s

जागिर बिक्री

दिनेश रेग्मी

रोजगारीको लागि भारत आउने नेपालीहरूका थुप्रै पेसामध्ये एक हो- चौकीदारी । कतिपय नेपालीको त यो पुख्र्यौली पेसाजस्तै भएको रहेछ । बाउ-बाजे, बराजुले सुरु गरेको पेसा नातिसम्म आइपुगेको छ । दुई साताअघि दिल्ली मुम्बई पुग्दा यस्ता थुप्रै रोजगार नेपाली भेटिए । चौकीदारमा भर्तीको आधार सामाजिक सम्पर्क मुख्य रहने गरेको छ । आफन्त वा चिनेजानेकाबाट जाने । विशेष योग्यता र सीप नचाहिने भएकोले यसलाई सजिलो मान्ने कैयौं नेपाली छन् । चौकीदारीमा भारतकै विभिन्न राज्यमा मान्छेहरू उत्तिकै भेटिन्छन् । 

यही चौकीदारीको जागिर पनि भारतमा बिक्री हुँदो रहेछ । व्यक्तिगत चिनजान र सम्पर्कको माध्यमबाट सुरु हुने चौकीदारी काम नाफा-घाटाको व्यापार पनि बन्दो रहेछ । 'जागिर बिक्री गरेर घर गएको थिएँ, २ वर्षपछि आउँदा किनेर काम गरेको छु,' मुम्बईमा चौकीदारी गर्ने कैलाशमाण्डु-९, बाजुराका दिलबहादुर थापाले सुनाए । १४ वर्षदेखि मुम्बईमा आवत-जावत गर्दै काम गरेका दिलबहादुरले लामो छुट्टीमा घर जाँदा जागिर बेच्छन् र फर्किंदा किन्छन् ।

९ महिनाअघि घरबाट मुम्बई फर्केर २५ हजार भारुमा जागिर किनेका उनले २ वर्षअघि घर जाँदा १६ हजार भारुमा बेचेका थिए । उनी चौकीदारी र थप काम गर्न रातदिन खटिएर मासिक करिब १३/१४ हजार भारु कमाउँछन् । जागिर किन्दा उनको करिब २ महिनाको तलब खर्च भएको छ । '२/४ हजारको सानोतिनो जागिरले खानै पुग्दैन, चौकीदारी जागिर नकिनी पाइँदैन,' उनले भने । दिलबहादुर अब घर फर्किंदा पनि बिक्री गररै जाने सुरमा छन् ।

कोपिला-६, बाजुराका ३५ वषर्ीय खड्कबहादुर शाहीको कुरा पनि उस्तै छ । उनी सुरुमा अर्कैको भवनमा सुरक्षागार्डको रूपमा काम गर्थे । कोल्टी गाविसको चिनेका एक व्यक्ति घर जाने भएपछि उनले तिनैसँग चौकीदारको जागिर किने- १२ वर्षअघि । 'सेक्युरिटीको जागिर छोडेर २० हजार -भारु) मा वाचम्यान गर्न किन्याँ हुँ, अब म छाडेर जाने बेला पनि बेचेरै जान्छु,' उनले भने । 

यसपालि ३ महिनाको छुट्टीमा जाँदा उनले गाउँकै आफन्तसँग ३० हजार भारु लिएर जागिर बेचेका थिए । मुम्बई फर्केपछि फेरि उनले पैसा फिर्ता गरेर आफ्नो काम फिर्ता लिएको बताए । 'बिनापैसा राख्दा केही बदमासी गर्‍यो भने म पर्छु भनेर ३० हजार लिएर उसलाई दिएको थिएँ,' उनले सुनाए, 'म आउन्जेल उसले काम गर्‍यो, आएपछि उसको पैसा फिर्ता गििदएँ, ऊ अन्तै गयो, मैले थालें ।'

निकै घना आवादी भएको सहर मुम्बईमा चौकीदार पनि धेरै छन् । जागिरको खरिद-बिक्री पनि यहीं बढी छ । बिक्री नगर्ने नेपालीहरू पनि छन् । सम्पर्कबिना नयाँलाई विश्वास गर्ने आधार छैन, पुरानामार्फत् जानुपर्छ । पुरानो घर छुट्टी, लामो बिदा वा बिदै भएर जाँदा जागिर बिक्री गर्छन् । 'यतिमा किन्ने बेच्ने भन्ने छैन, जतिमा पनि हुन्छ,' मुम्बईको अँधेरी इस्टस्थित एक कम्पाउन्ड परिसरका वाचम्यान सुपरभाइजर रहेका बुढाकोट-२ अछामका शंकर थापाले भने । उनले त्यही चौकीदारी गर्ने आफ्नै खलकका सदस्यहरूबाट काम पाएकोले किन्नु परेन । 'जागिर किन्नु-बेच्नु ठीक होइन तर पनि यहाँ चलेको छ,' १४ चौकीदारका सुपभरभाइजर शंकरले भने, 'यो एरियामा हामी सबै आफन्तहरू छौं, त्यसैले यहाँ किनबेच चलेको छैन ।'

