s

जापानमा बढे शरणार्थी नेपाली

जापानमा शरणार्थी हैसियत माग गर्दै आवेदन दिने विदेशीमध्ये नेपालीको संख्या दोस्रो स्थानमा पुगेको छ। जापानको न्याय मन्त्रालय, अध्यागमन ब्युरोको तथ्यांकअनुसार सन् २०१३ मा मात्र ५ सय ४४ नेपालीले शरणार्थहैसियत पाऊँ भन्दै आवेदन दिएका छन्।

तीमध्ये अधिकांशले स्वदेशमा बस्ने स्थिति नरहेको बेहोरा पेस गरेका छन्। शरणार्थी हैसियत माग गर्नेमा 'स्टुडेन्ट भिसा' लिएर गएकाहरूको संख्या बढी छ। धेरै विद्यार्थीले जापान पुगेको ६ महिनाभित्रै शरणार्थीको निम्ति निवेदन हालेको पाइएको छ। यो अवधिमा निवेदन नदिए ढिलाइको औचित्य खुल्ने गरी कारण पेस गर्नुपर्ने नियम छ। जापान गएर शरणार्थी बन्न इच्छुक हुनेमा टर्किसहरूले मात्र नेपालीलाई उछिनेका छन्। सन् २०१३ मा ६ सय ५८ जना टर्किसले शरणार्थीको निवेदन दिएको अध्यागमन ब्युरोले जनाएको छ। धेरै नेपालीले निवेदन दिन थालेपछि त्यहाँको न्याय मन्त्रालयले शरणाथर्ाी सम्बन्धी फारम नै नेपाली भाषामा अनुवाद गरेर राखेको छ।

चार वर्षअघि जापानले अध्यागमन ऐनमा परिवर्तन ल्याएपछि शरणार्थी बन्न इच्छुकको संख्या बढेको हो। संशोधित ऐनअनुसार स्टुडेन्ट भिसामा गएका विदेशी विद्यार्थीको शरणार्थी आवेदन स्वीकृत भए उसले ६ महिनापछि वैध रूपमा पूर्णकालीन काम गर्ने छुट पाउँछ। जब कि विद्यार्थी वा प्रशिक्षार्थीका रूपमा आएका विदेशी विद्यार्थीले साताको अधिकतम २८ घन्टा मात्र काम गर्न पाउने नियम छ। शरणार्थीसम्बन्धी अन्तिम फैसला भने न्याय मन्त्रालयले गर्छ, जसका लागि कम्तीमा ४ वर्ष लाग्छ। त्यस अवधिमा वैध रूपमै जापानमा पूर्णकालीन काम गर्न पाइने हुँदा धेरै नेपालीले यो बाटो रोजेका हुन्। यसको अर्को फाइदा मुद्दा किनारा नलागेसम्म स्वदेश फर्कन बाध्य पारिँदैन। जापानमा 'पार्ट टाइम' र 'फुल टाइम' कारमदारलाई दिने पारिश्रमिक भिन्न छ। जापानबाट प्रकाशित हुने दैनिक 'आसाई सिम्बुन' का अनुसार विद्यार्थी हुँदा मासिक ५८ हजार रुपैयाँ कमाउनेले शरणार्थी आवेदन दिएको ६ महिनापछि मासिक १ लाख ६६ हजारसम्म कमाउँछन्।

'शरणार्थीका लागि आवेदन दिएपछि त्यसउपर फैसला हुन जापानमा वर्षौं लाग्छ। कम्तीमा ४ वर्ष मुद्दा किनारा हुँदैन। त्यतिन्जेल स्वदेश नफर्की निर्धक्क काम गर्न पाइन्छ। यही कारण स्टुडेन्ट भिसामा आएकाहरूले आफ्नै देशको बद्नाम हुने गरी शरणार्थी हैसियत माग गर्ने गरेका छन्,' जापानस्थित नेपाली दूतावास स्रोतले नागरिकसँग भन्यो, 'यसो गर्नेमा नेपालीको संख्या ह्वात्तै बढेको छ।' उनका अनुसार यसै वर्ष फुक्योका सिटीस्थित एक भाषा स्कुलमा अध्ययनरत ४ नेपाली विद्यार्थी लामो समय अनुपस्थित भएपछि स्कुलले अनुसन्धान गरेको थियो। खोजी गर्दा उनीहरू ओयामामा भेटिएका थिए। चारै जनाले शरणार्थीका लागि आवेदन दिएको पाइयो। 

