसुङ्गा नगरपालिका–८ की कमला भलामीको नाम अग्रणी स्थानमा आउँछ । करिब तीन वर्ष जापान बस्नुभयो । कमाइ राम्रै थियो तर बचत भइरहेको थिएन । त्यसपछि उहाँ सन् २०११ मा गाउँ फर्केर अलि अलि बचत भएको रकमले आफ्नै उद्योग सुरु गर्नुभयो ।

घरमा गाईभैँसी, बाख्रा, बङ्गुरका साथै कुरिलो खेती पनि सुरु गर्नुभयो । अहिले गाईभैँसी र बङ्गुर सबै हटाएर च्याउ खेतीमा ध्यान दिनुभएको छ । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै हुनुहुन्छ । दुवै जनाको प्रयासले व्यवसाय फस्टाएको छ ।

उहाँले चार वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गरिरहनुभएको छ । भलामीले २०७६ सालमा रहरले घरकै सटरबाट च्याउ उत्पादन सुरु गर्नुभयो । अहिले मासिक ३० लाख रुपियाँ बराबरको कारोबार छ । खर्च कटाएर मासिक साढे तीन/चार लाख कमाउनुभएको छ । कमलाले पहिलो वर्ष कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टनेलबाट व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो । सटरको रहर हुँदै पहिलो व्यावसायिक टनेलबाट करिब ६० हजार नाफा भएपछि भलामीलाई च्याउ खेतीमा उत्साह थपियो । अहिले कमलाले ७० वटा टनेलमा च्याउ उत्पादन गर्नुहुन्छ । अहिले दैनिक सात सय किलो च्याउ उत्पादन गर्दै आउनुभएको छ ।

भलामीका अनुसार ७० लाखकै हाराहारीमा टनेल निर्माणमा खर्च भएको छ । उहाँले एक हजार बल झुन्ड्याउन मिल्ने टनेल बनाउनुभएको छ । जग्गाको भाडा पनि वार्षिक करिब अढाई लाख छ । मासिक २५/३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । इलामबाट आएका सात र छिमेकी जिल्लाबाट आएका ११ जनाले नियमित रोजगारी पाएका छन् ।

Published on: 12 September 2024 | Gorkhapatra

Link

Back to list

;