२२ वर्षदेखि त्यही कम्पाउन्डभित्रको एक भवनमा चौकीदारी गर्दै आएका शंकरका हजुरबुवा पर्ने ६२ वषर्ीय बुद्धिसिंह थापाले किनबेचका धेरै कथा सुनेका छन् । उनले भने किनबेच गरेका छैनन् । त्यही ठाउँमा चौकीदारी गर्ने आफ्ना बाबु घर फर्किने बेला उनले काम सम्हालेका थिए । किनबेच गर्नेमध्ये कसैले नगदै ठाउँको ठाउँ लेनादेना गर्छन् भने केही घरतिर मिलाउने पनि बनाउँछन् । कसैले जमानीमार्फत भुक्तानीलाई सजिलो बनाउने गर्छन् ।

किन हुन्छ बिक्री?

जागिर बिक्री हुनाको कारणलाई यहाँ आम्दानीसँग जोडेर हेर्ने गरिएको छ । चौकीदारजस्ता अदक्ष कामदारका लागि महिनामा ६ देखि ७ हजार तलब भारत सरकारले तोकिदिएको छ । तर, ठाउँअनुसार २ हजारदेखि ४/५ हजार मात्र चौकीदारले तलब थाप्छन् । अरू आम्दानी उनीहरूको अतिरिक्त कामको फल हो । जुन घर/भवन/निजी कम्पनीमा उनीहरू चौकीदारी गर्छन्, त्यहाँ थप काम पाउँछन्- कारवास -गाडी सफाइ), बत्ती, पानीको बिल तिर्ने, बैंक जाने, तरकारी/सामान किनेदिने आदि । यो कामबाट थप आम्दानी र कहिलेकाहीँ टिप्स पनि मिल्छ । यही नै उनीहरूको थप कमाइ हो र यसैको लागि जागिर किन्नेहरूको कमी छैन ।

'म सेक्युरिटी गार्ड हुँदा काम लगातार गर्नुपथ्र्यो, तलब खान बस्नमै सकिन्थ्यो, त्यही हुनाले वाचम्यानको जागिर किन्याँ हुँ,'  खड्कबहादुर शाहीले थपे, 'पढालेखा छैन, ठूल्ठूलो जागिर पाइँदैन, नकिनेर के गर्नु ?' उनी १९ परिवार रहेको ४ तलाको एक अपार्टमेन्ट भवनमा काम गर्छन्, जहाँ त्यो भवनले मासिक १५ सय रुपैयाँ तलब दिने गर्छ । 'तलब त छैन तर सोसाइटी -भवनमा बस्नेहरू) को अरू काम गरेर महिनामा १५ हजार -भारु) जति कमाउँछु,' खड्कबहादुर भन्छन्, 'काम १२ घन्टा हो, गाडी साफ गर्दा बेस्सरी खट्नुपर्छ, अरू बेला आराम पनि गर्न पाइन्छ ।' 

कतिपय नराम्रा घटनामा चौकीदारको संलग्नताले अरूलाई समस्या पारेको छ । चौकीदारी गरेका परिवारले सन्तानलाई यो पेसाबाट अन्यमा स्थानान्तरण गर्न खोजेका छन् । चौकीदारको सुपरभाइजर २५ वर्षे शंकर थापा 'ड्राइभिङ' तिर जान लागेको बताउँछन् । कतिपयले कम्पनीमार्फत् व्यावसायिक सेक्युरिटी गार्ड/ चौकीदार राखेका छन् ।  

लौरोको साथमा कतिले १२ घन्टा र कसैले २४ सै घन्टा चौकीदारी गर्छन् । यो काममा सम्झौता, नियुक्तिपत्र हुँदैन । उनीहरूको सुत्ने कोठा भनेको प्रायः पानी तान्ने पम्प घर हो । खाना प्रायःले आफैं बनाएर खान्छन् । कतिपयलाई लत्ताकपडा मिल्छ । छुट्टी मिल्दैन । चौकीदारको नियमित काम आफ्नो जिम्मेवारीको भवनको रेखदेख गर्नु, नयाँ नौलो मानिस, गाडी आए सोधपुछ गर्नु, पानी तान्नु, बिग्रे-भत्केमा मर्मत सम्भारको लागि खबर गर्नु, गेट खुला-बन्द गर्नु हुन्छ । 

'महिनामा मेरो ज्यादा से ज्यादा चौकीदारी गरेर ३ हजार -भारु) भन्दा बढी हुँदैन,' ६२ वर्षे बुद्धिसिंह थापाको भोगाइ छ, 'त्यति खाना, चियापानी, फोनमै खर्च हुन्छ, घर पठाउन गाडी पुछपाछ र अरू काम गरेर कमाउनुपर्छ ।' यो कमाइ अरू सजिलो काममा नहुने हुनाले चौकीदारको काम खरिद बिक्री चलेको हो ।

Published on: 20 July 2013 | Kantipur

Back to list

;