s

जापानबाट केयरगिभर माग

काठमाडौँ, पुस २१ गते । वैदेशिक रोजगारका लागि आकर्षण गन्तव्य मानिएको जापानामा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ । जापानले नेपालबाट नर्सिङ केयरगिभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ । नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो । भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउन्डेसनले यो जनवरी र मार्चमा गरी दुई हजार ३०० जनाका लागि भाषा परीक्षा सञ्चालन गर्ने छ ।

फाउन्डेसनका अनुसार जनवरीमा आवेदन दिएकामध्येबाट एक हजार र मार्चमा आवेदन आएकामध्येबाट एक हजार ३०० जनालाई चिठ्ठाको माध्यमबाट छनोट गरी दुई सिफ्टमा भाषा परीक्षा गरिने छ । फाउन्डेसनले केयरगिभरमा जाने इच्छुकसँग आवेदन माग गरेको छ । भाषा परीक्षा जनवरीको ७ र ८, १४ र १६, २१ र २३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३, ५, ९ र ११, १२, १५ र १९ तारिखमा पनि परीक्षा सञ्चालन गरिने छ । परीक्षाका लागि आवेदन शुल्क दुई हजार पाँच सय तोकिएको छ । परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ । यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखन शैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एन्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको फाउन्डेसनले जनाएको छ । जम्मा २५० पूर्णाङ्कको यस परीक्षामा २०० अङ्क ल्याए परीक्षार्थी उत्तीर्ण हुन सक्ने छन् ।
आवेदकको योग्यता

आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ ।

यसअघि पहिलो चरणमा अक्टोबरमा भाषा परीक्षा लिइएको थियो, जसमा १३ हजार जनाले आवेदन दिएका थिए । तीमध्ये फाउन्डेसनले गोला प्रथाबाट छनोट गरेका एक हजार जनालाई मात्र भाषा र सीप परीक्षामा समावेश गरेको थियो तर त्यतिबेला लिइएको पहिलो चरणको परीक्षामा सबै असफल भएका थिए ।

कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिक जापान लैजाने नीति लिइएको छ । दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ । आवेदन गरेकामध्ये गोला प्रथाबाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ । यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाइसकेको छ । ‘लक्की ड्र’ बाट श्रमिक छान्दा योग्य आवेदक नपर्न सक्ने भन्दै लक्की ड्र प्रणालीमा सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ ।

Published on: 6 January 2020 | Gorkhapatra

Link

Back to list

;