जापानका लागि नेपाली राजदूत मदन भट्टराईले विद्यार्थी वा प्रशिक्षार्थीका रूपमा जापान छिरेर शरणार्थी हैसियत माग गर्ने प्रवृत्ति बढेको स्वीकार गरे पनि यसबारे सम्बन्धित निकायका अधिकारीसँग कुराकानी नभएको बताए। जापानमा शरणार्थी आवेदन दिने नेपाली विद्यार्थी संख्या बढ्न थालेको सन् २०१० यता हो। अध्यागमन ब्युरोको तथ्यांकअनुसार सन् २०१० मा १ सय ९ जना नेपालीले शरणार्थीको आवेदन दिएका थिए। त्यस वर्ष शरणार्थी हैसियत माग गर्ने नेपाली संख्या चौथो ठूलो थियो। अध्यागमन ब्युरोको तथ्यांकअनुसार जापानले निकै कम विदेशीलाई मात्र शरणार्थी हैसियत दिने गरेको छ। सन् २०१३ मा फैसला भएका ३ हजार २ सय ६० मुद्दामा जम्मा ६ जनाले शरणार्थी हैसियत पाएका थिए। आफ्नो पक्षमा फैसला नभए पनि मुद्दा किनारा नलागेसम्म पूर्णकालीन रोजगार गर्न पाउनुले नेपालीलगायत अन्य देशका विद्यार्थीलाई आकर्षित गर्ने गरेको छ।
यही आकर्षणले पछिल्लो समय जापान जाने नेपाली विद्यार्थीको संख्या आकासिएको छ। जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेसन (जेएएसएसओ) को तथ्यांकअनुसार सन् २०१३ मा जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सूचीमा नेपाल पाँचौं स्थानमा छ। गत वर्ष ३ हजार १ सय ८८ नेपाली विद्यार्थी जापानमा अध्ययनरत थिए। यो जापानी भाषा अध्ययन गर्न जाने विद्यार्थीबाहेकको संख्या हो।

सन् २०१३ मा जापानमा अध्ययन गर्ने चीन, दक्षिण कोरिया, भियतनाम र ताइवानपछि धेरै विद्यार्थी नेपाली नै थिए। जापानमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये ३०.१ प्रतिशत नेपाली छन्। सन् २०१३ मा जापानी भाषा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये चीन र भियतनामपछि तेस्रो स्थान नेपालीकै छ। त्यस वर्ष २ हजार ६ सय १९ जना नेपाली जापानी भाषा अध्ययनरत थिए। त्यस्तै, सन् २०१२ मा २ हजार ४ सय ५१ जना नेपाली विभिन्न कलेज तथा विश्वविद्यालयमा पढिरहेका थिए भने १ हजार १ सय ५० जना नेपाली जापानी भाषा अध्ययनरत थिए।

अमेरिकामा पनि शरणार्थी हैसियत माग गर्नेमा नेपालीको संख्या सन् २०१३ मा चौथो स्थानमा पुगेको थियो। यसमा गम्भीर चासो देखाउँदै सरकारले अमेरिकामा शरणार्थी हैसियत माग गर्नेलाई नयाँ राहदानी दिन छाडेको छ। शरणार्थी हैसियत माग गरेपछि धेरैजसोले अमेरिकास्थित नेपाली दूतावासमा नयाँ राहदानीनिम्ति आवेदन हाल्ने गरेका थिए। शरणार्थी माग गर्नेहरूलाई आफ्नो देश फर्कने छुट हुँदैन। परराष्ट्र मन्त्रालयले यसरी दोहोरो सुविधा लिन नपाउने नीतिगत निर्णय नै गर्न लागेको छ। जापानका लागि राजदूत भट्टराईले भने शरणार्थी हैसियत माग्नेलाई राहदानी नदिनू भनी परराष्ट्रबाट कुनै जानकारी नआएको बताए। अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०१३ मा अमेरिकामा शरणार्थी हैसियत पाउने चौथो ठूलो राष्ट्र नेपाल हो। त्यो वर्ष ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थी हैसियत दिएको छ। यो संख्या सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थियो।

टोकियोमा छैठौं ठूलो संख्या नेपालीको जापानका लागि नेपाली राजदूत मदन भट्टराईका अनुसार त्यहाँ नेपाली विद्यार्थी अध्ययन गर्न जाने चलन सन् १९०२ बाट सुरु भएको हो। १ सय १२ वर्षअघि ८ जना नेपाली विद्यार्थीको समूह प्राविधिक शिक्षा हासिल गर्न पहिलोपटक जापान गएको रेकर्ड छ।उनीहरू साढे तीन वर्ष अध्ययन गरेर फर्केका थिए। दूतावासका अनुसार त्यसयता सन् २०१४ जुलाइसम्म ३६ हजार १ सय ७ जना नेपाली विभिन्न कारणले जापान पुगेका छन्। २०१४ को तथ्यांकअनुसार राजधानी टोकियोमा रहने विदेशीमा छैठौं ठूलो संख्या नेपालीको छ। टोकियोमा मात्र १२ हजार ३ सय ९ नेपाली छन्। २०१३ डिसेम्बरसम्म ३१ हजार ५ सय ३१ जना नेपाली जापान पुगेको तथ्यांक दूतावाससँग छ। सन् २०१२ को तुलनामा जापान जानेनेपालीको संख्या ३१ प्रतिशत वृद्धि भएको छ।

'सन् २०१३ मा जापानमा रहेका सार्कका ८ सदस्यराष्ट्रको कुल जनसंख्यामा ३७ प्रतिशत नेपाली थिए,' राजदूत भट्टराईले भने। जापानमा हालसम्म २ हजार ६ सय नेपालीले त्यहाँको स्थायी बासिन्दाको प्रमाणपत्र लिएका छन्।

Published on: 5 December 2014 | Nagarik

Back to list

;