s

इजरायलमा पन्ध्र सय कामदारको कोटा मागिने

वैदेशिक रोजगार विभागले इजरायलमा १५ सय नेपाली कामदार पठाउन कोटा माग गर्ने भएको छ । इजरायलले ‘केयरगिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव राखेपछि विभागले थप कोटा माग्न लागेको हो ।
 
‘अहिलेसम्म नेपालबाट ‘केयरगिभर’ मा मात्रै पठाउने गरेकोमा कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव आएको छ,’ विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले कान्तिपुरलाई भने, ‘हामीले केयरगिभर, कृषि र औद्योगिक (उत्पादन) क्षेत्रमा ५/५ सयका दरले १५ सय जनाको कोटा माग गर्ने भएका हौं ।’
 
आर्थिक स्थिति र कामदार सुरक्षाका हिसाबले इजरायल आकर्षक गन्तव्य हो । इजरायल र नेपालबीच कामदार पठाउने विषयमा सम्झौता भएपछि हाल ‘केयरगिभर’ मा परीक्षणका रूपमा कामदार पठाउन सुरु भइसकेको छ । ‘सरकारी सम्झौताअनुसार ५९ जना महिला केयरगिभर गइसकेका छन् । एक जनाको घरायसी कारणले जान ढिला भएको छ,’ पुडासैनीले भने, ‘पछिल्लो समय जानेमा सबै नर्स, अहेव र अनमी छन् ।’
 
इजरायलस्थित नेपाली दूतावासका अनुसार त्यहाँ पुगेका सबै नेपालीले कामसमेत पाइसकेका छन् । निजी क्षेत्रबाट पठाउँदा म्यानपावरबाट कामदार अधिक शोषित हुन थालेपछि ९ वर्ष नेपाली कामदार जान रोकिएको थियो । दुई देशका सरकारबीच सहमति भएपछि इजरायलले नेपाली कामदारको संख्या बढाउन थालेको हो ।
 
इजरायलस्थित नेपाली दूतावासले कृषि र औद्योगिक क्षेत्रमा नेपाली ल्याउने विषयमा छिट्टै टुंग्याएर पठाउन परराष्ट्रमार्फत श्रम मन्त्रालयलाई ताकेता गरिरहेको छ । इजरायल जानेले हवाई टिकटको मात्रै खर्च बेहोर्नुपर्छ । ‘श्रमस्वीकृतिका सबै प्रक्रिया विभागले नै मिलाउने हो । यसमा निजी क्षेत्रको भूमिका हुँदैन । भाषा र तालिम निजी क्षेत्रबाट हुने गरेको छ,’ उनले भने ।
 
Published on: 20 October 2016 | Kantipur

Back to list

;