s

जागिर खोज्न सरकारी वेबसाइट

जागिरको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई समन्वय गराउन श्रम विभागले ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ । नेपालमा निजी क्षेत्रमा विभिन्न ‘जब पोर्टल’ सञ्चालन भए पनि सरकारी स्तरबाट सञ्चालित यो पहिलो हो । 
 
श्रम विभागले जब पोर्टल र यसको प्रयोगबारे सोमबार राजधानीमा अन्तक्र्रिया गर्दै यसले बेरोजगार र रोजगारदाता दुवैलाई फाइदा पुर्‍याउने जनाएको छ । विभागले भदौ ९ बाट डब्लूडब्लूडब्लू डट जबखोज डट जीओभी डट एनपी (www.jobkhoj.gov.np) मा सञ्चालनमा ल्याएको हो । 
 
श्रम विभागले आठ वर्षदेखि रोजगार सूचना केन्द्र सञ्चालन गर्दै आएकामा अहिले अनलाइनमा आधारित जब पोर्टल थप गरेर यसलाई व्यापक बनाउने बताएको छ । यसलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र कोरियन अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
 
विभागले बेरोजगार तथा रोजगारदाताले आफ्नो विवरण सूचना केन्द्रमा गएर वा सिधै पोर्टलमार्फत भर्न सक्ने जनाएको छ । श्रम विभागका सूचना केन्द्र भद्रपुर, विराटनगर, उदयपुर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, पर्वत, दाङ, जुम्ला, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा छन् । पोर्टमा जागिरको खोजीमा रहेका तथा रोजगारदाताले नि:शुल्क विवरण राख्न सक्ने र विभागले विवरण भर्न पनि नि:शुल्क सहयोग गर्ने जनाएको छ ।
 
श्रम विभागमा महानिर्देशक देवराज ढकालले पोर्टलमा सरकारी, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी निकायका विज्ञापनलाई पनि समेट्दै व्यापक बनाउने बताए । ‘भर्खर सुरु भएकाले यसका कमीकमजोरी हटाउँदै आधिकारिक पोर्टल बनाउन लागेका छौं,’ ढकालले भने, ‘अहिले धेरैको हातमा स्मार्ट फोन भएकाले यसको प्रयोग बढ्नेमा हामी विश्वस्त छौं ।’ 
 
Published on: 19 September 2017 | Kantipur

Back to list

;