s

जाने ठाउँ थाहा नपाई पासपोर्टको लाममा

कल्पना घिमिरे 

त्रिशूली शालमेकी सुनमाया स्याङ्तनलाई आफू कुन देश जाने थाहा छैन । उनी विदेश जाँदैछिन् र त्यसका लागि एमआरपी बनाउनु छ । उनी आकस्मिक राहदानी बनाउन केशरमहल अघिको परराष्ट्र मन्त्रालयमा बिहीबार लामबद्ध थिइन् ।

उनी छ महिनादेखि काठमाडौंको बौद्धमा श्रीमान्सँग बस्दै आएकी छन् । विदेश जानका लागि श्रीमान् र आफन्तहरूले पटक-पटक आग्रह गरेपछि राहदानी बनाउन आएको उल्लेख गर्दै भनिन्, 'मेरा श्रीमान् र आफन्तले जहाँ भन्नुहुन्छ त्यही देश जान्छु ।' उनलाई कहाँ जाने, के काम गर्ने, कुन भाषा बोल्ने, मासिक तलब कति पाउनेबारे केही जानकारी छैन ।

काभ्रेका दुई दिदीबहिनी रेश्मा र चाहना मोक्तानलाई राहदानी बनाउनकै लागि बाबुले उमेर बढाएर नागरिकता बनाइदिए । १४ वर्षे आशाको २० वर्ष र १६ वर्षे चाहनाको २२ वर्ष तोकिएर नागरिकता बन्यो । उनीहरू त्यही नागरिकता बोकेर परराष्ट्र मन्त्रालय पुगे ।

परराष्ट्र मन्त्रालयमा राहदानी बनाउन आउने यस्ता सयौं महिला छन् जसलाई कहाँ जाने थाहा छैन । के काम गर्ने थाहा छैन । तर उनीहरू विदेश जानचाहिँ तयार छन् । उनीहरूको विदेश यात्रा झन्डै पक्का जस्तै भएको छ । दलाल वा कोही गाउँको 'दाइ' मार्फत् ।

विदेशमा चेलीहरू बेचिने, अङ्गभङ्ग हुने, काम नपाउने, तलब नपाउने, बलात्कार हुने जस्ता घटनाबारे यी युवती अनभिज्ञ छन् । वैदेशिक रोजगारीमा जाने महिलामाथि अनेक हिंसा र समस्या आएपछि माइती नेपालले त्यस्ता महिलालाई लक्षित गरेर परराष्ट्रमा परामर्श सेवा सुरु गरेको छ । जहाँ सुनमाया, रेशमा  र चाहना वा चन्द्रकलाजस्ता सयौं महिलालाई परामर्श दिइन्छ । विदेशको कामबारे सम्झाइन्छ । माइती नेपालको टोलीले सोधपुछ गरेपछि राहदानी बनाउने र नबनाउनेबारे यस्ता महिला अलमलिएका छन् । रेश्मा र चाहना पनि त्यस्तै अलमलमा परे । कक्षा ९ र एघारमा पढ्ने ती दिदीबहिनीलाई कान्छीआमा र बाबुले विदेश जान प्रेरित गरेको कुराकानीका क्रममा बताए । 

'गएर के काम गर्ने केही थाहा छैन,' चाहनाले भनिन्, 'अंकलले तुरुन्त पासपोर्ट बनाउनुपर्‍यो भन्दै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाइदिनुभयो ।' माइती नेपालकी कानुनी सल्लाहकार उमा तामाङले बताइन् । दुई महिनादेखि आफूहरू परामर्शका लागि खटिइरहेको जानकारी दिंदै उनले भनिन्, 'अधिकांश महिलाले त नागरिकताको नामसमेत भन्न जान्दैनन् ।'

Published on: 22 December 2011 | Kantipur

Back to list

;