s

जनकपुर र बुटवलबाट श्रम सेवा आजदेखि

आइतबारदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलको श्रम कार्यालयबाट श्रम तथा रोजगारसँग सम्बन्धित सेवा शुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा यी दुई प्रदेशमा रहेका श्रम कार्यालयबाट वैदेशिक रोजगारसँग सम्बन्धित सेवा शुरु गर्न लागेको हो । अहिलेसम्म वैदेशिक रोजगारीको सबै प्रकारका सेवाका लागि काठमाडौँमा आउनुपर्ने बाध्यता थियो । यी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेका लागि सेवा शुरु गरेपछि अहिले जस्तो केन्द्रमै आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । 
 
मन्त्रालयका अनुसार यी कार्यालयबाट आइतबारदेखि पुनः श्रम स्वीकृति वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी तथा अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारसम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरणलगायतका काम गरिनेछ । 
 
मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले वैदेशिक रोजगारीमा बढी विदेशिने प्रदेशलाई लक्षित गरी पहिलो चरणमा यी दुईवटा प्रदेशमा श्रम र रोजगार कार्यालयबाट हुने काम शुरु गरिएको जानकारी दिनुभयो । यो सेवा शुरु भएका प्रदेशबाट श्रम स्वीकृति, पुनःश्रम स्वीकृतिका लागि युवा काठमाडौँमा आउनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ । डा. रेग्मीका अनुसार दोस्रो चरणमा क्रमशः प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमाञ्चल प्रदेशको धनगढीबाट पनि श्रम तथा रोजगार कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको छ ।  
यसअघि, काठमाडौँको ताहचलस्थित वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालयबाट मात्रै श्रम स्वीकृति दिइने गरिएको छ । सबै प्रदेशबाट श्रम र रोजगारसँग सम्बन्धित सेवा दिन शुरु गरेसँगै हाल रहेको ताहचलको वैदेशिक रोजगार कार्यालयको स्वभाविक रूपमा कम हुनेछ ।
 
Published on: 30 December 2018 । Gorkhapatra

Back to list

;