s

जापान रोजगार अनिश्चित

तुलसी सुवेदी

आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो।

स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो।
 
जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ। भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ।
 
नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो। समझदारीपश्चात दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापान रोजगारसम्बन्धी थप प्रक्रिया अघि नबढेको बताए। जापानबाटै भाषा र सीपको परीक्षण हुने भनिए पनि नटुंगिएकाले केही समय ढिलाइ भएको उनको बुझाइ छ। ‘जापान रोजगारी ईपीएसजस्तै मोडेलमा अघि बढ्छ’, उनले भने, ‘उताबाट टुंगेपछि वैदेशिक रोजगार विभागमा जापान युनिट स्थापना हुन्छ।’
 
जापान रोजगारीका लागि जापानका धेरै निजी कम्पनीले सहजीकरण गर्न चासो व्यक्त गरेका छन्। भाषा परीक्षा र सीप परीक्षणसँगै उनीहरूले रोजगारदाता र कामदारको म्याचिङ गराउन चाहे पनि जापान नै अन्योल हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। जापानले भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि जापान एसोसिएसन गठन गर्ने तयारी गरेको छ।
 
इन्टरनेसनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसन (आईएचएन)का अध्यक्ष यासिहारु कोमियामाले केही समयअघि नेपाल आएका बेला संयन्त्र निर्माण भइनसकेकाले तत्काल नेपालबाट कामदार जान नसक्ने बताएका थिए। भाषा परीक्षा लिन नेपालमा अझै कोही तयार नभएकाले जापान रोजगारी पर धकेलिएको उनको भनाइ थियो।
 
जापानी रोजगारी चर्चासँगै देशभर लाखौं विद्यार्थीले भाषा अध्ययन गरिरहेका छन्। रोजगारी निश्चित नहुँदा विद्यार्थीको संख्या घट्दै गएको जापानिज भाषा इनिस्च्यिुटले बताउन थालेका छन्। विश्वभाषा क्याम्पसका जापानिज तथा चाइनिज भाषा शिक्षक हरिहर कार्कीले शिक्षकको क्षमता थाहा पाएर मात्रै पढ्न भाषा इन्स्टिच्युट जानुपर्ने सुझाउँछन्। ‘होर्डिङ बोर्ड हेरेर मात्र पढ्न गइहाल्न हुँदैन’, उनले भने, ‘राम्रोसँग बुझेरमात्र इन्स्टिच्युट छनोट गर्नुपर्छ।’ अधिकतम तह पास गरेको शिक्षक छनोट गर्न उनले सुझाए। भाषामा निपुर्णता र सीपमा दक्षता भएकाले ढिलोेचाँडो अवसर पाउनेछन्।
 
जपानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै प्राथमिकता दिने योजना अघि सारेको छ। उनीहरूलाई वर्किङमा सिफ्ट गरेर अवसर दिने जापानको योजना छ। जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ।
 
नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना छ। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। एन फोर तहको अनिवार्य भाषा पास गर्नुपर्छ। नर्सिङका लागि एन थ्री तहको भाषा चाहिन्छ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन्। जापानमा मासिक दुई लाखभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ।
 
Published on: 18 May 2019 | Annapurna

Back to list

;