s

जनशक्ति प्रशिक्षण गरेर रोजगारी दिलाउन त्रिपक्षीय सम्झौता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबीच त्रिपक्षीय सम्झौता भएको छ । आइतबार केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता गर्ने ६ उद्योगहरूमा लिटमस इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, किरण सुज म्यानुफ्याक्चर्स, बाबा जुट मिल, मोर्डन स्लिपर इन्डस्ट्रिज र रन सुज इन्डस्ट्रिज रहेका छन् । यी उद्योगहरूले कुल १६ सय ६५ जना प्रशिक्षार्थी कामदारलाई प्रशिक्षण दिएर कम्तीमा १८ महिनाको रोजगारी दिनेछन् । प्रशिक्षार्थी कामदारहरूको अधिकतम तीन महिनाको पारिश्रमिक भने सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने बताइएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले यस्तो कार्यक्रम सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान पुग्नुका साथै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना हुने बताए । त्यस्तै, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चालू आर्थिक वर्षका लागि नौवटा उद्योगहरूले २१ सय प्रशिक्षार्थी माग गर्दै परिसंघमार्फत आवेदन दिएको बताए ।

तथापि, पाठ्यक्रम तथा अन्य चुनौतीका कारण ६ उद्योगहरूसँग मात्र यस्तो सम्झौता हुन सकेको उनको भनाइ थियो । ‘अन्य उद्योगहरू इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १६ सय ६५ जनालाई मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको छ,’ उनले भने, ‘आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ । यसलाई सफल बनाउनका लागि परिसंघको भूमिका सदैव सकारात्मक रहनेछ ।’

परिसंघका उपाध्यक्ष रोहित गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरूलाई समेटिने बताए । उनले भने, ‘सिटिइभिटीबाट मान्यताप्राप्त पाठ्यक्रम भएमा कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्नेछ ।’ केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरेले दक्ष जनशक्ति विकास गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको कार्यक्रममा सरोकार पक्षहरूबीच सम्झौता हुनु ठूलो उपलब्धि भएको बताए । उनले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।

Published on: 29 January 2024 | Naya Patrika

Link

Back to list

;