s

जनगणनाको नतिजा र वैदेशिक रोजगार

डा. गणेश गुरुङ

कुनै पनि नीति निर्माण र विकास योजना तयार पार्न सही तथ्यांक आवश्यक पर्छ । तथ्यांकमा आधारित नभएको नीति विकास योजना र निर्णयहरू हचुवा भई निर्धारित लक्ष्य प्राप्त नहुन सक्छ । यसै सिलसिलामा नेपालको तथ्यांकको हिसाबले सबैभन्दा ठूलो गणना वा तथ्यांक संकलन जनगणना हो, जुन नेपालमा सुरु भएको ठ्याक्कै एक सय वर्ष पुगेको छ । नेपालमा जनगणना गर्न थालेको सन् १९६८ बाट हो, जुनबेला नेपालको जनसंख्या ५६,३८,७४९ मात्र थियो ।

देशमा नयाँ संविधान बनाउने प्रक्रिया चलिरहेको बहसमा यसपटकको जनगणनाको नतिजा एकदमै महत्त्व राख्छ । यस नतिजाले कतिपय मुद्दाहरूलाई निर्णय गर्न ठोस प्रमाण पेस गर्छ । संघीयता यसको एउटा बलियो उदाहरण हुनसक्छ ।

जनगणना २०६८ नतिजा

केन्द्रीय तथ्यांक विभागले जनगणना २०६८ को हालै नतिजा प्रकाशित गरेको छ, जसअनुसार कुल जनसंख्या २,६४,९४,५०४ छ । त्यसमध्ये ५१.५ प्रतिशत महिला र ४८.५ प्रतिशत पुरुष छन् । यस पटकको जनगणनामा २०५८ सालको भन्दा ३३ लाख ४३ हजार ८१ जना बढेका छन् । त्यसमा महिलाको संख्या अझ बढेको छ र त्यो पुरुषको तुलनामा झन्डै तीन प्रतिशत बढी छ । काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा बढी (१७,४४,२४०) र सबैभन्दा कम मनाङ जिल्ला, जसको जनसंख्या ६,५३८ मात्र छ ।

घरपरिवारमा २०५८ मा औसत ५.४४ जना रहन्थे भने २०६८ मा आएर ४.८८ प्रति परिवार हुनगएको छ । सबैभन्दा ठूलो परिवार संख्या भएको जिल्ला रौतहट जहाँ एक परिवारमा औसतमा ६.४४ जना र सबैभन्दा कम कास्कीमा ३.९२ जनामात्र पाइएको छ ।  त्यसैगरी तराईमा जनसंख्या ५०.२७ हुन आएको छ र अब नेपाललाई जनसंख्याको दृष्टिकोणमा पहाडी देशमात्र पनि भन्न नमिल्ने भएको छ । अघिल्लो जनगणनाले नदेखाएको तर यस पटकको जनगणनाले देखाएको नतिजामा मोबाइल फोन हो । सायद २०५८ सालमा मोबाइल सेवा भर्खरै सुरु भएको हुनुपर्छ । नेपालको कुल जनसंख्यामध्ये ६४.६३ प्रतिशतसँग मोबाइल फोन भएको देखाएको छ, जसमध्ये ८४.०७ प्रतिशत सहरी क्षेत्रमा र ५९.९८ ग्रामीण क्षेत्रमा रहेको देखाएको छ । यसैगरी टेलिभिजन पनि ३६.४५ प्रतिशत (६०.६७ प्रतिशत सहरमा र ३०.६६ प्रतिशत ग्रमीण भेगमा) रहेको देखाएको छ । यसको अर्थ नेपालमा सञ्चार सम्पर्क सहज हुँदै आएको देखिन्छ । यसले सञ्चारको ठूलो पूर्वाधार तयार भएको देखाउँछ ।

वैदेशिक रोजगार

यसपालीको जनगणनाको नतिजा आउनुभन्दा अगाडि कुल जनसंख्या र वृद्घदिर कति होला भन्नेबारे सार्वजनिक बहस नभए पनि यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूबीच बहस भई अडकल लगाउने काम भइरहेको थियो । यसरी अनौपचारिक अनुमानको खासगरी २०५८ को वृद्घदिर, हरेक पाँच/पाँच वर्षमा गरिने नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणको परिणाम र अन्य अध्ययनहरूको नतिजालाई आधार मानिन्छ । जस अनुसार प्रायः विज्ञहरूले यसपालीको जनसंख्या वृद्घदिर दुई प्रतिशतको हाराहारीमा आई नेपालको कुल जनसंख्या २ करोड, ६४ लाख, ९४ हजार ५ सय ४ भन्दा धेरै माथि आउने अनुमान गरिएको थियो । तर जनसंख्या वृद्घदिर २ प्रतिशत नभई १.३५ प्रतिशतमा झर्‍यो । नेपालको जनसंख्या अपेक्षाभन्दा निकै तल झरेको देखायो, जो यस क्षेत्रमा काम गर्नेहरूका लागि अनुमानभन्दा फरक पर्न गयो ।

