s

जापानका नाममा ठगी तीव्र, सरकारले भन्यो-राहदानी र पैसा कतै नबुझाउनू

जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् ।
 
सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।
 
विभागका निर्देशक भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा जापानमा रोजगारी पाइने हल्लाको पछि नलाग्न अनुरोध गरिएको छ । विभागले यस्तो प्रलोभनमा परेर राहदानी तथा पैसा नबुझाउने आग्रह गरेको हो ।
 
विभागले जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल भएर टुंगो लगाउन बाँकी रहेको जनाएको छ । त्यसैले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन अपील गरेको हो ।
 
अहिले हल्लाकै भरमा ठगहरुले जापानको नाममा पैसा उठाउन सुरु गरिसकेको सूचना सरकार समक्ष पुगेको छ । कसैले राहदानी लिएर पैसा उठाए उने मन्त्रालय, विभाग वा प्रहरीलाई सूचना दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।
 
जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
 
Published on: 2 January 2019 | Onlinekhabar
 
 

Back to list

;