s

जेलमा कपाल काटेर परिवार पाल्दै

प्रताप विष्ट

घरवाट परिवार भेट्न आएका बेलामात्र उनलाई जेल परेको अनुभूति हुन्छ । अरू समयमा उनलाई जेलमा छु कि सैलुनमा काम गरिरहेको छु पत्तै हुँदैन। महोत्तरी बर्दीवासका राजु ठाकुरलाई भीमफेदी क्षेत्रीय कारागारमा कपाल र दाह्री काट्न भ्याइनभ्याई छ । उनले जेलको एउटा कुनामा सैलुन खोलेका छन् । बिहान उठेदेखि बेलुका अवेरसम्म कपाल काट्दैमा उनको समय बित्छ । ३० वर्षीय ठाकुरलाई कपाल काट्दा काट्दै दिन बितेको पत्तै हँुदैन ।

‘जेलमा ३ वर्ष वितिसक्यो,’ ठाकुरले भने, ‘सैलुन नराख्दा दिन काट्न गाह्रो भएको थियो, अहिले सजिलो भएको छ ।’ जेलभित्रका बन्दी र कैदीको कपाल र दाह्री काटेर उनले मासिक ४ हजार रुपैयाँ जोगाउने गरेका छन् । कपाल र दाह्री काटेको उनले २० रुपैयाँ लिने गरेका छन् । पैसा नभएका कैदीबन्दीको कपाल सित्तैमा काटिदिने गरेका छन् । करिब ५ सय पुरुषमात्र बन्दी रहेको उक्त कारागारमा ठाकुरले दैनिक १५ जनादेखि ३५ जनासम्मको कपाल र दाह्री काट्ने गरेका छन् । ठाकुरलाई भेट्न घरबाट मासिक रूपमा परिवार आउने गर्छन् ।

‘जेलबाट बाहिर निस्केर परिवारसँग कुराकानी गर्न नपाउँदा मात्र जेल परेकोजस्तो लाग्छ,’ ठाकुरले भने,‘ अरू बेला बाहिर कुनै गाउँको बजारमा छुजस्तो लाग्छ ।’ घरबाट भेट्न आएका बेला मासिक रूपमा उनले ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म घर पठाउने गरेका छन् । ठाकुरको जेल पर्नु अघिको कमाइभन्दा जेल परेपछिको कमाइ दोब्बर छ । उनको जेलभित्रकै कमाइले ६ जनाको परिवार जेनतेन पालिएका छन् । गाउँमा कमाइ गर्ने जग्गा जमिन छैन । उनकै भरमा उनीहरू पालिएका छन् । जेलभित्र पनि उनको बाहिरकै जस्तै सैलुन छ ।

‘जेलभित्रका बन्दीको कपाल र दाह्री काट्न समस्या थियो,’ जेलर चिरञ्जीवी थापाले भने,‘ठाकुरले सैलुन राखेपछि सहज भएको छ ।’ ठाकुरलाई सैलुन राख्न जेलको वाह्य र आन्तरिक प्रशासनले सहयोग गर्नुका साथै अनुमति दिएको थियो । सैलुनमा ठाकुरले २ ठूला ऐना र एउटा घुम्ने कुर्ची राखेका छन् । जेलमा परेका युवालाई जेलमा नै कपाल काट्ने तालिम दिने उनको सोच छ । जेल प्रशासनको सहयोगमा ठाकुरले तालिम सञ्चालन गर्ने योजना बनाएका छन् । खैरो हेरोइन ओसारपसार मुद्दामा ०६९ असारमा जेलमा परेका ठाकुरले ०७० भदौदेखि जेल प्रशासनको सहयोगमा सैलुन खोलेका हुन् । ठाकुरलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैदको फैसला गरेको छ ।


Published on: 21 June 2015 | Kantipur
 

Back to list

;