s

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो। श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छन्। छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैं छटपटी हुन्छ।

“एउटा घटना जुन नहुनु थियो त्यो भयो। त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन”, मञ्जुले भनिन्, “छोराछोरीको भविष्यको चिन्ताले सताउँछ। बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन।”

आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यबारे हुने चिन्ता कम हुने उनी बताउँछिन्।

इजरायल घटनामै सुनसरीका राजेश स्वर्णकारको पनि ज्यान गयो। उनको परिवारलाई पनि पीडा भुलाउन मश्किल भएको छ।

“खाईनखाई गरेर बुढेसकालको सहारा होला भनेर छोरा पढाएँ, छोरा सधैंका लागि बिदा भएर गयो। अब बुढेसकालको सहारा कहाँ गएर खोजौ?”, राजेशकी आमा कैलाशदेवी स्वर्णकार भन्छिन्, “राज्यले परिवारको एउटा सदस्यलाई रोजगारी दिएको भए हाम्रा लागि ठूलो राहत हुन्थ्यो। पीडा भुलाउने बाटो बन्थ्यो।”

“म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दिपेश कहिल्यै नफर्कने भयो”, जयन्ती भन्छिन्, “इजरायलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस्। त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ।”

इजरायलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बताउँछन्। “परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो।”

हमासको कब्जामा रहेका विपिन जोशीको सकुसल उद्धार गर्न उनले सरकारसँग माग गरे।

फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताए। राजनको स्मृतिमा एक लाख ५१ हजार एक सय ५१ रुपैयाँको अक्षयकोष निर्माण गर्ने उनको योजना छ। राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलारा बताउँछन्।

त्यसैगरी नेकपा (एमाले) सम्बद्ध प्रवासी नेपाली मञ्च तथा महिला सशक्तीकरण अभियानले पनि मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ। प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिवालय सदस्य डा.विमला भण्डारीको पहलमा प्रतिपरिवार एक लाख ४० हजार रूपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। सोही घटनामा घाइते भएका चार जनालाई ४० हजार रुपैयाँका दरले उपचार खर्च सहयोग गरिएको उनले बताइन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्यायले क्याम्पसले दश विद्यार्थीको स्मृतिमा उद्यान निर्माण गर्ने निर्णय गरिसकेको बताए। “क्याम्पसले उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ”, उनी भन्छन्।

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश विद्यार्थीको हमासको आक्रमणमा परेर गत असोज २० गते ज्यान गएको थियो।

Published on: 14 December 2023 | Nagarik

Link

Back to list

;