s

इजरायलमा कामदार पठाउने तयारी

श्रम तथा रोजगार मन्त्रालयले इजरायलमा 'केयर टेकर' का रूपमा नेपाली कामदार पठाउने तयारी गरेको छ । त्यसका लागि आइतबार इजरायलबाट एक टोली नेपाल आएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कोरियामा जस्तै 'जी टु जी कन्ट्रयाक्ट' (एक अर्कोदेशको सरकारबीच) का आधारमा कामदार इजरायल पठाउने गृहकार्य भइरहेको जानकारी दिए । 'जतिसक्दो छिटो कामदार इजरायल पठाउने गृहकार्यमा छौं,' उनले भने, 'त्यस विषयमा हिजो (आइतबार) मात्र छलफल भयो ।' पहिलो चरणमा ५० कामदार इजरायल लैजाने सहमति बनेको छ ।

इजरायलले त्यहाँस्थित सेन्टर फर इन्टरनेसनल माइग्रेसन एन्ड इन्टिग्रेसन (सीआईएमआई) लाई कामदारसम्बन्धी जिम्मेवारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सीआईएमआईबाट पाइलट प्रोग्राम संयोजकमा योनाथन पाजसहित मिनिस्ट्री अफ इन्टेरियर र विदेश मन्त्रालयका केही अधिकारी पनि छन् । इजरायलले नेपाली कामदारलाई १४ दिने प्रशिक्षण दिएर केयर टेकरका रूपमा लैजाने छ । त्यसका लागि नेपालमा ट्रेनिङ सेन्टर खोल्ने र कामदारलाई १४ दिने प्रशिक्षण दिइनेछ । 

इजरालय जाने कामदार राम्ररी अंग्रेजी बोल्न सक्ने हुनुपर्नेछ । 'इजरायलबाटै टोली आउँछन्, अन्तर्वार्ता लिन्छन् र पास हुनेलाई प्रशिक्षण दिन्छन्,' राज्यमन्त्री गुरुङले भने, 'कामदारले हवाई टिकट र प्रशिक्षण खर्चमात्र बेहोर्नुपर्छ ।' उनले यसअघि इजरायल म्यानपावर कम्पनीले ९ लाख रुपैयाँसम्म लिएर नेपाली कामदार पठाउने गरेको उल्लेख गर्दै जी टु जी कन्ट्रयाक्टमा करिब १ लाख रुपैयाँमात्र लाग्ने पनि बताए । इजरायलमा मुख्यतया महिला कामदार लगिनेछ । 

Published on: 17 September 2014 | Kantipur

Back to list

;