s

जागिरको प्रलोभन देखाएर ५६ जनाबाट १० लाख ठगी

रोजगारीको प्रलोभन देखाएर धनगढीमा एकजना व्यक्तिले ५६ जना युवायुवतीलाई ठगेको खुलेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– ४ घर भएका ३२ वर्षीय अमरसिंह धामीले रोजगार दिने प्रलोभन देखाएर पैसा असुल गरी सम्पर्कविहीन भएको भन्दै ५६ जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उनीविरुद्ध उजुरी दिएका छन् । उनी करिब १० लाख रुपैयाँ लिएर फरार भएका पीडितले बताएका छन् ।

धामीले धनगढी– १३ कैलाली गाउँमा उद्यमी सहयोगी तथा तालिम केन्द्र प्रालिको नाममा कार्यालय स्थापना गरी सामाजिक सञ्जालमा विभिन्न पदमा कर्मचारीको विज्ञापन गरेका थिए । आवेदन दिएकालाई अन्तर्वार्ता लिएपछि छनोटमा परेको भन्दै उनले ल्यापटप र पोसाक खरिद गरेर दिने नाममा प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म असुल गरेको पाइएको छ ।

डोटीको केआइसिंह गाउँपालिका– ६ का टेकराज जोशीले सामाजिक सञ्जालमा उद्यमी सहयोगी तथा तालिम केन्द्र प्रालिले उद्यमी जुनियर को–अर्डिनेटर पदमा विज्ञापन खोलेको थाहा पाएपछि अनलाइनबाटै फाराम भरे । फाराम भरेको केही दिनमा गत १० साउनमा उनलाई कम्पनीका सञ्चालक भनिएका धामीले फोन गरेर अन्तर्वार्ताका लागि धनगढी बोलाए । उनलाई छनोट गरिएको जानकारी दिइयो र तालिम लिनुपर्ने भनियो ।

गत ३ भदौदेखि डोटीको गैरामा विभिन्न पदमा छनोट भएको भनिएका करिब ६० जनासँगै जोशीले पनि एक साता तालिम लिए । ‘तालिम सकेपछि ल्यापटप र पोसाक दिने भनेर कम्पनीले ५५ हजार माग्यो । बेरोजगार बस्दा घर खर्च चलाउनै समस्या थियो । जागिर पाइने भएपछि ऋण लिएर पैसा पनि बुझाएँ,’ जोशीले भने, ‘पैसा बुझाएदेखि कम्पनीका सञ्चालक सम्पर्कविहीन छन् ।’

धामीलाई आफूले ५५ हजारको चेक दिएको र त्यसको प्रमाण सुरक्षित रहेको उनले बताए । जोशीका अनुसार उनलाई १७ हजार तलब दिने सर्तसहित असोजदेखि लागू हुने गरी नियुक्तिपत्र पनि दिइएको थियो । आफ्नो वडामै काम गर्नुपर्ने भनिएकाले थोरै तलब दिने भने पनि चित्त बुझाएको उनले बताए ।

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत बैतडीको दशरथ चन्द नगरपालिका– २ घर भएकी पुष्पा बोहरा जागिरको खोजीमा थिइन् । उद्यमी सहयोगी तथा तालिम केन्द्र प्रालिका नाममा सामाजिक सञ्जालमा कर्मचारी माग गरेको सूचना पाएपछि आवेदन दिएकी उनलाई अन्तर्वार्तापछि जुनियर को–अर्डिनेटर पदमा छनोट गरिएको जानकारी दिइयो । ‘गैरामा तालिम हुँदै गर्दा ल्यापटप र पोसाक किनेर तपाईंहरूलाई नै दिन्छौँ भनेर कम्पनीका सञ्चालकले पैसा मागे, घरबाट मगाएर ४४ हजार आठ सय ७५ रुपैयाँ बुझाएँ,’ उनले भनिन्, ‘अहिले कम्पनीका सञ्चालक सम्पर्कविहीन छन्, जागिरको प्रलोभन देखाएर हामीलाई ठगेका रहेछन् ।’

बोहराका अनुसार तालिमको खान र बस्नको खर्च छनोटमा परेका भनिएका कर्मचारीले आफैँले व्यहोरेका थिए । पुष्पालाई ४ असोजदेखि लागू हुने गरी जुनियर को–अर्डिनेटरको नियुक्तिपत्र दिइएको छ । तालिममा गाउँमा गएर अरूलाई उद्यमशील बनाउने र कम्पनीका मेसिनरी सामान कसरी बिक्री गर्ने भनेर सिकाएको उनले बताइन् ।

सञ्चालकले करिब १० लाख रुपैयाँ उठाएको पीडितको अनुमान छ । सम्पर्कमा आएकाका आधारमा उजुरीमा १० लाख ठगेको उल्लेख गरे पनि सबैको हिसाब गर्दा त्योभन्दा धेरै रकम पुग्ने अर्का पीडित पारस बोहराले बताए । कैलाली गाउँमा रहेको कम्पनीको कार्यालयमा लेखापाल पदमा चार महिनासम्म काम गरे पनि आफूले एक रुपैयाँ पनि तलब नपाएको उनले गुनासो गरे । बोहराका अनुसार कम्पनीका नाममा बैंक खाता नभएकाले कारोबार नगदमा हुने गरेको थियो ।

‘तलब माग्दा सञ्चालकले जहिल्यै ८–१० दिनमा दिन्छु भन्थे, चार महिना काम गर्दा एक रुपैयाँ पनि दिएनन्,’ उनले भने, ‘विद्यार्थीबाट पैसा उठाएदेखि सञ्चालक फोन अफ गरेर सम्पर्कविहीन छन् । फेसबुक पनि बन्द छ ।’ कार्यालयमा सोफा र दराज मात्र रहेको उनले बताए । उनले आफूसहित चारजना कर्मचारीले काम सुरु गरेदेखि अहिलेसम्म चार महिनाको तलब नपाएको बताए । ‘रोजगारीका नाममा हामीलाई ठगेको रहेछ, अन्य पीडितसँगै हामीले पनि धामीविरुद्ध प्रहरीमा उजुरी दिएका छौँ,’ बोहराले भने ।

पैसा उठाएर असोजदेखि धामी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी र प्रशासनमा उजुरी दिएका छन्, तर प्रहरीले धामीको खोजीमा चासो नदिएको उनीहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले धामीको खोजी भइरहेको बताएका छन् । ‘रोजगारीको प्रलोभनमा पैसा उठाएर बेपत्ता भएका रहेछन्, उजुरी आएपछि हामी खोजी गरिरहेका छौँ,’ उनले भने । कति रकम ठगी गरेको हो भन्ने यकिन भइनसकेको उनले बताए । उक्त कम्पनी दर्ता छ कि छैन भनेर पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Published on: 12 October 2023 | Naya Patrika

Link

Back to list

;