s

जनकपुरस्थित श्रम कार्यालयको बदमासी, कागजात कीर्ते गरी श्रम स्वीकृति

काठमाडौं : जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयका कर्मचारीले गलत कागजात र बिचौलियाको प्रभावमा श्रम स्वीकृति दिने गरेको खुलासा भएको छ । त्यहाँका कर्मचारीले नक्कली कागजात पेश गर्नेहरूलाई समेत श्रम स्वीकृति दिएको पाइएको छ । जसका कारण उनीहरू वैदेशिक रोजगारमा जान बञ्चित हुने गरेका छन् ।

उनीहरूको जहाजको टिकट र श्रम स्वीकृति लिन लागेको खर्च समेत डुब्ने गरेको छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले नक्कली कागजातमा श्रम स्वीकृति लिएकालाई प्रस्थान अनुमति नदिएपछि श्रम तथा रोजगार कार्यालय जनकपुरको बदमासी सार्वजनिक भएको हो ।

त्यहाँका अधिकृत बासुकीनाथ झा, नायव सुब्बा उमेश कुमार दाहाल, अर्का नायब सुब्बा रामबालक यादव र भाषा अनुवाद सम्साद आलमले आर्थिक प्रलोभनमा परी नक्कली कागजातमा श्रम स्वीकृति दिएको स्रोतले बताएको छ ।

जनकपुरस्थित श्रम कार्यालयका कर्मचारीको बदमासी थाहा पाएपछि तालुकदार निकाय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम रोजगार तथा व्यवसायजन्य विभाग मौन छ ।

तालुकदार निकायले बदमास गर्ने झालगायतका कर्मचारीमाथि छानबिन त परै जाओस् सामान्य सोधपुछ समेत गरेका छैनन् । जनकपुर श्रम कार्यालयले भाषा अनुवादक आलमलाई जागिरबाट निकालेर घटना सामसुम पार्न खोजेको छ ।

जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयका सूचना अधिकृत समेत रहेका घटनामा झाले कुवेतको श्रम जारी गर्दा आफूहरूको संलग्नता नरहेको बताए । झाले अन्नपूर्णसँग भने,'अनुवादकले गल्ती गरेको हुनुसक्छ । हामीले त अनुवादकको आधारमा श्रम दिने हो । ’

तर, श्रम कार्यालका कर्मचारीले अनुवादकको संलग्नतामा मात्र श्रम स्वीकृति दिन नमिल्ने बताए । मन्त्रालय श्रोतका अनुसार,श्रम कार्यालय जनकपुरले अन्य धेरै बदमासी गरेको र सोको विवरण संकलन गर्ने कार्य भइरहेको छ । स्रोतले भन्यो, 'जनकपुर मात्र होइन हाम्रो पोखरा र विराटनगर कार्यालयबाट समेत बदमासी भएको सूचना पाएका छौं । अध्ययन गरिरहेका छौं । '

पछिल्लो पटक कुवेत जाने तीनजनालाई अध्यागमन कार्यालयले फिर्ता गरेपछि त्यहाँका कर्मचारीको कर्तुत सार्वजनिक भएको हो । नक्कली कागजपत्र पेश गरेर श्रम स्वीकृति लिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कुवेत हिँडेका तीनजनालाई प्रस्थान अनुमति दिएको थिएन् ।

अध्यागमनले चन्द्रबहादुर गुरुङ,राजकुमार श्रेष्ठ र काजीराम श्रेष्ठलाई कुवेत जाने अनुमति नदिइ फिर्ता पठाएको थियो । उनीहरूले कुवेतको नक्कली कागजात (Civil Id) पेश गरी श्रम स्वीकृति लिएको खुलेको छ । जबकी कुवेत नपुगी त्यहाँको Civil Id लिन नसकिने जानकारहरू बताउँछन्।

चन्द्रबहादुर र राजकुमार पहिलो पटक विदेश जाँदै थिए । काजीराम भने यसअघि दुवइ गएका थिए । अध्यागमनका अधिकारीहरूले कागजात जाँच गर्दा श्रम स्वीकृतिलगायत उनीहरूको प्रवेशाज्ञा र रोजगार कम्पनीसँग भएको सम्झौता पत्रमा समेत समस्या देखिएको छ ।

सम्झौता पत्रमा भएको कम्पनीलगायतको विवरण फरक पाइएपछि अध्यागमनका अधिकारीहरूले उनीहरूमाथि थप सोधपुछ गरेका थिए । विमानस्थलस्थित अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि उनीहरुको राहदानी अध्यागमन विभाग पठाएको थियो । नक्कली कागजातमा श्रम स्वीकृति दिएकोबारे अध्यागमन विभागले समेत अनुसन्धान गरिरहेको स्रोतले बताएको छ ।

म कार्यालयका अधिकारीले नक्कली कागजातका आधारमा उनीहरूलाई कसरी श्रम स्वीकृति दिए भन्ने विषय अनुसन्धानको पेचिलो विषय बनेको छ । अर्को मुलकको Civil Id बनाएर उनीहरूले कीर्ते काम गरेको समेत अध्यागमनका अधिकारीहरूले बताएका छन् ।

Published on: 14 August 2023 | Annapurna Post

Link

Back to list

;