s

जापान जाने विद्यार्थी बढे

यसपालि कमर्समा ‘प्लस टु’ सिध्याएकी चितवनकी कञ्चन चौधरीले उच्च शिक्षाका लागि जापान जाने सोच बनाएकी छन्। काम सँगसँगै पढाइलाई पनि निरन्तरता दिन सजिलो हुने भएकाले जापान जान चाहेको उनको भनाइ छ। केशरमहलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा ‘नो अब्जेक्सन लेटर' बनाउन लाइनमा उभिरहेका बेला उनले भनिन्, ‘जापानी भाषा सिकेपछि त्यहाँ राम्रो जागिर पाइन्छ, पढाइ पूरा हुने अनि जागिर पनि खान पाइने भएकाले उतै जाने विचार गरेकी हुँ।' कञ्चनमात्र होइन, एक वर्षयता उच्चशिक्षाका लागि जापान जाने विद्यार्थीको संख्या बढ्दो छ। 

शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका अनुसार २०७१ वैशाखयता ५ हजार ८ सय ६९ विद्यार्थीले उच्चशिक्षाका लागि जापान जान ‘नो अब्जेक्सन लेटर' लिइसकेका छन्। ‘पछिल्लो समय प्लस टु पास गरेर जापान जानका लागि ‘नो अब्जेक्सन लेटर' लिन आउने संख्या बढेको छ,' छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले भने, ‘पढाइका साथै काम पनि गर्न मिल्ने भएकाले जापानमा विद्यार्थी आकर्षित भएका हुन सक्छन्।' महर्जनका अनुसार उच्चशिक्षाका लागि नेपाली जाने दोस्रो मुलुकको सूचीमा अस्ट्रेलिया छ, जहाँ वैशाखयता ५ हजार ४ सय विद्यार्थीले ‘लेटर' पाइसकेका छन्। यस अवधिमा उच्चशिक्षाका लागि अमेरिका जान १ हजार ६ सय ५४ जनाले स्वीकृति लिइसकेका छन्। विगतमा अस्ट्रेलिया जाने विद्यार्थी संख्या पहिलो नम्बरमा थियो, यसपालि जापानले उछिनेको छ।

उच्चशिक्षाका लागि जापान जान चाहनुमा पढाइभन्दा पनि रोजगारी कारक भएको विद्यार्थीको भनाइ छ। ओएसिस अब्रोड स्टडिज, बागबजारका अनुसार जापान जाने विद्यार्थीले न्यूनतम एउटा कम्पनीमा दैनिक ४ घन्टा काम गर्छन्, जसले उनीहरूको खाने, बस्ने र पढाइ खर्च पुग्छ। उनीहरूले अन्य कम्पनीमा पनि ४–४ घन्टाका दरले गरेर दैनिक १२ घन्टा काम गर्दा मासिक ३ लाखसम्म कमाउन सक्छन् र खर्च कटाएर मासिक १ देखि डेढ लाखसम्म बचत गर्न सक्छन्। ‘नेपालमा विद्यार्थीका लागि पार्टटाइम कामको व्यवस्था छैन, त्यसैले काम गरेर पढ्न यहाँ गाह्रो छ,' चौधरीले भनिन्, ‘जापानमा कामसँगै पढाइलाई पनि निरन्तरता दिन सकिने भएकाले जापान जान विद्यार्थी उत्साही भएका हुन्।' जापानमा बसेर केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्यलाई सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

जापान जाने विद्यार्थीले त्यहाँ विधिवतरूपमा पढाइ थाल्नुअघि दुई वर्षसम्म जापानी भाषा कक्षा लिनुपर्छ। जापानी कक्षामा दक्षता हासिल गरेपछि मात्र विद्यार्थीले त्यहाँको विश्वविद्यालयमा स्नातक वा स्नातकोत्तर तह पढ्न पाउँछन्। जापानको कलेजले विद्यार्थीको आवेदन स्वीकृत गरेपछि विद्यार्थीले ‘नो अब्जेक्सन लेटर' सहित एकमुष्ठ रूपमा एक वर्षका लागि साढे ९ लाखदेखि १० लाखसम्म शैक्षिक तथा छात्रावास शुल्क बुझाउनुपर्छ। कलेजले उताबाट ‘कन्फर्ममेसन लेटर' को ‘ओरिजिनल' पठाएपछि मात्र दूतावासले भिसा प्रक्रिया अघि बढाउँछ। ‘जापानका विश्वविद्यालयले आवेदन स्वीकृत गरिसकेपछि दूतावासले इन्टरभ्युमा ‘रिजेक्ट' गर्ने सम्भावना एकदमै कम रहेने भएकाले जापानै रोजेको हुँ,' सात महिनादेखि जापानमा अध्ययनरत सुदन शर्माले भने। 

उच्चशिक्षाका लागि जापान जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या धेरै रहेको शैक्षिक परामर्शदाताले जनाएका छन्। ‘विद्यार्थीले जापान र अस्ट्रेलिया नै बढी रोज्छन्,' बागबजारस्थित ओएसिस एब्रोड स्टडिजका सिइओ राम थापाले भने, ‘विकसित देश भएकाले जागिर पाउने सम्भावना बढी हुन्छ।' उच्च शिक्षाका लागि बाहिरी देश जानेको संख्या क्रमशः बढ्दै गएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जानकारी दिएको छ। २०६८/२०६९ मा वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनेको संख्या १० हजार २ सय ५८, २०६९/२०७० मा १६ हजार ४ सय ९९, २०७०/२०७१ मा २८ हजार १ सय छब्बिस छ। यसैगरी, २०७१ साउनमा २ हजार ९२, भदौमा ४ हजार ७ सय ६३ र असोजमा २ हजार ७५ जनाले वैदेशिक अनुमतिपत्र लिएका छन्।

दैनिक सयदेखि १ सय २५ जनासम्म विद्यार्थी ‘नो अब्जेसन लेटर' लिने आउने गरेको वैदेशिक अनुमतिपत्र शाखाका प्रमुख महर्जनले जनाए। जापान, अस्ट्रेलिया, अमेरिकालगायत मुलुक जानका लागि बढी विद्यार्थी आवेदन दिन आउने उनले बताए।

Published  on: 26 December 2014 | Nagarik

Back to list

;