s

जनकपुर र बुटवलबाट श्रम स्वीकृति सुरु

सन्तोष सिंह, अमृता अनमोल

श्रम तथा रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुन: श्रम स्वीकृति जनकपुर र बुटवलमा आइतबारबाट दिन थालेको छ । श्रमले काठमाडौं केन्द्रित पुन: श्रम स्वीकृतिलाई प्रदेशबाटै दिने नीतिअनुसार जनकपुर र वुटबलबाट दिन थालेको हो । बाँकी प्रदेशबाट दिने तयारी भइरहेको छ ।

 
प्रदेश २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयले पहिलो सेवाग्रहीका रूपमा धनुषाको जिलानी मोमिनले श्रम स्वीकृति पाए । उनी कतारबाट बिदामा आएका थिए । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका प्रमुख मनोजकुमार यादवले उनलाई फूलको माला र अबिर लगाएर स्वागत गरे । श्रम स्वीकृतिको काम प्रदेशमै गराउन पाएपछि समय र खर्चको बचत भएको भन्दै मोमिनले खुसी व्यक्त गरे ।
 
‘प्रदेश कार्यालयबाट विदेश गई फर्केकालाई दोस्रो पटक श्रम स्वीकृति दिने काम हुनेछ,’ यादवले भने, ‘काठमाडांै कार्यालयबाट श्रम स्वीकृति लिनेमध्ये प्रदेश २ का बढी छन् । त्यसकारण काठमाडौं बाहिर बुटबल र जनकपुरमा आइतबारदेखि एकैसाथ सेवा सुरु भएको हो ।’ जनकपुरमा सञ्चालन हुँदै आएको श्रम कार्यालय नै श्रम तथा रोजगार कार्यालयमा परिणत भएको छ ।
 
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक गुप्तासहित छ जनाको प्रविधिक टोलीले जनकपुरबाट श्रम स्वीकृति थालेको हो । १० वर्षदेखि वैदेशिक रोजगारमा रहेको मोमिन ५ औं पटक कतार जाँदै छन् । ‘काठमाडौंबाट श्रम गराउन राति १२ बजेदेखि नै लाइन बस्नुपथ्र्यो,’ मोमिनले भने, ‘काठमाडौंमा देशभरिबाट आउने भएको हुँदा भीड हुन्थ्यो । श्रमको काम गराउन तीन दिनसम्म लाग्थ्यो । अतिरिक्त खर्च बढथ्यो ।’ जनकपुर कार्यालयबाट प्रदेश २ को ८ जिल्लाबाट आउने सेवाग्राहीले सेवा पाउने निमित्त प्रमुख यादवले बताए ।
 
श्रम तथा रोजगार कार्यालय जनकपुरले श्रम स्वीकृतिका लागि १ हजार ५ सय राजस्व र उमेरअनुसार बिमाको रकम तिर्नुपर्ने जनाएको छ । दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म सेवाग्रहीको चापले काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालयमा श्रम स्वीकृतिका लागि जाँदा मोटो खर्च र समय बढी लाग्ने समस्याबाट प्रदेश २ का सेवाग्राहीले मुक्ति पाएका छन् । श्रम तथा रोजगार कार्यालय जनकपुरमा श्रम स्वीकृतिको सुविधा थपिएपछि १५ जना कर्मचारीको दरबन्दी रहेकामा ७ जनाबाट सेवाको सुरुवात गरिएको छ ।
 
बुटवलमा सेवा दिनको लागि वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागार्इं पुगेका थिए । उनले सुक्खानगरका वीरबहादुर माझीलाई बुटवल कार्यालयबाट पहिलो स्वीकृति दिएका हुन् । उनीसँगै पहिलो दिनमा १० जनाले स्वीकृति लिएका छन् । महानिर्देशक चापागाईंले अब बिनाझन्झट वैदेशिक रोजगारीमा जानेको बुटवलबाटै श्रम स्वीकृति र नवीकरणको काम हुने बताए ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्री भएको एक सातामै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज रूपमा उपलब्ध गराउने बताएका थिए । मन्त्रिपरिषद्ले प्रदेशबाटै श्रमस्वीकृति दिने अख्तियारी श्रम तथा रोजगार कार्यालयलाई प्रदान गरेको छ ।
 
ती कार्यालयबाट पहिलो चरणमा पुन: श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य हुने श्रममन्त्री विष्टले बताए । ‘श्रमको स्वीकृति दिनेदेखि सेवा प्रवाहको गुनासो अन्त्य गर्ने गरी काम हुनेछन्,’ उनले भने, ‘त्यसले अब श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।’ छिट्टै नै अन्य प्रदेशमा पनि सेवा विस्तार गरिने उनले बताए ।
 
कार्यालय उद्घाटन गर्दै महानिर्देशक चापागाँइले सेवाग्राहीको काम छिटोछरितो गर्न जनशक्ति तथा व्यवस्थापन चुस्त पारेको दाबी गरे । ‘कर्मचारी व्यवस्थापनदेखि सेवाका लागि आवश्यक उपकरण चुस्त पारेका छौं,’ उनले भने, ‘भौतिक र सूचना व्यवस्थापनका लागि आवश्यक काम पनि जारी छन् ।’ पहिलो पटक घरनजिकैबाट श्रम स्वीकृति लिएका माझी पनि खुसी देखिए । दुई वर्ष मलेसिया बसेर फर्केका उनी पुन: जानका लागि नवीकरण गरेका हुन् । ‘२ दिन काठमाडौं आउजाउमै र कम्तीमा दुई दिन नवीकरणमै बित्थ्यो,’ उनले भने, ‘अब सबै झन्झट हरायो ।’
 
आइतबारबाट श्रम स्वीकृतिको सेवा सुरु गर्न यहाँ शनिबारसमेत कर्मचारी कार्यालयको भौतिक तथा सूचना व्यवस्थापनमा खटेका थिए । श्रम स्वीकृति दिँदा आवश्यक पर्ने सूचना संकलन तथा उपकरण लिएर श्रम विभागको इन्जिनियरिङ टोली शनिबार दिउँसो बुटवल आएको थियो । टोली आएपछि इन्टरनेट जडान, स्टिकर तथा मेसिन जडानका काम भएका थिए । बुटवलमा दैनिक २ सय युवा श्रम स्वीकृति र नवीकरणका लागि आउने अनुमान गरिएको छ ।
 
Published on: 31 December 2018 | Kantipur

Back to list

;