s

जापान नखुल्दै ठगी धन्दा

तुलसी सुवेदी

काठमाडौं : जापान रोजगारीको नाममा ठगी धन्दा मौलाएको छ। जापान रोजगार सुरु नहुँदै सयौं युवा दलालीबाट ठगिएका छन्।

वैदेशिक रोजगार विभागको पछिल्लो दुई वर्षको तथ्यांकअनुसार करिब सय जनाको ६ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ। नेपाल र जापानबीच २०७५ चैत ११ गते स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) अन्तर्गत नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी भएसँगै म्यानपावर र दलालले ठगी धन्दा मच्चाएका हुन्।

विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जापान रोजगारीका नाममा एक करोड ५६ लाख ठगी भएको भन्दै २६ वटा उजुरी परेको छ। त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ४ करोड ३० लाख ठगी भएको भन्दै ५० भन्दा बढी उजुरी परेको छ।

जापानले करिब दुई वर्षयता एसएसडब्लू भिसामा नेपाली कामदार लैजाने तयारी गरेको छ। सरकारी संयन्त्र (जीटूजी) बाट पठाइने समझदारी भए पनि दलाल र म्यानपावरले युवालाई प्रलोभन पारी ठगी धन्दा चलाउँदै आएका छन्।

जापान रोजगारीका नाममा म्यानपावर तथा दलालले लाखौं रकम असुल्ने तर जापान नपठाउने गरेको पीडित बताउँछन्। डकुमेन्ट चार्जको नाममा लाखौं रकम असुल्ने गरे पनि एक वर्षसम्म भुलाउने गरेको पीडितको गुनासो छ। त्यसपछि पनि जापान नपठाउने र पैसा पनि फिर्ता नगर्ने क्रम बढ्दै गएको पीडितहरू गुनासो गर्छन्।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले कतिपय पीडितलाई उजुरी कहाँ गर्ने भन्ने जानकारी नभएको बताउँछन्।

राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनअनुसार २७ प्रतिशत उजुरी मात्रै फरफारक भएको पाइएको थियो। आयोगले १६ हजार उजुरीको अध्ययन गर्दा २७ प्रतिशत मात्रै उजुरी फरफारक भएको भेटिएको अनुसन्धानकर्ता नेपालले बताए। फरफारक भएको केसको पनि कार्यान्वयनमा समस्या छ।

अनुसन्धानकर्ता नेपालका अनुसार कानुनबमोजिम दण्ड र जरिवाना नहुँदा शोषण र मानव तस्कर बढेको छ।

जापान रोजगारीको चर्चा सुरु भएसँगै केही म्यानपावर व्यवसायीले पत्रिकामै विज्ञापन गरी राहदानी संकलन र पैसा असुल्न थालेका थिए। विभागले जापान रोजगारी प्रक्रियामै रहेकाले कसैलाई पनि विश्वास गरी राहदानी दिन र पैसा बुझाउन नहुनेमा सचेत गराएको थियो।

जापानको अध्यागमन विभागका अनुसार हालसम्म २८ हजार नेपाली जापान पुगेका छन्। प्रशिक्षार्थी, वर्किङ, विद्यार्थीलगायत विभिन्न भिसामा नेपाली जापान जाने गर्छन्। जापानले २०६६ सालदेखि नै जिट्को अन्तर्गत नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ। तर, यसबाट जाने कामदारको संख्याभन्दा ठगिने नेपाली बढी छन्।

जीटूजीमार्फत स्पेसिफाइड स्किल वर्कर पठाउने समझदारी भएसँगै म्यानपावर व्यवसायीले जापान रोजगारी आफ्नो हातमा पार्न व्यापक लबिङ गर्दै आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जापानको सम्पूर्ण जिम्मा म्यानपावर व्यवसायलाई दिन कन्भिन्स भएको बताइन्छ।

यस प्रावधानअन्तर्गत ७० जनाले भाषा परीक्षा पास गरेका छन्। तर, उनीहरू जापान जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालाले भाषा परीक्षा पास गरेकालाई कसरी पठाउने भन्ने अन्योल भएकाले एसएसडब्लू निर्देशिका तयार गरिएको बताए। ‘निर्देशिका पारित भएर आएपछि भाषा परीक्षा पास भएका ७० जनालाई समेत पठाउन सहज हुनेछ’, उनले भने। जापान फाउन्डेसनले भाषा परीक्षा लिँदै आएको छ।

‘हामी म्यानपावर व्यवसायीलाई दिने पक्षमा छैनौं’, उनले भने,‘यदि म्यानपावरलाई दिइयो भने २५/३० लाखसम्म उठाउँछन्।’ विभागअन्र्तगत जापान युनिटले आवश्यक प्रक्रिया पूरा गरेर जापान फाउन्डेसनको सहयोगमा कामदार जापान पठाइने विभागले जनाएको छ। विभागका अनुसार जापानको मिनिस्टर अफ ट्रान्सपोटेसनमा आएको माग दूताबासमार्फत नेपाल आउँछ।

जापान रोजगारीका नाममा ठगी गर्ने म्यानवपावरमा नेल्को इन्टरनेसनल अग्रस्थानमा आउँछ। उसले जिट्को अन्तर्गत युवालाई जापान पठाउने भन्दै धेरै युवाबाट पैसा लिने र नपठाउने गरेको पाइएको छ। डकुमेन्ट चार्जका नाममा सुरुमा लाखसम्म पैसा असुल्ने तर महिनौंसम्म प्रक्रिया सुरु नगर्ने पीडितको गुनासो छ। नेल्कोले विशाल भट्टराईलाई १३ लाख रुपैयाँ ठगी गरेको विभागमा उजुरी परेको छ। उनको मुद्दा प्रक्रियामा छ। धेरै ठगेको उजुरी परेको भन्दै विभागले उक्त म्यानपावरलाई कालोसूचीमा राखेको छ।

जापान रोजगारीका नाममा राजेश लामालाई दीपज्योति ओभरसिजले पाँच लाख रुपैयाँ ठगी गरेको थियो। विभागले दोषीलाई कारबाही गरी क्षतिपूर्ति भराइसकेको छ। त्यस्तै जानकी ओभरसिजले दीपकुमारलाई पाँच लाख रुपैयाँ ठगी गरेको छ।

विभागका अनुसार कृष्णबहादुर विक, जमुनादेवी कार्की, जयराम लामा, विवेकराज खनाल, मुना पाण्डे, कमला भण्डारी, दीपा कुँवर केसी, रामकृष्ण दाहाल, विष्णुबहादुर सेन, भरतराज शर्मा रेग्मी, दीपेन्द्रकुमार सुरेन, मिरज श्रेष्ठ, महेन्द्रबहादुर सिंह, सन्तोष सदा शंकर, राजाराम खत्री, गोविन्द खड्काले, सर्वधन तामाङ, राधाकृष्ण ढुंगाना, सविता तामाङ, कपिल गुरुङ, राजु गिरी, पूर्णबहादुर बोहरा र नरप्रसाद पाण्डेले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरी परेको छ।

Published on: 10 September 2020 | Annapurna Post

Link

Back to list

;