s

जनकपुरमा अभिमुखीकरणको अवैध धन्दा

जनकपुरमा ओरियन्टेशनका नाममा गैर कानूनी धन्दा व्यापकरुपमा बढेको खुलासा भएको छ । राजधानीमा वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अभिमुखीकरण तालिम दिने अनुमति लिएको श्री गणेश ओरियन्टेशन प्रा.लि.ले जनकपुरको रामानन्द चोकमा जनसेवा पोलिक्निकका नाममा अवैध धन्दा सञ्चालन गरिरहेको अवस्थामा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत श्रम कार्यालय जनकपुरका कर्मचारीले त्यस कार्यमा धनुषा मिथिलेश्वरका विजय साहलाई रंगेहात  कम्प्युटर र डिभाईस सहित फेला पारेपछि यो तथ्य खुलासा भएको हो ।
 
वैदेशिक रोजगारीमा जाने कामदारको दुई दिन अभिमुखीकरणका लागि राजधानीमा २ सय १६ र राजधानी बाहिर ४३ संस्थाले अनुमति पाएका छन् । त्यसमध्ये धनुषा जिल्लामामात्र १० वटा संस्थाले वैधानिक रुपमा मान्यता पाएका छन् ।
 
वैदेशिक रोजगारीका लागि जाने कामदारहरुलाई दिईने २ दिने अभिमुखीकरण तालिममा  गैरकानूनी संस्थाहरुले व्यापक ठगी गरिरहेको गुनासो आइरहेको बेला जनकपुरमा अनुमति विनाको संस्था फेला परेको हो ।
 
सञ्चालक साहले गैर कानूनी रुपमा काम नगर्न आग्रह गर्ने श्रम कार्यालयका कर्मचारीहरुलाई धपाउन स्थानीय रामानन्द चोकका गुण्डा समेत परिचलन गरेको बताइएको छ । श्रम  कार्यालय जनकपुरका  सुरेशप्रसाद सिंहले २  दिनको  अभिमुखीकरण तालिम २ घण्टामा नै  दिएर प्रमाणपत्र तयार गरी वैदेशिक रोजगारीमा जानेहरुलाई ठगेको बताएका छन् । दर्ता अनुमति नियमानुसार दर्ता रहेको स्थान बाहेक अन्यत्र डिभाईस लगेर अभिमुखीकरण तालिम सञ्चालन गर्न मिल्दैन । जनकपुरमा भएको यो अवैध कार्यबारे स्थानीय प्रशासन र वैदेशिक रोजगार विभागमा समेत केही व्यवसायीहरुले जानकारी गराए पनि ठोस कारबाही नभएको बताइएको छ । रंगेहात फेला परेका साहलाई जिल्ला प्रशासन कार्यालयले तारेखमा छाडेको छ भने साहले स्थानीय वैधानिक व्यवसायीलाई आफूमाथि लुटपाट र हातपात गर्न आएको भन्दै उल्टै प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
 
Published on: 12 February 2018 | Madhyanha

Back to list

;