यस्तो कसरी हुनपुग्यो ? यस अघिका जनगणना नतिजामा प्रायः अनुमानहरू झन्डै-झन्डै मिल्न जान्थे, तर यसपटक यस्तो हुनसकेन । जनसंख्या २.२५ प्रतिशतबाट ह्वात्तै घट्नुको एउटैमात्र कारण नभई विभिन्न कारण अवश्य छन् । अब आउने दिनमा सूक्ष्म रूपले तथ्यांक विश्लेषण गरेपछि मात्र पत्ता लाग्नेछ । तर अहिले एउटा प्रमुख कारण देखिएको छ, जसले जनसंख्या वृद्घदिर ह्वात्तै घटाउने कारक तत्त्व बनेको हुनुपर्छ, वैदेशिक रोजगार । हामीले नेपाली युवाहरू ३० लाख वैदेशिक रोजगारमा छन् भनी आए तापनि यस पटकको जनगणनाले झन्डै २० लाख(वा १९ लाख २१ हजार ४ सय ९४ जना) वा अनुपस्थित जनसंख्या भई वैदेशिक रोजगारमा गएको देखाएको छ, जुन २०५८ को जनगणनामा ७ लाख ६२ हजार १ सय ८१ मात्र थियो ।

यस पटकको जनगणनाले देखाएको १९ लाख २१ हजार ४ सय ९४ जनामध्ये प्रायःजसो युवा र सन्तान उत्पादन उमेरका गर्ने भएकाहरू, श्रीमती/श्रीमान छाडी गएका र कम्तीमा २-३ वर्ष घर आउन नपाउने परिस्थितिमा काम गर्ने समूह भएकोले स्वतः जन्मान्तरको समय बढ्नाले जनसंख्या घटेको हुनुपर्छ । यी माथिको झन्डै २० लाखमध्ये १० वर्ष जनयुद्घताका २०-२५ हजार युवाहरू यसै जनगणना (२०५०-६८) बीचमा जंगल पसेकाले पनि थोरै भए पनि जनसंख्या वृद्घ िगर्ने समय प्राप्त नहुनाले जनसंख्या वृद्घदिर घटाउन सहयोग पुर्‍याए होलान् ।

यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालयले सन् २०११ मा निकालेको नेपाल जनसंख्या र स्वास्थ्य सर्वेक्षणअनुसार एउटा नेपाली महिला सरदरमा सन् १९९६ मा ४.६ बच्चा पाउँथे भने २०११ मा ह्वात्तै घटी २.६ मात्र बच्चा जन्माएको देखाएको छ । यसरी बच्चा जन्माउने दर  ह्वात्तै घट्नुको प्रमुख कारण वैदेशिक रोजगार नै हुनुपर्छ । यसअघि यसरी बच्चा जन्मने दर ह्वात्त घटेको थिएन । स्मरण रहोस्- परिवार नियोजनका साधन प्रयोग गर्ने मानिसको यस अवधिमा कुनै वृद्घि भएको देखिँदैन ।

यसरी जनसंख्या वृद्घदिर घटाउनमा वैदेशिक रोजगार वा अनुपस्थित जनसंख्याको भूमिका देखिन्छ । यस बाहेक पनि यसपालाको जनगणनाको नतिजामा वैदेशिक रोजगारले प्रभाव पारेको देखिन्छ । वैदेशिक रोजगार गएपछि विप्रेषण आउन थालेपछि बिस्तारै परिवारहरू बच्चा पढाउन र स्वास्थ्य सुविधाको खोजीमा गाउँबाट सडक किनारमा वा सदरमुकाम बसाइँ-सराइ सर्ने क्रम बढेकोले हाम्रो गाउँघर रित्तिएको छ । त्यसलाई यस पटकको जनगणनाले सहरी जनसंख्या २०५८ मा १४.२ रहेकोमा २०६८ मा वृद्धि भई १७.०७ भएको भन्ने तथ्यांकले सिद्घ गर्छ । यसरी वैदेशिक रोजगारले आन्तरिक बसाइँ-सराइ बढाउन मद्दत पुर्‍याएको छ ।

निष्कर्ष ५२ वर्षसम्म नेपाल सरकारले अमेरिका र अन्य दातृराष्ट्रहरूको सहयोगमा जनसंख्या वृद्घि घटाउन अथक प्रयास गरे तापनि ह्वात्तै अपेक्षाकृत तरिकाले नघटेको अवस्थामा देशबाट झन्डै २० लाख युवाहरू वैदेशिक रोजगार गई देशको अर्थतन्त्रमात्र धानेनन् कि जनसंख्या वृद्घदिर घटाई नेपालको जनसंख्या बनोटमै प्रभाव पारेको देखिन्छ । अझै केही आउँदा वर्षहरूसम्म नेपालको जनसंख्या बनोटलाई प्रभाव पार्ने प्रमुख कारक वैदेशिक रोजागार भइरहनेछ ।

समाजशास्त्री गुरुङ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन्

Published on: 18 December 2012 | Kantipur

Back to list

;