s

जापान पठाउने बहानामा २१९ जनाबाट ३ करोड ठगी, दुईजना पक्राउ

काठमाडौं : जापान पठाइदिने भन्दै २१९ जनाबाट करिब ३ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वनजिक गरेको हो।

प्रहरीका अनुसार उनीहरूले आफ्नो नक्कली नाम बताइ अरुका नाममा कम्पनी खोल्न लगाइ ठगी गरेको खुलेको छ। पाण्डेलाई अनामनगरबाट र श्रेष्ठलाई कागेश्वरी मनोहराको विष्ट गाउँबाट पक्राउ गरिएको हो।

नियोनी एजुकेसन प्रालिबाट जापान जानको लागि अवसर रहेको विज्ञापनका आधारमा सम्पर्कमा पुगेका युवाहरूलाई उनीहरुले खातामा पैसा हाल्न लगाएका थिए । जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी श्रेष्ठले र पाण्डेले विदेश जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

अनुसन्धानका क्रममा दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीले जनाएको छ । त्यस्तै वास्तविक नारायण बहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हालसम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 6 May 2024 | Annapurna Post

Link

Back to list

;