s

जनशक्ति अभावले बाँझिँदै खेतीयोग्य जमिन

प्रकाश धौलाकोटी 
 
जिल्लामा कृषि खेती गर्ने जनशक्ति नहुँदा अधिकांश गाउँका खेतबारी बाँझै रहन थालेका छन् । युवा बिदेसिने र अधियाँ दिएर बसाइँ सर्नेक्रमले कामदार पाइन छाडेको हो । बढी अन्न उत्पादन हुने खेतबारी तथा बेँसीसमेत अहिले बाँझिन थालेका छन् । उब्जनी राम्रो हुने, सिँचाइ सुविधा भएकै जमिन पनि काम गर्ने जनशक्ति नहुँदा बाँझिन थालेका हुन् ।
 
तमोर नदीसँग जोडिएका सुक्खाग्रस्त क्षेत्रका खेतबारी धेरै बाँझिएका छन् । गाउँको खेतबारी कसैले खरिद गर्न पनि नमान्ने र गाउँमै बस्नलाई हरेक सेवा–सुविधाका हिसाबले उपयुक्त नभएपछि स्थानीय खेतबारी त्यत्तिकै छाडेर सहरकेन्द्रित बसोवास गर्न थालेका छन्।
 
जिल्लाका खेतीयोग्य जमिनमा अहिले नगदेबालीको खेती लगाउने क्रम बढेको छ । स्थानीयले करेसामै रहेको खेतीयोग्य जमिनमा समेत अलैँची, अदुवा, अकबरे खुर्सानीलगायतका नगदे बाली लगाउन थालेका छन् । पाखोबारीमा समेत मकै, कोदोको सट्टा अम्लिसो खेती लगाउन थालिएको छ । गाउँका खेतबेंँसीमा धान रोप्ने, बारीमा मकै कोदो बाली लगाउन खनजोत गर्ने जनशक्ति अभाव हुन थालेसँगै जग्गाधनी नगदेबाली लगाएर वर्षमा एकपटक गाउँ पुग्छन् ।
 
जिल्लाका सबै क्षेत्रमा जग्गा बाँझो रहनेक्रम बढेको छ । ‘गाउँमै हुनेले समेत खेत रोप्न जनशक्ति नपाएपछि जमिन बाँझो राखेका छन्,’ आठराई गाउँपालिका–४, इवाका जयकुमार बराइलीले भने, ‘पहिले–पहिले बाली लगाउने जमिन पुग्दैनथ्यो, अहिले खेतबारी बाँझो राख्ने चलन बढेको छ ।’
 
‘कतिपय खेतधनी तराईतिर बसाइँ गए,’ सोही गाउँका डम्बर गुरुङ भन्छन्, ‘यहीँ हुनेले पनि धान रोप्न आवश्यक जनशक्ति नपाएपछि बाँझो छोड्न थालेका छन् ।’ अधियाँ दिएर बसाइँ जानेको संख्या बढेको र कमाउनेले कामदार खोजेर धान रोप्न नसकेपछि खेत बाँझो हुन थालेको उनको भनाइ छ ।
 
जिल्लामा कृषि क्षेत्रमा काम गर्दै आएकाको पारिश्रमिक बढे पनि जमिन बाँझिनेक्रम रोकिन सकेको छैन । एक हल गोरुका लागि एक दिनको एक हजार रुपैयाँ तिर्नुपर्छ । एक दिनका लागि महिला–पुरुष दुवैले कामअनुसार न्यूनतम ५ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला लिन्छन् । ‘गाउँमा चलेको भाउमा ज्याला दिएर कामदार लगाउँदा खेतीबाट भएको उत्पादनले धान्दैन,’ फेदाप गाउँपालिका–१, सिम्लेका तेजनाथ भट्टराईले भने, ‘उल्टै घाटा लाग्ने खेती कसले गर्ने ?’
 
जिल्लाका छथर गाउँपालिकाका फाक्चामारा, पञ्चकन्या, ओख्रे, सुदाप, हमरजुङ, आठराई गाउँपालिकाको इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ र संक्रान्ति, फेदाप गाउँपालिकाको सिम्ले, इसिबु, जलजले र ओयाक्जुङ, म्याङलुङ नगरपालिकाको म्याङलुङ, साब्ला, तम्फुला, पिप्ले, जिरिखिम्ती र आम्बुङलगायत गाउँका जमिन पछिल्लो समय बाँझिदै गएका छन् ।
 
१३ प्रतिशतसँग छैन खेतीयोग्य जमिन
 
जग्गा हुनेहरूले जमिन बाँझो छाड्दै गए पनि जिल्लाका १३ प्रतिशत बढी कृषकसँग पर्याप्त खेतीयोग्य जमिन छैन । ५ रोपनीभन्दा कम जग्गा भएका किसानको संख्या उच्च रहेको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपालीले बताए ।
 
जिल्लामा भूमिहीन अर्थात् अत्यन्तै न्यून मात्रै जग्गा भएका किसानको तथ्यांक संकलन भइरहेको उनले बताए । कृषि गणनाको तथ्यांकअनुसार जिल्लामा २० देखि सय रोपनीसम्म जमिन हुनेको संख्या ४५ प्रतिशत बढी छ । जिल्लामा मध्यम वर्गीय किसानको संख्या बढी भएकाले पनि जमिन बाँझो हुँदै गएको सरोकारवाला बताउँछन् ।
 
‘व्यावसायिक खेती गर्न किसानसँग लगानी गर्ने रकम छैन, न हातमा सीप र खेती प्रविधि नै थाहा छ,’ नागरिक समाजका नरबहादुर आम्बुङ भन्छन् । तथ्यांकअनुसार जिल्लाको कुल क्षेत्रफल ६७ हजार १ सय ६२ हेक्टर जमिनमध्ये ३७ हजार २ सय ८२ हेक्टर जमिन खेतीयोग्य रहेको छ । त्यसमध्ये ६ हजार ४ सय ६० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
 
कार्यालयका अनुसार जिल्लामा हाल १९ हजार ८ सय ८४ कृषक परिवार छन् । तर, त्यसमध्ये १४ हजार २ सय २३ परिवारलाई मात्रै कृषिबाट भएको उत्पादनले खान पुग्ने गरेको छ । बाँकी ६ हजार २३ परिवारले ३ महिनादेखि ६ महिनासम्म मात्रै आफैँले उत्पादन गरेको अन्नले खान पुग्ने गरेको छ । तेह्रथुमको कुल खेतीयोग्य जमिनमध्ये ३० हजार ४ सय २८ हेक्टरमा खेती भइरहेको छ । त्यसमध्ये १४ हजार ७ सय ८५ हेक्टर खेत र १५ हजार ६ सय ४३ हेक्टर पाखो बारी रहेको छ । तर, त्यसमध्ये ६ हजार ४ सय ६८ हेक्टर जमिनमा मात्रै वर्षभरि नै सिँचाइ सुविधा पुगेको छ । बाँकी ६ हजार ६ सय १ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने कार्यालयको तथ्यांक छ ।
 
Published on: 30 November 2017 | Naya Patrika

Back to list

;