s

जाडो बढेपछि बेंसी झर्दै गाउँले

राजबहादुर शाही

हिमपातले जाडो बढेपछि पूर्वी करान भेगका स्थानीयवासी बेंसीतिर झरेका छन् । करान भेगअन्तर्गत डोल्फ, मुगु, पुल, किम्री, दाउँरा, चितैलगायत गाउँबाट चौंरी, झोबा र घोडा सँगै लिएर करिब पाँच महिनाका लागि बेंसीतिर झरेका हुन् ।

सीमा गाविस मुगुका हिँड्न नसक्ने बुढापाका चौंरी, झोवा र भेडाबाख्रा लिएर सिलनचौरको ओडारमा सरेका छन् भने भारी बोकेर हिँड्न सक्ने अन्य स्थानीयवासी कोही जुम्ला, कोही तराई र कोही सदरमुकामतिर लागेका छन् ।

भारी हिमपातका कारण गाउँमा बस्न नसकिने नभएपछि पूर्वी करान भेगका स्थानीयवासी अन्न थन्क्याएर पुस महिनादेखि बेंसीतिर लाग्ने र जाडो कटेर तातो मौसमको सुरुवातपछि गाउँतर्फ फर्किने गरेका छन् ।

'हिउँले त घरको ढोका नै थुन्छ, चिसोले हातखुट्टा चलाउनै मुस्किल हुन्छ,' मुगु गाउँका सोनाम तोर्चे तामाङले भने, 'पाँच महिना गाउँ बस्न सकिँदैन, त्यसैले बाहिरतिर जाने गरेका छौं ।'

गाउँका सम्पूर्ण स्थानीयवासी जाडो कटाउन बाहिर हिँडेपछि सिंगो मुगु गाविस सुनसान हुने गरेको छ । गाउँ शून्य भएपछि त्यहाँ रहेको सीमा प्रहरी चौकी ३ महिनाका लागि पुलु चौकीसँगै राख्ने गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

चिसोका कारण स्थानीयले गाउँ छाडेपछि हरेक वर्ष करान क्षेत्रका सम्पूर्ण विद्यालय पुस र माघ महिनाभर बन्द हुने र फागुन लागेपछि सञ्चालन हुने गरेका छन् भने स्वास्थ्य सेवा पनि प्रभावित हुने गरेको छ । 'वैशाख नलाग्दासम्म गाउँ नै सुनसान हुन्छ,' मुगु गाविस सचिव नन्दबहादुर मल्लले भने, 'गाउँले गाउँ नर्फकंदासम्म कुनै विकासको कामकाज हुँदैन ।' त्यो बेलासम्म आफू पनि जिल्लामै बस्ने गरेको मल्लले बताए ।

जाडोले गाउँमा बस्न नसकिने र अन्न उत्पादन नहुँदा भोकमरीले जीवन धान्न मुस्किल हुने गरेपछि चितै, मुगु, डोल्फ र वाङग्री गाउँबाट ३० भन्दा बढी परिवार आफ्नो जन्मथलो छाडेर बाहिरिएका छन् ।

डोल्फुको १३ परिवार रहेको वाङग्री गाउँका सम्पूर्ण स्थानीयवासी बस्ती छाडेर कोही जुम्ला र कोही तराईतिर गएपछि उक्त गाउँ मानवविहीन बनेको छ । त्यहाँ रहेको प्रावि स्कुल अन्यत्र सारिएको जिशिकाले बताएको छ ।

पूर्वी करान भेगका मुगु, डोल्फु, पुलुलगायत गाविसमा सरकारी निकायबाट सञ्चालन हुने भौतिक पूर्वाधार र आयआर्जनका योजना जेठबाट सुरु गरी असारमै सम्पन्न गर्ने चलनले दिगो नभएको स्थानीयको भनाइ छ ।

जेठ महिनादेखि बहुमूल्य जडीबुटी यार्सागुम्बु टिप्न सुरु हुने र असारदेखि तिब्बतको व्यापारी नाका खुल्ने भएपछि व्यापार व्यवसायका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका तामाङ मुगाली घर र्फकन्छन् ।

Published on: 12 January 2012 | Kantipur

Back to list

;